Kathmandu Press

प्रियजनको अन्तिम विदाइ गर्न पनि पाउँदैनन् आफन्तजन

काठमाडौं, चैत १४ : कुनै पनि व्यक्तिको मृत्यु हुँदा अन्तिम पटक हेर्नु र विदाइ गर्नु आफन्तका लागि महत्

प्रियजनको अन्तिम विदाइ गर्न पनि पाउँदैनन् आफन्तजन

काठमाडौं, चैत १४ : कुनै पनि व्यक्तिको मृत्यु हुँदा अन्तिम पटक हेर्नु र विदाइ गर्नु आफन्तका लागि महत्वपूर्ण हुन्छ। तर, कोरोना भाइरसको महामारीका कारण इटालीका वासिन्दाले आफ्ना प्रियजनको अन्तिम विदाइ समेत गर्न पाएका छैनन्।

आफन्तलाई अन्तिम विदाइ पनि गर्न पनि नपाउनु परिवारजनका लागि थप पीडा हो। यस्तै पीडा इटालीको मिलानस्थित एक फ्यूनरल होममा अन्डरटेकर काम गर्ने एन्ड्रिया सेराटो पनि सुनाउँछन्। ‘महामारीले एक पटक होइन, दुई पटक मारेको छ। यसले पहिले बिरामी मर्नुभन्दा पहिलो प्रियजनभन्दा अलग राख्छ। पछि फेरी कसैलाई नजिक जान दिँदैन। परिवारका लागि यो निकै मुश्किल हुने गर्छ,’ उनी भन्छन्।

इटालीमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने धेरै मानिससँग अन्तिम स्वाँस फेर्दा परिवारका सदस्य वा कुनै साथी थिएनन्। उनीहरुबाट कुनै दोस्रो व्यक्तिमा संक्रमण नफैलियोस भनेर अस्पतालमा भेटघाट प्रतिबन्ध लगाइएको थियो।

यद्यपी स्वास्थ्य अधिकारीहरुका अनुसार शवमा भाइरसको संक्रमण हुँदैन। तैपनि भाइरस मृत्यु भएको व्यक्तिको कपडामा केही घन्टासम्म जिवित रहनसक्छ।

यसको मतलब यो हो की शवलाई तुरुन्तै सिल गर्न आवश्यक हुन्छ। क्रेमोनामा अन्डरटेकरको रुपमा काम गर्ने (शवलाई अन्तिम संस्कारका लागि तयार गर्ने काम) मसिमो मनकेस्ट्रोपा भन्छन्, ‘धेरै परिवार हामीसँग सोध्छन्–के हामी अन्तिम पटक प्रियजनलाई देख्न सक्छौं? तर, उनीहरुलाई त्यो अनुमति मिल्दैन, किनकी यसमा प्रतिबन्ध छ।’

सामान्यतया परिवारजनले निधन भएको व्यक्तिलाई मन पर्ने कपडा लगाइदिने, उसलाई सजाउने र अन्तिम संस्कार गर्ने परम्परा इटालीमा छ। तर, अहिले कोरोना भाइरसबाट मर्नेको अन्तिम संस्कारमा मनपर्ने कपडा लगाउन सक्ने अवस्था छैन। उनीहरुलाई अस्पतालकै गाउनमा चुपचाप गाड्ने गरिएको छ। तर, मनकेस्ट्रोपा भन्छन्, ‘हामी शवको माथि त्यो कपडा उडाउँछौं, जो परिवारले दिन्छन्। ताकी यस्तो लागोस् निधन भएको व्यक्तिले कपडा लगाएको छ। हामी शवमा सर्ट वा स्कर्ट लगाइदिन्छौं।’

इटालीमा महामारीको समयमा अन्डरटेकर आफैंलाई एक नयाँ भूमिकामा देखिरहेका छन्। उनीहरु मृतकको परिवारका रुपमा, उनीहरुका मित्रका रुपमा काम गरिरहेका छन्। उनीहरु एक पादरीका रुपमा मृतकका लागि प्राथना गरिरहेका छन्। किनकी कोरोना भाइरसबाट मर्नेका अधिकांश परिवारका सदस्य क्वारेन्टाइनमा हुन्छन्।  ‘परिवारका लागि यो समयमा उनीहरुका सबै जिम्मेवारी हामी नै निभाउँछौं,’ एन्ड्रिया सेराटो भन्छन्, ‘हामी परिवारलाई एक तस्विर पठाउँछौं। र, त्यसपछि अस्पतालबाट शव लगेर गाड्छौं। परिवारका लागि विश्वास गर्नुको अर्को विकल्प छैन।’ निधन भएका परिवारको दुःख कम गर्नका लागि केही गर्न नपाएकोमा सेरोटो खिन्न छन्।

उनले के–के गर्न नसक्ने हो, त्यसको लिस्ट बनाइरहेका छन्। ‘‘हामी उनीहरुलाई कपडा लगाइदिन सक्दैनौं। हामी उनीहरुको कपाल कोर्न र सजाउन सक्दैनौं। हामी मेकअप गर्न सक्दैनौं, यो दुःखको कुरा हो,’ उनी भन्छन्।

