हिन्दूराष्ट्रको मुद्दा बोक्ने नै अब कांग्रेसको सभापति हुन्छः भण्डारी
काठमाडौं, वैशाख २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आ....

काठमाडौं, वैशाख २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आगामी १४ औं महाधिवेशनमा नेतृत्वमा आउने दाबी गरेका छन्।
उनले भने,‘जसले हाम्रो पार्टीभित्र सनातन हिन्दूराष्ट्रको एजेण्डा बोक्छ, त्यही व्यक्ति नेतृत्वमा आउँछ।’ पार्टीको मूलविचार पनि अब हिन्दूराष्ट्र नै हुने उनको भनाइ छ। भण्डारीले पछिल्लो घटनाक्रम हेर्दा मुलुक नयाँ प्रकारको द्वन्द्व, झगडा र कलहमा फस्न लागेको त होइन भन्ने प्रश्न गरे।
रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा भण्डारीले वर्तमान सरकार र यसका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वेसर्वा ठूलो हुँ भन्ने व्यवहार गलत भएको पनि टिप्पणी गरे। पृथ्वीनारायण शाहको शालिक ढालेर सगौरवको क्रान्तिकारी अनुभूति गर्नेहरुका कारण मुलुकको स्वाभिमान, स्वाधिनता र राष्ट्रियता कमजोर भएको उनको भनाइ छ। उनले भने,‘मुलुकको राष्ट्रियता बलियो बनाउने काम पो गर्नुपर्छ। कमजोर बनाएर गौरव गर्नु हुँदैन।’
उनले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदा पनि जनता ढुक्क हुन नसकेको बताए।











