Kathmandu Press

विदेशी सञ्चारमाध्यमप्रति कठोर बन्दै चीन, धम्कीदेखि देश निकालासम्म

काठमाडाैं, फागुन ८ : कोरोना भाइरसबारे अनर्गल प्रचार गरेको आरोप लगाउँदै चीनले विदेशी सञ्चारकर्मीहरुला

विदेशी सञ्चारमाध्यमप्रति कठोर बन्दै चीन, धम्कीदेखि देश निकालासम्म

काठमाडाैं, फागुन ८ : कोरोना भाइरसबारे अनर्गल प्रचार गरेको आरोप लगाउँदै चीनले विदेशी सञ्चारकर्मीहरुलाई देश निकाला गरेको छ। 

चीनले वाल स्ट्रिट जर्नलका तीन जना रिपोर्टरलाई देश निकाला गरेको हो। कोरोना भाइरस नियन्त्रण गर्न चीन असफल भएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निरन्तर आलोचना बढेपछि विदेशी सञ्चारकर्मीप्रति चीन कठोर भएको हो। देश निकाला गरिएका सञ्चारकर्मी जो, चाओ देङ र फिलिप वेनले कुनै पनि अफवाहजनक टिप्पणी वा आलेख लेखेका थिएनन्। 

चीनले विदेशी सञ्चारमाध्यमका प्रतिनिधिलाई मुलुक छाड्न निर्देशन दिएको यो पहिलो पटक हो। विदेशी सञ्चारमाध्यम चीनप्रति पूर्वाग्रहित रहेको र कोरोना भाइरसबारे समाचार सम्प्रेषण अनर्गल रुपमा गरेको चिनियाँ विदेश मन्त्रालयको ठम्याई छ। 

'हामीविरुद्ध अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले फैलाएको अफवाह कदापी स्वीकार्य छैन,' विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले भने। एसियाका पत्रकारको हक हितमा काम गर्ने संस्थाका निर्देशक स्टेभन बटल्लरले चीनको यो कदम लज्जास्पद भएको टिप्पणी गरेका छन्। 'निराधार आरोपमा पत्रकारहरुलाई देश निकाला गर्ने चिनियाँ कदम स्वीकार्य हुन सक्दैन। उदाउँदो शक्ति राष्ट्रको यो  हदको कमजोर आत्मविश्वास लज्जास्पद छ,' उनले भने।

उनले छिटोभन्दा छिटो ती पत्रकारहरुले चीनमा काम गर्न पाउने वातावरण निर्माण गर्न माग गरेका छन्। चीन पत्रकारहरुमाथि मात्रै यति कठोर बनेको होइन। कोरोना भाइरसको संक्रमणबारे सही सूचना चीनले नदिएको भन्दै सूचना नलुकाउन माग राख्दै आएका अधिकारकर्मी जु झियोङलाई समेत थुनामा राखेको छ। 

सामाजिक सञ्जाल समेत नियन्त्रित

कोरोना भाइरसले आक्रान्त चीन यसको सत्यतथ्य जानकारी बाहिर नजाओस् भन्नका लागि हरेक तरिका अपनाइरहेको छ। उसले मूलधारका सञ्चारमाध्यम मात्रै होइन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाथि समेत निगरानी राखेको छ। अस्पतालका निर्देशकहरुलाई चीन सरकारले सामाजिक सञ्जालमा कुनै पनि प्रतिक्रिया नजनाउन निर्देशन दिएको छ। 

कोरोना भाइरसबारे सामाजिक सञ्जालमा भएका पोष्टहरु हटाइरहेको छ। मिडिया नियन्त्रित चीनमा स्वतन्त्र समाचार छाप्ने छवि बनाएका मास्टर अनलाइनलाई सरकारले केही दिन पहिले बन्द गरिदिएको छ। 'हामी चीन सरकारले गर्दै आएको अत्याचार र उत्पीडनबारे बोलिरह्यौँ त्यसको मूल्य हामीले चुकाउनुपर्‍यो,' मास्टरका सम्पादक झिया जुहानले भने।

अन्तर्राष्ट्रिय मिडियाहरुप्रति चीन सरकारले लिएको कडा नीतिको बाछिटा नेपालसम्म पनि आइपुगेको छ। काठमाडौं पोस्टमा प्रकाशित समाचारलाई लिएर नेपालस्थित चिनियाँ दूतावासले धम्कीपूर्ण विज्ञप्ति जारी गरेको थियो। कूटनीतिक नियोगबाट आएको धम्कीपूर्ण विज्ञप्तिप्रति नेपाली सम्पादकहरुले आपत्ति जनाइसकेका छन्।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति: १७:०७ बजे, बिहीबार, फागुन ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्