प्रचण्डले प्रधानमन्त्री ओलीलाई भने, ‘सञ्चारमन्त्रीका विषयमा तपाईं नै निर्णय गर्नुस्’
काठमाडौं, फागुन ८ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता

काठमाडौं, फागुन ८ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै सुम्पेका छन्।
सेक्युरिटी प्रेस खरिदमा सञ्चारमन्त्री बाँस्कोटाले घुस लिएको अडियो सार्वजनिक भएको छ। यसमा प्रमुख प्रतिक्षप कांग्रेसले बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ।
यससँगै समसामयिक विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका थिए। बालुवाटार स्रोतका अनुसार, ओली र प्रचण्डबीच सञ्चारमन्त्री बाँस्कोटाबारे पनि छलफल भएको छ।
छलफलमा क्रममा अध्यक्ष प्रचण्डले सञ्चारमन्त्री बाँस्कोटाबारे निर्णय गर्ने जिम्मा ओलीलाई नै दिएका छन्। ‘गोकुल बाँस्कोटा तपाईंकै क्याबिनेटका मन्त्री हुन्। यससम्बन्धी तपाई नै निर्णय गर्नुस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो।
यस विषयमा के गर्ने भन्ने निष्कर्ष निस्केको छैन। सञ्चारमन्त्री बाँस्कोटा कञ्चनपुरबाट फर्केपछि भेटेर नै कुराकानी गर्ने मुडामा प्रधानमन्त्री रहेको जनाएको छ।
यसै विषयलाई लिएर कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।











