दश वर्षमा दश अर्ब सकियो, काम आधा मात्रै
काठमाडौं, फागुन १० : वागमती करिडोर निर्माणको काम समयमै नसकिने भएको छ। निर्माण सुरू भएको दश वर्ष

काठमाडौं, फागुन १० : वागमती करिडोर निर्माणको काम समयमै नसकिने भएको छ। निर्माण सुरू भएको दश वर्षमा दश अर्ब रूपैयाँ खर्च भए पनि काम भने ५० प्रतिशतमात्रै भएको छ।
वागमतीसहित काठमाडौं उपत्यकाका नौ वटा खोला क्षेत्रमा सडक निर्माण गर्ने, नदी नियन्त्रण गर्ने र ढल व्यवस्थापनको काम दश वर्षअघि सुरू भएको थियो। २०६६ मा सुरू भएको काम २०८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। जसका लागि १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।
तर, दश अर्ब रुपैयाँ खर्च हुँदा पनि ५० प्रतिशत मात्रै काम सकिएको छ। अब चार वर्षमा ५० प्रतिशत काम पूरा हुन मुस्किल देखिएको छ।
अहिले काम भइरहेका ६ वटा खोलामध्ये तीन खोलामा ९० प्रतिशत र बाँकी खोलामा ३० प्रतिशतसम्म काम भएको छ। अझै तीन वटा खोला क्षेत्रमा काम सुरू हुनै बाँकी छ।
अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका अनुसार अहिले वागमती, विष्णुमती र धोबी खोला क्षेत्रको काम अन्तिम चरणमा पुगेको छ। ‘वागमती, विष्णुमती र धोबी खोलाको काम ९० प्रतिशत सकिएको छ,’ समितिका सिनियर डिभिजन इन्जिनियर योगेन्द्र चित्रकारले भने।
त्यस्तै, हनुमन्ते, बल्खु र नख्खुखोलाको काम ३० प्रतिशत मात्रै भएको छ। मनहरा, कर्मनाश र महादेव खोलाको काम अझै सुरू भएको छैन। ती क्षेत्रमा चैतबाट काम सुरू गर्ने तयारी रहेको समितिले जनाएको छ।
‘सबै नदीको काम सक्न अझै एक दशक लाग्नसक्छ,’ समितिका सिनियर डिभिजन इन्जिनियर चित्रकारले भने।

कामको अवधि लम्बिएपछि अब समयसँगै बजेट पनि बढ्ने चित्रकारले बताए। चालु आर्थिक वर्षमा पनि बजेट कम भएको समितिले जनाएको छ। ‘तोकिएको बजेटले पुग्दैन। काम गर्दै जाँदा सरकारसँग थप बजेटको माग गर्नेछाैं,’ उनले भने।
वागमती करिडोरका लागि यो आर्थिक वर्षमा दुई अर्ब २५ करोड रूपैयाँ विनियोजन गरिएको थियो भने गत आर्थिक वर्षमा एक अर्ब ५० करोड बजेट छुट्याइएको थियो।
कुन खोलामा कति काम?
