Kathmandu Press

लुक्ला विमान दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं, वैशाख २ : सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न समिति गठन गरि....

लुक्ला विमान दुर्घटनाको छानबिन गर्न समिति गठन
काठमाडौं प्रेस

काठमाडौं, वैशाख २ : सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न समिति गठन गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक राजेशराज दलीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार, समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य रहेका छन् । त्यस्तै, समितिको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा रहेको लुक्ला विमानस्थलमा आइतबार बिहान ९ः३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका छन्।

लुक्लाबाट रामेछाप उड्ने क्रममा रहेको ‘नाइन एन एएमएच’ कलसाइनको समिट एयरको जहाज धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको श्री एयर र मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको थियो।

दुर्घटनामा परी समिट एयरका को–पाइलट सुजित ढुङ्गाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो।

दुर्घटनामा समिट एयरका पाइलट रवीनाथ रोकाय र मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर सामान्य उपचारपश्चात् घर फर्किसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै, दुर्घटनामा मनाङ एयरका कर्मचारीको उपचार भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १०:३१ बजे, सोमबार, वैशाख २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्