विद्यार्थी भर्ना रोक्न सरकारको अपील, एसईई भने नरोकिने
काठमाडौं, चैत ४ : सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) निर्धारित मितिमै सञ्चालन गर्ने

काठमाडौं, चैत ४ : सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) निर्धारित मितिमै सञ्चालन गर्ने भएको छ।
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने त्रासका कारण एसईई परीक्षा रोकिने सम्भावना बढेको थियो। तर, मंगलबार सरकारले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा निर्धारित मितिमै सञ्चालन गर्ने निर्णय गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक अपील जारी गर्दै परीक्षा निर्धारित मितिमै हुने र त्यसको तयारी पूरा भएको जानकारी दिएका छन्। उनले आवश्यक सावधानी अपनाएर एसईई परीक्षा सञ्चालन गरिने पनि बताएका छन्।
उनले स्वास्थ्य सहायताका लागि प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्न सबै स्थानीय तहलाई आग्रह गरिसकेको उल्लेख गरेका छन्।
‘विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ,’ शिक्षामन्त्री पोखरेलको अपीलमा उल्लेख छ।
एसईई परीक्षा चैत ६ देखि १७ चैतसम्म हुँदैछ। यस वर्ष एसईईमा ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुँदैछन्। एसईई परीक्षा निर्धारित समयमा गर्ने निर्णय गरेपनि सरकारले कक्षा ९ सम्म लिइने विद्यार्थी भर्ना भने रोक्न आग्रह गरेको छ।
सरकारले मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, बार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न अपील गरेको छ।











