Kathmandu Press

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन एक साता थप्ने तयारी

काठमाडौं, चैत १६ : कोरोना भाइरस संक्रमण र लकडाउनलगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बोलाइ

काठमाडौं, चैत १६ : कोरोना भाइरस संक्रमण र लकडाउनलगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बोलाइएको छ। लकडाउनको समय एक साता थप्ने तयारी गरिएको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। मन्त्रिपरिषद्को बैठकमा अहिलेसम्म कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि भएका कामकारबाहीमाथि समीक्षा गरिने र थप निर्णय गरिने जनाएको छ। मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, कम्तिमा एक साता लकडाउन थाप्ने तयारी भइरहेको छ।

त्यस्तै, आजै दिउसो १ बजे कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको पनि बैठक बोलाइएको छ। उच्च स्तरीय समितिको बैठकले अहिलेको अवस्थाको समीक्षा गरेर प्रधानमन्त्रीलाई जानकारी दिनेछ। त्यहि आधारमा मन्त्रिपरिषद् बैठकले थप निर्णय लिने तयारी गरिएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ गते लकडाउनको घोषणा गरेको थियो। आज लकडाउनको छैटौं दिनसम्म यसको प्रभावकारी कार्यान्वयन भएपनि दैनिक मजदूरी गर्ने र गरिब परिवारलाई सकस भएको छ। काठमाडौंलगायत ठूला शहरमा दैनिक उपभोग्य सामानको खरिद गर्न समस्या भएको छ।

तथापि, सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि लकडाउन यथावत राख्ने तयारी गरेको जनाएको छ। अहिलेसम्म नेपालमा पाँच जनामा संक्रमण देखिएको छ। एक जना निको भएर घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ।

अहिले काठमाडौं लगायत देशभरका अस्पतालमा स्वास्थ्यकर्मीलाई आवश्यक सामग्रीको अभाव भएको छ भने उपचारको पनि प्रबन्ध हुन सकेको छैन। त्यस्तै, काठमाडौं बाहिर कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्था पनि छैन। त्यस विषयमा पनि मन्त्रिपरिषद् बैठकले केही निर्णय गर्नसक्ने जनाएको छ।

 

प्रकाशित मिति: १२:१८ बजे, आइतबार, चैत १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्