कोरानाको मारमा विश्व फुटबल, कहाँ के भयो?
काठमाडौं, फागुन ३०ः चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वव्यापीरुपमा फैलिइसकेको छ। आजका

काठमाडौं, फागुन ३०ः चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वव्यापीरुपमा फैलिइसकेको छ। आजका मितिसम्म विश्वभरका १ लाख ३४ हजार आठ सय १८ जना संक्रमित भएका छन्। चार हजार नौ सय ८४ ले ज्यान गुमाएका छन् भने ७० हजार तीन सय ९५ निको भएका छन्।
कोरोनाका कारण विश्वभरका सबै क्षेत्र मारमा छन्। यस्तै कहर फुटबल क्षेत्रले समेत व्यहोरेको छ। विश्वभर लोकप्रिय मानिएका यूरोपियन लिगसमेत त्यसको मारमा परेका छन्। खासगरी इंग्लिस, स्पेनिस, इटालियन, फ्रेन्च र जर्मन लिग गरी पाँच देशको घरेलु फुटबल विश्वमाँझ प्रख्यात छ। च्याम्पियन्स लिग र यूरोपा लिग त लोकप्रिय हुने नै भए।
अहिले एकपछि अर्को लिग कोरोनाका कारण स्थगित भइरहेका छन्। इटालियन सिरी ए अप्रिल ३ सम्मका लागि स्थगित भएको छ। स्पेनिस ला लिगाका दुई साताका लागि स्थगित भएको छ भने इंग्लिस, जर्मन र फ्रेन्च लिगका खेल सरेका छन्। कुनै दर्शक विना नै खेलाइएका छन्।
कोरोनाका कारण च्याम्पियन्स लिगका अन्तिम १६ को दोस्रो लेगका खेल विना दर्शक खेलाइयो। यूरोपा लिगको अवस्था पनि उही रह्यो। आगामी साता हुने भनिएको च्याम्पियन्स लिगको दोस्रो लेग अन्र्तगत म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको खेल सरिसकेको छ। यस्तै बुधबार रातिका लागि तय भएको म्यानचेस्टर सिटी र आर्सनलबीचको खेलसमेत स्थगित भएको थियो। कोरोनाका कारण स्थगित हुने प्रिमियर लिगको पहिलो खेल हो।
कोरोनाको असर नेपाली फुटबलमा समेत परेको छ। चैत तेस्रो साता अष्ट्रेलिया र चाइनिज ताइपेइविरुद्ध नेपालले खेल्ने भनिएको विश्वकप दोस्रो चरणको छनौट खेल यसअघि नै स्थगित भइसकेको छ। विश्वकप छनौटको एसियाका सबै खेल स्थगित भएका छन्।
कोरोना असरले क–के भयो? यस्तो छ टाइमलाइन
जनवरी ३०ः चीनको घरेलु फुटबल लिग (चाइनिज सुपर लिग) स्थगित।
फेब्रुअरी ४ः एसियन च्याम्पियन्स लिगका खेल अप्रिलसम्मका लागि स्थगित।
फेब्रुअरी १३ः म्यानचेस्टर युनाइटेडले भित्र्याएका नयाँ खेलाडी ओडियन इग्हालोले चीनबाट आएपछि छुट्टै प्रशिक्षण गरे।
फेब्रुअरी २३ः सिरी ए मा लोर्बोर्डी र भेनेटोको खेल स्थगित। उत्तरी इटालियन क्षेत्रका खेल स्थगित।
फेब्रुअरी २५ः इन्टर मिलान भर्सेस युभेन्टसका खेलसहित सिरी एका पाँच खेल बन्द रंगशालामा खेलाउन निर्देशन। जापनको जे लिगसमेत रद्द गर्ने निर्णय।
फेब्रुअरी २९ः बन्द रंगशालामा खेलाउन निर्देशन दिइएका पाँच सिरी ए खेल सुचना निकालेर मे १३ मा खेलाउने निर्णय। पुनः कोपा इटालियाको फाइनलको एक सातापछि २० मेसम्म सार्ने निर्णय।
