Kathmandu Press

मोबाइल प्रयोग घटाउने पाँच उपाय

छकालै ब्युँझाउने अलार्म होस् वा टाइमपास गर्न– हामी सबै मोबाइलको प्रयोग गर्छाैं। मोबाइल जीवनको अभिन्न अंग बनेको छ। एकछिन हातमा नभए छटपटी हुन्छ। के भो, कसो भो, हुट....

मोबाइल प्रयोग घटाउने पाँच उपाय

छकालै ब्युँझाउने अलार्म होस् वा टाइमपास गर्न– हामी सबै मोबाइलको प्रयोग गर्छाैं। मोबाइल जीवनको अभिन्न अंग बनेको छ। एकछिन हातमा नभए छटपटी हुन्छ। के भो, कसो भो, हुटहुटी चल्छ। 

मोबाइलको लत लागेको छ भन्दा फरक पर्दैन। कसैले फोन गरोस्–नगरोस्, कुनै मेसेज आओस्–अनाओस्– छिनछिनमा मोबाइल हेर्नुपर्छ। साथीभाइ डिनर टेबलमा सँगै बसेका त हुन्छन्, तर सबै आफ्नै मोबाइल र भर्चुअल लाइफमै व्यस्त।

अरिगाँलको ट्वीट, इन्स्टाको फोटो, टिकटकको नौटंकी– ऐजन ऐजन। मोबाइल आफूदेखि एकछिन ओझेल भए, ठूलै आपत परेजस्तो लाग्छ। मानौं संसार बस् त्यही मोबाइलमा अडेको छ। मोबाइलको लत कसरी कम गर्ने त? मोबाइलको प्रयोग कम गर्न चाहनु हुन्छ भने यी पाँच उपाय लागू गर्नुहोस्। निकै राहत मिल्नेछ।

Hardik ivf

१.बेडरूममा मोबाइल प्रवेश निषेध

हामीमध्ये धेरैले फोनलाई ‘अलार्म क्लक’को रूपमा प्रयोग गर्छौं। राति सुत्नुअघि हामीले अन्तिम पटक हेर्ने वस्तु मोबाइल हुन्छ। आँखा राम्ररी खोलिएको पनि हुँदैन, अलार्म बन्द गर्न एकाबिहानै मोबाइल नै कोट्याउँछौं। सन् २०१७ को एउटा अध्ययनले ‘राति सुत्नुभन्दा आधा घण्टा अघिसम्म सामाजिक सञ्जाल प्रयोग गर्र्ने युवा वयस्कलाई राम्रो निद्रा नपर्ने’ निष्कर्ष निकालेको थियो। त्यसैले एउटा अलार्म घडी किन्नुहोस् र बेडरूमबाट अन्यत्रै फोन चार्ज गर्नुहोस्।

२‍‍.नोटिफिकेसन नियन्त्रण गर्नुहोस्

फोन नचलाएपनि सेकेन्ड–सेकेन्डमा बज्न बन्द हुने छैन। फेसबुकको लाइक, कसैको ट्वीट, कमेन्ट, लाइभ– सबैको नोटिफिकेसन जो आउँछ। अनि मन कहाँ मान्छ र! उठाएर हेरि हाल्नुपर्छ। नोटिफिकेसनको ‘सेटिङ’मा केहीबेर घोत्लिने समय निकाल्नुहोस्।

 सेन्टर फर ह्युमन टेक्नोलोजी (सिएचटी)ले ‘मानिस’ले बाहेक पठाएका सबै नोटिफिकेसन बन्द गर्न सुझाव दिएको छ। यसो गर्दा ‘मेसेजिङ एप्स’का सन्देशको मात्रै नोटिफिकेसन बज्छ। ‘१४’ जनाले फोटो लाइक गरे भन्ने ‘रिमाइन्डर’ हेर्न फोन उठाइराख्नु पर्दैन।

