प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई ढुंगामुडा गर्न उक्साएः कांग्रेस
काठमाडौं, वैशाख २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
पार्ट....
काठमाडौं, वैशाख २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरी कांग्रेसले प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिनु शोभनीय नभएको बताएको हो। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलतर्फ संकेत गर्दैै ‘नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भन्दै छन् रे’ भन्ने अभिव्यक्ति दिएका थिए।
पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीले केटाकेटीलाई ढुंगामुडा गर्न उक्साएको आरोप लगाए। उनले भने,‘प्रधानमन्त्री ओलीले नन्दी भृंगी आन्दोलन गर्न आउँदैछन् रे भन्दै आफ्ना कार्यकर्तालाई ढुंगामुडा गर है भन्दै उक्साउनु भएछ। इो प्रधानमन्त्रीले दिएको अभिव्यक्ति शोभनीय होइन।’
निधिले प्रधानमन्त्री ओलीले हिजो प्रतिपक्षीविरुद्ध कार्यकर्तालाई अरिंगाल जस्तै बनाउन खोजेपनि असफल भएको बताए। उनले भने,‘ हिजो कांग्रेस वा प्रतिपक्षीविरुद्ध कार्यकर्तालाई अरिंगाल बनाउन कोशिस गर्नु भयो। तर, कार्यकर्ता अरिंगाल बन्न चाहेनन्। म धन्यवाद दिन चाहन्छु नेकपाका कार्यकर्तालाई।’
उनले ढुंगा मुडा गर भन्ने प्रधानमन्त्री ओलीको बोली पुरानै बानी भएको टिप्पणी पनि गरे।
पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुनेर बालबालिकामा नकारात्मक असर नपरोस् भनेर अभिभावकले टेलिभिजन बन्द गर्नुपर्ने अवस्था आएको टिप्पणी गरे।
शर्माले भने,‘प्रधानमन्त्री जब टेलिभिजनमा बोल्न थाल्नुहुन्छ, बुढापाकाले मनोरञ्जन प्रशस्तै प्राप्त गर्नुभएको छ। बुढाबुढीले मनोरञ्जन प्राप्त गरेको अभिव्यक्तिसम्म त ठीकै हो। तर, केही नकारात्मक अभिव्यक्ति आउँछन्, जसको नकारात्मक असर नपरोस् भनेर टेलिभिजन च्यानल बन्द गर्नुपर्ने अवस्था आएको छ।’
उनले सरकारको विरोधमा कसैले बोले बुढापाकाले लाठी लगाउलान् भनेर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए। प्रवक्ता शर्माले भने,‘जिम्मेवार प्रधानमन्त्रीले राखेको यो अभिव्यक्ति नेपालको संविधानले प्रत्याभूत गरेको शान्ति सुरक्षाको सन्दर्भमा राख्नुपर्ने अभिव्यक्ति अनुरुप छ कि द्वन्द्व सिर्जना गर्ने अनुरुपको अभिव्यक्ति छ?’






