एसईई परीक्षा स्थगित
काठमाडौं, चैत ५ : सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ।

काठमाडौं, चैत ५ : सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ।
बिहीबार (भोलि) देखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काठमाडाैं प्रेसलाई जानकारी दिए। कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले निर्णयमै समावेश गर्ने गरी परीक्षा स्थगित गर्ने निर्णय गरिएको उनले बताए।
शिक्षामन्त्री पोखरेलका अनुसार एसईई परीक्षाको तालिका परिस्थिति हेरेर मिति तय गरिने छ। ‘कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेको छ। त्यसको मनोवैज्ञानिक असर विद्यार्थीमा पनि पर्ने भएकाले एसईई परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका हौं,’ काठमाडौंप्रेससँग उनले भने,‘ अब परिस्थिति हेरेर परीक्षाको मिति सार्वजनिक गर्नेछौं।’
एसईई परीक्षा चैत ६ देखि १७ चैतसम्मका लागि तोकिएको थियो। यस वर्ष एसईईमा ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुँदै थिए।











