Kathmandu Press

ह्वात्तै घट्यो विद्युतको माग, कुलमान भन्छन्- ग्यास होइन इन्डक्सन चुलो चलाउनुस्

काठमाडौं, चैत १२ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल लक डाउन

ह्वात्तै घट्यो विद्युतको माग, कुलमान भन्छन्- ग्यास होइन इन्डक्सन चुलो चलाउनुस्

काठमाडौं, चैत १२ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल लक डाउन भएसँगै विद्युतको माग पनि ह्वात्तै घटेको छ।

बढी विद्युत खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युतको माग ह्वातै घटेको हो। लक डाउन भएपछि घरायसी प्रयोजनका लागि मात्रै विद्युतको प्रयोग भइरहेकाले अहिले विद्युतको माग घटेको हो।  

लक डाउन सुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युतको अधिकतम माग १ हजार २ सय मेगावाटको हाराहारीमा रहेकोमा घटेर बुधबार बिहान विद्युतको माग ४ सय ४६ मेगावाटसम्म पुगेको छ। मध्यान्ह १२ बजेपछिको डिमाण्ड ६ सय २८ मेगावाट छ। 

लक डाउनको पहिलो दिन मंगलबार ९ सय ४५ मेगावाटमा सीमित भएको विद्युतको माग सोही दिन राति ४ सय ८३ मेगावाटसम्म झरेको थियो। विद्युत बढी खपत हुने काठमाडौं उपत्यकाको विद्युतको माग पनि ह्वातै घटेको छ।

लक डाउनभन्दा पहिले विद्युत्को अधिकतम माग साढे तीन सय मेगावाटको हाराहारीमा थियो। बुधबार बिहान काठमाडौं उपत्यकाको विद्युतको माग  १ सय ४ मेगावाट र मध्यान्ह १२ बजे १ सय ८२ मेगावाट पुगेको छ। 

अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग ‘ड्रास्टिकल्ली’ घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

‘उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि सुरु भइनसकेको अहिलेको अवस्थाले गर्दा विद्युतको माग ह्वातै घटेको हो,’ कार्यकारी निर्देशक घिसिङले भने,‘लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्यासको अभावमा भएमा इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरण ढुक्कसँग चलाउनु होला, हामीसँग पर्याप्त विद्युत उपलब्ध छ।’ 

विद्युतको माग घटेसँगै भारतबाट आयात हुने विद्युतको परिणाम पनि घटेको छ भने कुलेखानी पनि चलाइएको छैन। घिसिङका अनुसार अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट मात्रै पिक समयमा करिब १ सय ५० मेगावाटसम्म विद्युत ल्याइएको छ भने बिहीबार बेलुकाबाट ५० मेगावाट मात्रै ल्याइने छ। 

प्राधिकरणले आफ्ना स्वामित्वका, निजी क्षेत्रका विद्युत्गृहबाट उत्पादित विद्युत्बाट आपूर्ति गरिरहेको छ। 

प्रकाशित मिति: १५:४९ बजे, बुधबार, चैत १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्