Kathmandu Press

लकडाउनमा दौडिदै भर्चुअल नाटक

काठमाडौं, चैत २१ : लकडाउन सुरु भएपछि रंगकर्मी केदार श्रेष्ठको समय घरमै बसेर टिभी र मोबाइलमा बित्न था

लकडाउनमा दौडिदै भर्चुअल नाटक

काठमाडौं, चैत २१ : लकडाउन सुरु भएपछि रंगकर्मी केदार श्रेष्ठको समय घरमै बसेर टिभी र मोबाइलमा बित्न थालेको थियो। टिभीमा फिल्म हेरिरहँदा उनलाई रंगमञ्चबाट टाढा भइरहेको पीडा सताउन थालेको थियो।

बिहानबिहानै टिभीमा भिडियो हेर्दा उनको मनमा एक जुक्ति फु¥यो, नाटकलाई पनि यसरी भिडियामा प्रस्तुत गर्न पाए कस्तो होला? उनले साथीहरुलाई फोन गरी भिडियो नाटकबारे सुनाए। उनीजस्तै घरमा बस्दाबस्दै दिक्क भइसकेका साथीहरुले उनको जुक्तिमा पहिलो पटकमै हुन्छ भन्ने जवाफ दिए।

Hardik ivf

बस, त्यहिबाट सुरु भयो ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव।’ त्यसपछि थिएटरमा मञ्चन भइसकेका नाटकलाई घरबाटै प्रसारण गर्ने चाँजोपाँजो मिलाए। ‘क्वारेनटाइनमा बसेका सबैलाई रंगमञ्चमा जोड्ने हेतुले भिडियो नाटक थालनी ग¥यौं,’ केदार थप्छन्, ‘नाटक भनेको मनोरञ्जन मात्र गराउने नभएर समाजमा रहेका समस्यालाई उजागर गर्ने र समाधान खोज्न गर्न मद्दत पु¥याउने माध्यम पनि हो।’

सबैभन्दा पहिला आफ्नै थिएटरले बनाएका सात वटा नाटक तयार पारे। ती नाटकले सात दिनसम्म भिडियो नाटक देखाउन पुग्ने भएपछि उनले आफ्नो आधिकारिक फेसबुक पेजमा भिडियो नाटक लिएर आउने लागेको घोषणा गरे। तीन दिनको चहलपहलले उनको टिम युट्यबमा भिडियो प्रस्तुत गर्न सफल भयो। यसमा उनीसँगै प्रसून सिन्धुली, रमेश भट्टराई खटिएका छन्।

उनको समूहले दैनिक चार घन्टा समय दिएर भिडियो नाटकको श्रृंखला सुरु गरेको थियो। अहिले भने हरेक नाटक प्रस्तुत गर्न दैनिक १३–१४ घन्टा खट्नु परिरहेको उनी बताउँछन्।

दर्शकको उत्साहपूर्ण सहभागिताले हौसला मिलेको छ, उनीहरुलाई। जसमा देश तथा विदेशका कलाप्रेमी सहभागी छन्। ध्रुवसत्य परियारको कथामा आधारित दयाहाङ राई निर्देशित नाटक ‘जालिनी’ त १५ हजार दर्शकले हेरे। 

यस भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ चैत १४ गते अर्थात विश्व रंगमञ्च दिवसदेखि थिएटर मल–कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले सुरु गरेको थियो। पहिलो साता उत्साहजनक रहेपछि फेरि अर्को साता नाटक देखाइने भएको छ। अब यो साता बालबालिकाको विषयवस्तुलाई प्राथमिकतामा राखिने उनी बताउँछन्।

कोरोना भाइरसको संक्रमणबाट बच्न चैत ११ गतेदेखि देश लकडाउनमा छ। याे समयमा घरमा बसिरहेका नागरिकलाई नाटकप्रति आकर्षित गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने केदार बताउँछन्।

सुरेन्द्र बर्माको लेखन तथा अनुप बरालको सुपरभिजनमा सुरज मल्ल निर्देशित एक्टर्स स्टुडियोको प्रस्तुति ‘शकुन्तलाको औँठी’को भिडियो प्रस्तुत गरेसँगै उत्सवको पहिलो साता सकिएको छ। ‘उत्सवको प्रारम्भिक लक्ष्य एक साता पूरा भएपनि लकडाउनको अवधि बढेसँगै उत्सव अवधि पनि अर्को सातासम्म लम्ब्याएका छौं,’ उत्सवका निर्देशक केदार भन्छन्।

अर्को साता लाइभ स्ट्रिमिङ गरिने चार नाटक तय भइसकेका छन्। जसमा दुई नाटक बालबालिका लक्षित छन्। आज शुक्रबार केदार श्रेष्ठको लेखन तथा निर्देशन रहेको थिएटर मलको प्रस्तुति ‘उपियाँको निबन्ध’को भिडियो देखाइनेछ। त्यसैगरि शनिबार कथाघेरा कौशी थिएटरको प्रस्तुतिमा आकांक्षा कार्की निर्देशित नाटक ‘दयालु रुख’को भिडियो स्ट्रिमिङ हुनेछ।

त्यस्तै, आइतबारका लागि सम्पदा मल्लको कथामा अशेष मल्लले नाट्यलेखन र निर्देशन गरेको नाटक ‘अर्को कुरूक्षेत्र’ देखाइनेछ भने सोमबार आरोहण गुरूकुलको प्रस्तुति रहेको नाटक ‘एल्ममुनिको तिर्खा’को भिडियो लाइभ स्ट्रिमिङ गरिनेछ। युजिन ओ’निलको लेखन रहेको नाटक डेबोरा मेरोलाले निर्देशन गरेकी हुन्।

उत्सवका प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयका अनुसार नाटकहरू ‘अन्धेर नगरी चौपट राजा’, पपेट प्ले ‘टु बि’ र ‘भोको घर’ यसै साता प्रदर्शन गरिने सूचिमा परेका छन्। त्यस्तै, उत्सवमा ‘ऊ मरेकी छैन’, ‘लाटीको छोरो’ र ‘गर्भछिटा’ पनि प्रदर्शनको सूचिमा रहेका छन्।

यसमा नेपालका सबैजसो सक्रिय नाट्य समूहको सहभागिता रहेको छ। पछिल्लो समयमा युवा रंगकर्मीहरूले भिडियो सन्देशमार्फत उत्सवमा सहभागिता जनाइरहेको फेस्टिभल संयोजक सञ्जिता पराजुलीले बताइन्। उत्सवमा नाटक साँझ ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट प्रसारण हुने गरेको छ।

प्रकाशित मिति: ०९:२३ बजे, शुक्रबार, चैत २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्