Kathmandu Press

कोरानाका कारण १५ मा पाइने मास्कको ५० रुपैयाँ

काठमाडौँ, फागुन २० : कोरोना भाइरसबाट जोगिनका लागि ह्यान्ड स्यानिटाइजर खरिद गर्नेहरुको मंगलबार पाटनस्

कोरानाका कारण १५ मा पाइने मास्कको ५० रुपैयाँ
रिवाज राई

काठमाडौँ, फागुन २० : कोरोना भाइरसबाट जोगिनका लागि ह्यान्ड स्यानिटाइजर खरिद गर्नेहरुको मंगलबार पाटनस्थित भाटभटेनी सुपर मार्केटमा भीड थियो। बजारमा अभाव हुँदा ह्यान्ड स्यानिटाइजर र मास्कलगायतका सामान भाटभटेनीमा पाइने उनीहरुको आश थियो। तर, भाटभटेनीले ‘सटेज’ भएको जवाफ दिएपछि ग्राहकहरू निराश भएर फर्किए।

त्यहाँबाट फर्केका ग्राहकको ध्यान मास्क र ह्यान्ड स्यानिटाईजरका लागि फार्मेसी तिर मोडियो। हरिहरभवनका तीन फार्मेसी चाहार्दा पनि उनीहरुले खोजेको सामान पाएनन्।

कुपण्डोलको बिग मार्टमा पनि ग्राहकले खोजेको सामानको लिस्ट उस्तै थियो। तर, भाटभेटनी र फार्मेसी झैं त्यहाँ पनि मास्क, ह्यान्ड स्यानिटाईजरलगायतका सामान उपलब्ध थिएनन्। बख्खुडोलको बिगमार्टमा पनि उस्तै समस्या देखियो।

Hardik ivf

चार ठाउँ चहारेपछि बल्लतल्ल कानदेउतास्थित चुडा फार्मेसीमा ह्यान्ड स्यानिटाईजर पाएको नमिता शर्माले बताइन्। कोरोना भाइरसको त्रास बढ्न थालेपछि उनीजस्तै सर्वसाधारण ह्यान्ड स्यानिटाइजर र मास्कलगायतका सामान खरिद गर्न थालेका छन्। जसले गर्दा बजारमा अभाव सिर्जना भएको छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण ७६ देशमा पुगेको छ। मंगलबारसम्म तीन हजार एक सय १६ जनाको मृत्यु भएको छ भने ९० हजारभन्दा बढी बिरामी परेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई पनि उच्च जोखिम भएका देशको सूचिमा राखेपछि काठमाडौंमा यसको त्रास बढ्न थालेको हो। जसले गर्दा कोरोना भाइरसबाट जोगिने साधानको माग बढेको छ।

लाजिम्पाटमा रहेको कि स्टोन फार्मेसीमा मात्र दैनिक दुई सयभन्दा बढी मानिस मास्कको खोजीमा आउने गरेको संचालक सन्ध्या सिंह बताइन्। ‘ग्राहकलाई मास्क र ह्यान्ड स्यानिटाईजर छैन भन्ने जवाफ दिँदादिँदै थाकिसकेँ,’ उनले भनिन्।

खपत बढेसँगै यसको अभाव पनि सिर्जना भएको छ। जसले गर्दा ह्यान्ड स्यानिटाइजर र मास्कको मूल्य अत्यधिक बढेको छ। ‘मास्क नराख्नुको एक मात्र कारण अभाव नै हो,’ सिंहले काठमाडौं प्रेससँग भनिन्, ‘पहिला १० रुपैयाँमा बेच्ने मास्क अहिले २५ रुपैयाँमा बेच्नुपर्ने भएर पनि राखिनँ।’

उनका अनुसार, ह्यान्ड स्यानिटाइजरको मूल्य पनि दोब्बर भएको छ। एक सय रुपैयाँ पर्ने ह्यान्ड स्यानिटाईजरको मूल्य अहिले दुई सय रुपैयाँ पुगेको छ।

लाइफ स्टाइल फर्मेसीका सञ्चालक आयुष घिमिरेले पनि कोरोना भाईरसको त्रास बढेपछि मास्क र ह्यान्ड स्यानिटाईजरको माग अचाक्लि बढेको बताए। उनले सर्जिकल मास्क अभाव भएसँगै अहिले कपडाको मास्क बिक्री गर्दै आएको बताए।

यसअघि १५ रुपैयाँमा बिक्री गर्ने मास्क अहिले ५० रुपैयाँमा बिक्री भइरहेको छ। ‘अहिले होलसेलमा हामीलाई नै ४० रुपैयाँ पर्छ। कसरी १५ रुपैयाँमा बेच्ने?,’ घिमिरेले भने।

यस्तै हबिगत उपत्यकाका प्रायः सबै फार्मेसीहरूको छ। यससँगै कालोबजारीले पनि मास्क र ह्यान्ड स्यानिटाइजरलगायतका सामानको अभाव देखिएको छ। जसले पनि मूल्य बढेको व्यापारीहरू बताउँछन्।

प्रकाशित मिति: १७:५६ बजे, मंगलबार, फागुन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्