सिएचटी एउटा गैरनाफामूलक संस्था हो। यसलाई गुगलका पूर्व प्रबन्धक ट्रिस्ट्यान ह्यारिसले सुरू गरेका हुन्। संस्थाले मानिसहरूलाई उपकरणको समझदार प्रयोग गर्न सहयोग गर्दछ। 

३.फोनको प्रयोग सक्रियतापूर्वक घटाउनुहोस्

एन्ड्रोइड र आइओएस विश्वका दुई लोकप्रिय मोबाइल अपरेटिङ सिस्टम हुन्। यिनीहरूमा यस्तो फिचर पनि छ जसले फोन कति समय फोन गरियो अनुगमन गर्दछ। यसले प्रत्येक दिन कति समय फोन प्रयोग गरिन्छ, सबैभन्दा धेरै कुन एप प्रयोग हुन्छ भन्नेबारे साप्ताहिक ‘रिपोर्ट’ नै दिन्छ।

तर, रिपोर्ट पढ्ने मात्रै नभएर, ‘प्रोएक्टिभ’ बन्नुहोस्। जुन एपको प्रयोग घटाउन खोजेको हो, त्यसको ‘लिमिट’ तोक्नुहोस्। हो, यस्तो पनि गर्न सकिन्छ। ‘ओभरराइड’ गर्ने एप पनि प्रशस्तै पाइन्छन्। फगत फजुल फोन स्क्रोल गरेर समय बिताउनु भन्दा अरू नै सिर्जनशील काम गर्न सकिन्छ नि, हैन र?

४. गो ग्रे

मोबाइल फोन ‘ग्रेस्केल’ अर्थात् सादा रंग बनाए वास्तविक जीवन बढी रंगीन भएको सुनिश्चित हुन्छ। यो ह्यारिसको ‘सिग्नेचर’ सुझाव हो। फोनका ‘युजर–इन्टरफेस डिजाइनर’ले निकै सावधानीपूर्वक विभिन्न मनोवैज्ञानिक परीक्षण गरेर मोबाइललाई आकर्षक बनाएका हुन्छन्। त्यही भएर त हामी बारम्बार फोन हेर्छाैं। ‘होम स्क्रिन’ मा देखिने आइकन, तिनीहरूको एनिमेसन, रंग, कति रमाइलो हुन्छ हगि!

आइओएस प्रयोगकर्ताले ‘सेटिङस’मा गएर ‘जेनरल’भित्र ‘एक्सेसिबिलिटी’ को ‘एक्सेसिबिलिटि सर्टकर्ट’ र त्यसपछि ‘कलर फिल्टर्स’ ट्याप गर्नुहोस्। ‘यसो गरे होम बटनलाई तीन पटक ट्याप गरे फोनलाई चाहिएको बेला ग्रे र रंगीन बनाउन सकिन्छ,’ सिएचटीले भनेको छ। एन्ड्रोइड उपकरण यस्तो गर्ने कुनै निश्चित उपाय त छैन तर अधिकांश मोबाइलको ‘एक्सेसिबिलिटी मेन्यू’ मा उस्तै विकल्पहरू हुन्छन्।

५.‘इन्टेन्सनालिटी’ अभ्यास गर्नुहोस्

सबै कुराको प्राविधिक समाधान हुँदैन। फोन उठाउनुअघि आफूलाई सोध्नुहोस् : ‘म यो किन गर्दैछु?’ कहिलेकाहिँ यो एउटा प्रश्नले पनि बिना कुनै उद्देश्य फोन चलाउनबाट रोक्न सक्छ। दृढ हुनुहोस् र भन्नुहोस्– ‘प्रत्येक सेकेन्डमा फोन उठाउनु पर्ने झन्झटबाट म दिक्क भइसकें।’ अनि तपाईंले पुनर्विचार गर्नुहुन्छ कि त!
 

प्रकाशित मिति: ०७:१५ बजे, सोमबार, वैशाख २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्