२१ वर्षदेखि रिक्सामा सरर...
काठमाडौं, चैत ६ : कुनै समय यात्रुलाई गन्तव्यमा पुर्याएर नथाक्ने सुकुलाल श्रेष्ठ आजभोलि रिक्सा च

काठमाडौं, चैत ६ : कुनै समय यात्रुलाई गन्तव्यमा पुर्याएर नथाक्ने सुकुलाल श्रेष्ठ आजभोलि रिक्सा चलाउँदाभन्दा यात्रु बोलाउँदा बढी थाक्न थालेका छन्।
जो कोही आफ्नो रिक्सा अगाडि आएभने उनी सोध्छन्, ‘कहाँसम्म जाने हो?’
इन्द्रचोकमा रिक्साको हुटबाट घाम छल्दै बसेका सुकुलालको दैनिक आजभोली यसरी नै बित्ने गरेको छ। कुनै समय असनबाट यात्रु ओसारेर नभ्याउने सुकुलालको दैनिकी अब रिक्सा चलाएरमात्र नचल्ने भएको छ । भन्छन्, ‘पहिला मान्छे थोरै थिए, रिक्सा धेरै थिए तर पनि मान्छे रिक्सा चढ्थे, अब रिक्सा थोरै छन्, मानिसको चाप बढेको छ, तर पनि रिक्सा चढ्ने कोही छैनन।’
२१ वर्षदेखि असन वरिपरि रिक्सा चलाउँदै आएका सुकुलाल केही महिना अघिसम्म कमाइबाट सन्तुष्टै थिए। दैनिक २० यात्रु बोक्दा उनले दुई हजार भन्दा बढी आम्दानी हुन्थ्यो। तर अहिले भने घर खर्च धान्नै धौधौ भएको उनको गुनासो छ। ‘पहिला म यात्रु लिएर असनदेखि ललितपुर भक्तपुरको कुना कुनासम्म पुग्थे’ उनले भने, ‘ अहिले एउटै कुनामा बसेर दिनहरु बित्दै छन्। आम्दानी पनि छैन ।’
दैनिक २०/२२ ट्रिप गर्ने उनको अहिले ५/७ मा झरेको छ। ‘अहिले धेरै काम गरेको दिन पनि त्यही ५/७ जना यात्रु ओसारिन्छ।’
१५ वर्षसम्म साहुको रिक्सा चलाएका उनले पाँच वर्ष अघि मात्र रिक्सा किनेर मालिक बनेका हुन् । अन्य पेसा भन्दा रिक्सा चलाउन सहज लागेर उनले कमाएको सबै लगानी रिक्सा किन्नमै खर्चिए। ‘पाँच वर्ष अघि ५५ हजार रुपैयाँमा रिक्सा किनेको हुँ’ उनले भने, ‘तर अब टिक्नै गाह्रो भयो।’
पर्यटकीयस्थल भएकाले र निमय कानुनमा बाँधिदै उनी बसन्तपुर वरीपरी हिड्न मन पराउँछन्। पार्किङस्थलको समस्या र कार्यालय समयमा बाहिरी सडकमा हिड्न नपाइने भएपछि सानो क्षेत्रफलमा खुम्चिएर बस्ने परेको उनको गुनासो छ। हाल ठमेल, वसन्तपुर, न्युरोड, क्षेत्रपाटी, इन्द्रचोकमा मात्रै रिक्सा पार्किङ क्षेत्र तोकिएको छ।
‘२० वर्ष अघि जहाँ पनी पुग्न सकिन्थ्यो, भक्तपुर दरवारसम्म पर्यटक ओहोरदोहोर गराएको थिए’ उनले भने, ‘अहिले त बाहिरी सडकमा निस्किए ट्राफिकले दिनभरी रिक्सा नियन्त्रणमा लिइदिन्छ।’
रिक्साको लागि आजसम्म भाडादर तोकिएको छैन। दुरी अनुसार शुल्क लिने गरेका छौं। रिक्साबाट तीनसय केजीसम्मको सामान बोक्ने अनुमति छ।
२०५५ सालबाट रिक्सा चलाएरै उनले पाँच जनाको परिवार धान्दै आएका छन्। उनले दुई छोरी र एक छोरालाई उच्च शिक्षासमेत दिएका छन्। साथै, जन्मथलो रामेछापको मदाने गाउँपालिकामा एक घर र एक रोपनी जग्गा पनि जोडेका छन्।
भन्छन, ‘जति पहिले गरियो, अब गर्न सकिन्न् र त्यस्तो समय पनि रहेन। सबैको निजी सवारीसाधन भइसक्यो रिक्सा चढ्न मान्छेले छाडिसके। यस्तै रहने हो भने अबको दुई वर्षसम्म मुस्किलले रिक्सा देख्न पाइला की?’
कसरी बने रिक्सा चालक ?
सामान्य परिवारमा जन्मिएका सुकुलालको बालापन गाउँमै बित्यो। १५ वर्षको उमेरमा घरदेखि भागेर काठमाडौं छिरेका सुकुलालले महिनाको २० रुपैयाँ तलबमा चक्रपथस्थित एक घरमा घाँस, दाउरा गर्ने काम पाए।
उनी भन्छन्,‘१५ वर्षको उमेरमा २० रुपैयाँ कमाउँदा निकै खुसी लागेको थियो। अहिले मासिक २० हजार रुपैयाँ कमाउछु, तरपनि दैनिकी चलाउन मुस्किल नै छ। पहिलेको जस्तो खुसी अहिलेको पैसामा छैन।’
१५ वर्ष अघिको कुरा सम्झदै भन्छन्, ‘त्यो बेला अहिले जस्तो ठूला घर र कारखानाहरु थिएन। पढेलेखेकाले मात्र कलकारखानामा जागिर पाउँथे। काठमाडौंमा पुरै खेतिपाती लगाइथ्यो। ती ठाउँ अहिले घरले ढाक्यो।’
काठमाडौंमा गुढ्छन तीन सय रिक्सा
काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलका अनुसार हाल काठमाडौंमा तीन सयको हारहारीमा रिक्सा सञ्चालन छन् । सानो क्षेत्रफलमा धेरै रिक्सा व्यवस्थान गर्न गाह्रो भएकोले दर्ता रोकिएको छ।
रिक्सा सञ्चालनको लागि लाइसेन्स बनाउनु नपर्ने भएपनि ब्लुबुक अनिर्वाय गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार चार वर्ष अगाडिदेखि नयाँ रिक्सा दर्ताबन्द गरिएको छ। रिक्सा नविकरणबाट वार्षिक १५ हजार रुपैयाँ राजश्व संकलन हुने विभागले जनाएको छ।
यातायात व्यवस्थापन विभाग स्थापना हुनुभन्दा अगाडिबाट नै रिक्सा सञ्चालन हुने गरेको थियो।












-(86)-1764936079.jpg)