मार्च १ः साम्पोडेरिया भर्सेस भेरोनाबीचको खेल स्थगित।
मार्च ३ः ट्युरिनमा युभेन्टस र एसी मिलानबीचको इटालियन कपको सेमिफाइनलको सेकन्ड लेगको दोस्रो चरणको खेल स्थगित। नेपोली र इन्टर मिलानबीचको खेलसमेत स्थगित।
मार्च ५ः प्रिमियर लिगमा खेल पूर्व खेलाडी र अफिसियललाई हात मिलाउन प्रतिबन्ध। यस्तै १० मार्चमा एटलान्टाको मैदानमा तय भएको एटलान्टा र भ्यालेन्सियाबीचको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग बन्द रंगशालामा खेलाउने निर्णय।
मार्च ६ः लिग वान अन्र्तगत स्ट्रासवर्ग र पेरिस सेन्ट जर्मेन (पिएसजी)बीचको खेल स्थगित।
मार्च ८ः यूईएफएद्वारा आफ्ना सबै प्रतियोगितामा सबै खेलाडी र अधिकारीबीच प्रि म्याच ह्यान्डसेकमा प्रतिबन्ध लगाउने निर्णय।
मार्च ९ः च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पिएसजीविरुद्ध बोरुसिया डर्टमन्डको खेल बन्द रंगशालामा खेलाउने निर्णय। यस्तै यूरोपा लिगमा ओलम्पियाकोस भर्सेस वुल्भ्स र सेभिल्ला भर्सेस रोमको खेलसमेत बन्द रंगशालामा खेलाउने निर्णय। विश्वकप २०२२ का एसियाली छनौट खेल ६ महिनाका लागि सारियो।
मार्च १०ः नोटिंघम फोरेस्टले आफ्ना मालिक स्भेन्जेलोस मानिकिस (जो ओलम्पियाकोसका मालिकसमेत हुन्)ले कोरोना भाइरसको उपचार गराइरहेको पुष्टी ग¥यो। यूरोपियन खेल (चेल्सी, म्यानचेस्टर युनाइटेड, बार्सिलोनाका खेल) बन्द रंगशालामा खेलाउन निर्देशन। यस्तै २६ मार्चमा यूरोकप छनौट २०२० को प्लेअफ खेल (स्लोभाकिया भर्सेस आयरल्याण्ड)को खेलसँगै शीर्ष स्थानका स्पेन र फ्रान्सको खेलसमेत बन्द रंगशालामा खेलाउन निर्देशन। ओलम्पियाकोसविरुद्धको खेल रद्द गर्न वुल्भ्सको अनुरोध।
मार्च ११ः म्यानचेस्टर सिटी भर्सेस आर्सनलको खेल स्थगित।
मार्च १२ः २०२२ को विश्वकप छनौटका लागि ब्राजिलका सुरुवाती दुई खेल स्थगित गर्ने निर्णय। यस्तै युभेन्टसका डिफेन्डर डेनियल रुगानीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी।
यस्तै रियल मड्रिडका सबै खेलाडी क्वारेन्टाइनमा रहेको पुष्टी। च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग अन्र्तगत म्यानचेस्टर सिटीविरुद्धको खेल स्थगित। रियलका खेलाडी क्वारेन्टाइनमा रहेको भन्दै ला लिगा दुई साताका लागि स्थगित गर्ने निर्णय।
मार्च १३ः आर्सलनका मुख्य प्रशिक्षक मिकेल आर्टेटालाई कोरोना भाइरसको संक्रमण। शनिबारका लागि तय भएको ब्राटाइनविरुद्धको खेल स्थगित।
युइएफएद्वारा आगामी साता हुने च्याम्पियन्स लिग र युरोपा लिगका सबै खेल स्थगित। यस्तै फ्रेन्च लिग वान र लिग टु का सबै खेल अर्को सुचना जारी नहुँदासम्मका लागि स्थगित।
त्यस्तै इङलिस प्रिमियर लिग अप्रिल ३ सम्मलाई स्थगित भएको छ।
(एजेन्सीको सहयोगमा)











