Kathmandu Press

कोटेश्वरको जाम घटाउन फुटपाथ मिचेर सडक विस्तार गर्दै विभाग

काठमाडौं फागुन १४ : कोटेश्वरमा दायाँ र बायाँ एक-एक लेन सडक विस्तार हुने भएको छ। त्रिभुवन अन्तर्

कोटेश्वरको जाम घटाउन फुटपाथ मिचेर सडक विस्तार गर्दै विभाग
रिवाज राई

काठमाडौं फागुन १४ : कोटेश्वरमा दायाँ र बायाँ एक-एक लेन सडक विस्तार हुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फको विमानस्थलभित्रको संकेत बत्ती सार्न नमिल्ने भएपछि फुटपाथ मिचेर सडक बनाउने तयारी गरिएको हो।

बिहान कार्यालय समय ९ देखि ११ बजेसम्म भक्तपुरबाट कोटेश्वरतर्फ आउने झण्डै १० हजार सवारी साधनले दैनिक लामो जाम पार गर्नुपर्ने हुन्छ।

कोटेश्वर ट्राफिक कार्यालयका अनुसार भक्तपुरतर्फबाट मात्रै दैनिक १३ हजार तीन सय ४७ मोटरसाइकल र तीन हजार पाँच सय गाडी कोटेश्वरको जाम पार गर्छन् भने सोहि समयमा पाँच हजार ६ सय ६५ मोटरसाइकल र चार हजार ३० गाडी भक्तपुरतर्फ गुड्ने गरेका छन्।

Hardik ivf

गत वर्षको तुलनामा निजी तथा सार्वजनिक सवारी साधनको संख्या बढेको छ। लामो समयदेखि कोटेश्वरको जाम घटाउन सुरुङमार्ग बनाउने पटकपटक योजना बन्दै आएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन।

सडक विभागले जाम केही हदसम्म भएपनि घटाउन तत्कालीन योजनाअनुसार, त्यो क्षेत्रमा दायाँबायाँ एक÷एक लेनको सडक विस्तार गरिने भएको छ।

‘कोटेश्वरदेखि जडीबुटीसम्म सडकको दायाँबायाँ एक लेन विस्तार गरिने तयारी हुँदैछ। कोटेश्वर चोकमा विमानस्थलको जग्गा पर्छ। विमानस्थलका संकेत बत्तीहरू सार्न नमिल्ने भएपछि उत्तरतर्फ फुटपाथ मिचेर एक लेनको सडक विस्तार गर्ने तयारी भइरहेको छ,’ सडक विभागका प्रवक्ता शिवहरी सापकोटाले काठमाडौं प्रेससँग भने, ‘उत्तरतर्फ स्थानीयको एउटा मात्र घर हटाउनुपर्ने देखिएको छ। उक्त घर हटाउनको लागि सरकार र स्थानीयबीच छलफल सुरू भएको छ।’

जडिबुटी चोकमा रहेको एउटा घरले सडक विस्तारमा समस्या देखिएको भन्दै विभागले उक्त घर भत्काउने प्रक्रिया पनि अघि बढाएको छ। ‘जडीबुटी चोकमा रहेको एउटा घर हटाउँने बितिक्कै बायाँतर्फको एक लेन विस्तार गर्न कुनै समस्या छैन,’ सापकोटाले भने, ‘उक्त घर भत्काउने विषयमा प्रक्रिया अघि बढेको छ।’

दक्षिणफतर्फ एक लेनको सडक विस्तार गर्न नेपाली सेना पनि जग्गा दिन सहमत भएको छ।

नयाँ योजनाअनुसार, अहिले तिनकुने–कोटेश्वर–जडीबुटी हुँदै पेप्सीकोलातर्फ जानेलाई मात्र एकतर्फी एउटा छुट्टै लेन बन्नेछ। त्यस्तै, भक्तपुरतिरबाट कोटेश्वर चोक हुँदै बालकुमारी–ललितपुरतर्फ जान एकतर्फी एक लेन सडक बनाएर पठाउने भएपछि कोटेश्वरको जाम केही कम हुने अपेक्षा विभागको छ।

जाम कम गर्नको लागि सडक विभागले तीन चरणमा काम गर्ने योजना बनाएको छ। पहिलो चरणमा जाम हटाउन सडक विस्तार, द्रोस्रो चरणमा सवारी साधनको व्यवस्थापन र तेस्रो चरणमा दीर्घकालीन समाधानको रुपमा सुरुङमार्ग बनाउने योजना बनिरहेको सापकोटाले बताए।

कोटेश्वरबाट भक्तपुर जाने सडक अहिले चार लेनको छ। दायाँबायाँ एक एक लेन थप्दा ६ लेनको सडक बन्छ। एक लेन बराबर साढे तीन मिटर सडकको क्षेत्रफल बढ्छ। यसले सडक जामका केही राहत पुग्ने सापकोटाको भनाइ छ।

किन हुन्छ कोटेश्वर–जडीबुटीमा धेरै जाम?

धुलिखेल–बर्दिबास जोड्ने बिपी राजमार्ग सञ्चालनमा आएपछि पूर्व जाने सवारी साधनको एक मात्र निकासद्वारका रूपमा कोटेश्वर–जडीबुटी सडकलाई प्रयोग गर्छन्। बिपी राजमार्ग सञ्चालनमा आएपछि पूर्व जाने सवारीसाधनको अत्यधिक वृद्धि भएको छ। तर, काटेश्वर र जडीबुटीका बीचमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको ‘लाइट सिग्नल’ पोलका कारण साँघुरो बोटलनेक सडक छ ।

यसैकारण जाम हुने कोटेश्वरका ट्राफिक प्रहरी राम श्रेष्ठ बताउँछन्। उनका अनुसार बिहान र बेलुका न्युनतम ५० मिनेटसम्म जाम हुने गरेको छ। तर, सर्वसाधारणले कहिले काँही दुई–तीन घन्टासम्म बस्नुपर्ने बाध्यता छ। जाम हुनुको अर्को कारण भक्तपुर क्षेत्रमा अत्यधिक बस्ती विकास हुनु पनि हो।

सिन्धुपाल्चोक चौताराबाट गठ्ठाघरसम्म आइपुग्न चार घन्टा लाग्छ भने, गठ्ठाघरबाट नयाँ बानेश्वर निस्कन कहिले काँही दुई घन्टाभन्दा बढि लाग्ने गरेको छ। ‘महिनामा एकदुई पटक काठमाडौं आइराख्नुपर्छ। जाम नपरेको अहिलेसम्म थाहा छैन,’ सिन्धुपाल्चोकका शिवहरी श्रेष्ठ भन्छन्।

त्यस्तै, साँगाबाट सिनामंगलस्थित रोजगारीको लागि दैनिक आउने रुपा विक भन्छिन्, ‘११ बजे कार्यालय पुग्न पनि बिहान ७ बजे नै हिड्नुपर्छ। खासमा एक घन्टाको बाटो हो, तर जामको कारणले कार्यालयमा ढिला हुने डरले सधै छिटै हिड्नुपर्छ।’

प्रकाशित मिति: ११:११ बजे, बुधबार, फागुन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्