सेराटो विगत ३० वर्षदेखि अन्डरटेकरको काम गरिरहेका छन्। उनका पिता पनि यही काम गर्थे। मर्नेको परिवारका लागि स–सानो कुराले पनि अर्थ राख्ने उनको अनुभव छ। ‘अन्तिम पटक उनको गाला सुमसुम्याउनु, उनको हात पक्रिनु र उनलाई सुन्दर देखाउन नपाउनु परिवारका लागि दर्दनाक विषय हो,’ उनी भन्छन्।

तर, महामारीको यो समयमा सेराटोजस्ता केही मानिस परिवारबाट दूरी बनाएर भेटघाट गर्न बाध्य छन्। मृतकको नातेदारको यो कोसिस रहन्छ की उनीहरुले मृतकले लेखेको नोट्स, परिवारको निशानी र कविता शवको नजिक राख्न पाउन ताकी ती समानका साथ शव गाडियोस्। तर, अहिलेको स्थितीमा यी मध्ये कुनै पनि चिज राख्न सक्ने अवस्था छैन।

अहिले निजी वस्तुलाई गाड्नु अवैध बनाइएको छ। यद्यपी यो एक कठोर कदम हो। तर, कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नका लागि यो निर्णय लिइएको हो। यदी कुनै व्यक्तिको मृत्यु घरमा हुन्छ भने अन्डरटेकरलाई घरभित्र जाने अनुमति हुन्छ। तर, उनीहरुले पूर्णरुपमा सेफ्टी गियर लगाउन आवश्यक छ। जस्तै–चस्मा, मास्क र कोट। जो कोहीलाई आफ्ना प्रियजनको मृत्यु देख्नु निकै दुःखदायक हुन्छ।

तर, महामारीको बीचमा इटालीमा धेरै अन्डरटेकर आफैं क्वारेन्टाइनमा छन्। केहीले आफ्नो व्यवसाय बन्द गर्नुपरेको छ। ठूलो चिन्ताको एक विषय यो पनि हो की शवका साथ नजिक रहेर काम गर्नेहरुका लागि पर्याप्त सेप्टी गियर उपलब्ध छैन। सेराटो भन्छन्, ‘हामीसँग अर्को एक साताका लागि पुग्ने पर्याप्त सेफ्टी गियर छ, तर यो सकिएपछि हामी काम गर्न सक्दैनौं। म यो कल्पना पनि गर्न सक्दिनँ बाकी मानिस यो स्थितिसँग कसरी जुधिरहेका छन्।’

भाइरस फैलनबाट रोक्नका लागि इटालीले आपतकालीन राष्ट्रिय कानुन लागू गरेको छ। जसका कारण जनाजा (मुस्लिम धर्म अनुसार अन्तिम संस्कार अघि गरिने प्राथना सभा) निकाल्नसमेत प्रतिबन्ध लगाइएको छ।

शवले भरिए शवगृह

इटालीको वर्तमान अवस्था यस्तो छ, जहाँ शवगृह शवले भरिएका छन्। मर्नेको संख्या बढेकोबढ्यै छ। कोरोना भाइरसका कारण आठ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। जुन अन्य देशको भन्दा बढी हो। सेराटो भन्छन्, ‘क्रेमोनामा हाम्रो फ्यूनरल होम भन्दा बाहिर मानिसको चाङ छ, यो कुनै सुपरमाकर्टेट जस्तो देखिन्छ।’ उत्तरी इटालीमा अस्पतालका शवगृह शवले भरिएका छन्। ‘क्रमोनामा अस्पतालको नजिकै रहेको चर्च कुनै गोदाम जस्तो देखिन थालेको छ,’ मसिमो मनकेस्ट्रोपा भन्छन्।

चर्चमा एकपछि एक कफिन आइरहेका छन्। इटालीमा सबैभन्दा धेरै घटना बर्गेमो शहरमा भएका छन्। जहाँ सहयोगका लागि सेनालाई बोलाउनु परेको थियो। यो शहरमा सबै कब्रस्तानमा ठाउँ कम भइरहेको छ।

शव लग्दै सुरक्षाकर्मी।

गत साता एक रात सेनाको ट्रक ७० भन्दा बढी कफिन बोकेर शहरको गल्ली हुँदै निस्कियो। स्थानीयले चुपचाप यो दृश्य हेरे। ती हरेक कफिनमा उनीहरुका कुनै मित्र वा नातेदारको शव थियो। जो नजिककैको शहरमा गाड्न लगिँदै थियो, तर उनीहरुले हेर्न र छुन पाएका थिएनन्।  

यो मुस्किल परिस्थितिमा इटालीमा डाक्टर र नर्सलाई ज्यान बचाउने हिरोको रुपमा हेरिन थालिएको छ। तर, अन्तिम संस्कार गर्नेहरुको समेत प्रशंसा भइरहेको छ। मसिमो भन्छन्, ‘मानिसले हामीलाई केवल शव लग्नेका रुपमा मात्रै सम्झिएका छैनन्।’

(बीबीसीबाट)

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, चैत १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्