विष्णुमती खोला
विष्णुमती खोलाको क्षेत्र १७ किलोमिटर छ। २०७५ सालमै सम्पन्न गरिसक्नु पर्ने नदी नियन्त्रणको काम अहिले अन्तिम चरणमा पुगेको छ। दायाँबायाँ गरेर १२ किलोमिटर नदी नियन्त्रण र ढल व्यवस्थापनको काम भएको छ।
त्यस्तै, एक किलोमिटर सडक पनि बनेको छ। पहिले नै सडक भएकाले नयाँ सडक बनाउनु नपरेको समितिले जनाएको छ।
नयाँ बसपार्कदेखि बालाजुसम्म सुकुम्बासी बस्ती छ। जसले गर्दा नदी नियन्त्रण र ढल व्यवस्थापनको काम रोकिएको निर्माण कम्पनी लुम्बिनी गौरी पार्वती र शर्मा कान्छा लामा जेभीले जनाएको छ। वसष्णुमती दोभानदेखि नयाँ बसपार्कसम्मको काम चलिरहेको छ।
टोखा–ग्रान्डी अस्पताल सडकखण्ड एकतर्फ बनेको छ भने अर्कोतर्फ बाक्लो बस्ती भएकाले के गर्ने एकीन भएको छैन।
विष्णुमतीका लागि एक अर्ब बजेट विनियोजन गरिएको थियो। त्यसले नपुगेपछि साढे तीन किलोमिटर सडकका लागि २० लाखमा नयाँ ठेक्का दिने तयारी गरिएको छ। गत वर्ष नै निर्माण सम्पन्न गर्नुपर्ने योजना अझै केही समय लाग्ने देखिएको छ।
वागतमी नदी
वागमती नदीको क्षेत्र काठमाडौं उपत्यकाभित्र २४ किलोमिटर छ। यसको लगभग सबै काम अन्तिम चरणमा पुगेको छ। खण्डखण्डमा सकड निर्माण भइरहेको छ। सिनामंगल भिमसिन खोला, थापाथली, बुद्धनगर पुल क्षेत्रमा सडकको काम भइरहेको छ।
यस्तै, तिलगंगादेखि सुन्दरीघाटसम्म एकसरो ढल व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। सुन्दरीघाटको दायाँ किनारबाट बायाँ किनार लग्ने संरचना निर्माण भइरहेको छ। वागमती दोभानको पुलदेखि बुद्धनगर पुलसम्म, थापाथली पुलदेखि टेकु पुल, मिनभवन पुलको दायाँ किनारको सडक निर्माण बाँकी छ। २०७७ सम्म सक्ने लक्ष्य राखिएको भएपनि काम अझै बाँकी नै छ।
धोबी खोला
धोबी खोलाको १२ किलोमिटर लम्बाइ छ। धोबी खोला दोभानदेखि बालुवाखानीसम्म दायाँबायाँ १२–१२ किलोमिटर गरी २४ किलोमिटरको ढल व्यवस्थापन सम्पन्न भएको छ। धोबी खोला क्षेत्रको सडक निर्माण र नदी नियन्त्रणको काम उपत्यका विकास प्राधिकरणले गरिराखेको छ।
यसको काम २०७१ मै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, अहिलेसम्म अधुरै छ। अब २०७७ भित्र सक्ने योजना रहेको चित्रकारले बताए।
नख्खु खोला
नख्खु खोलाको तीन किलोमिटर पहिलो प्याकेज र दोस्रो प्याकेजमा साढे दुई किलोमिटर गरेर साढे पाँच किलोमिटरमा काम भइरहेको छ।
पहिलो प्याकेजको काम गत वर्षबाट सुरु गरिएको हो। ६ किलोमिटर नदी नियन्त्रण र तीन किलोमिटर ढल व्यवस्थापनको काम सकिएको छ भने तीन किलोमिटर बाँकी छ। नख्खु खोलाको काम ३० प्रतिशत मात्रै भएको छ।
बल्खु खोला
बल्खुमा खोलाको दुईतर्फी गरेर पाँच किलोमिटर नदी नियन्त्रणको काम भएको छ। त्यस्तै, चार किलोमिटरमा ढल व्यवस्थापनको काम भएको छ भने सडक निर्माण भइरहेको छ।
बल्खु खोला क्षेत्रमा पनि ३० प्रतिशत मात्रै काम भएको छ।
हनुमन्ते खोला
भक्तपुर, सल्लाघारीदेखि बालकुमारीसम्म काम भइरहेको छ। यसलाई तीन प्याकेजमा विभाजन गरेर नौ किलोमिटर क्षेत्रमा काम भइरहेको समितिले जनाएको छ। अहिलेसम्म सडक र नदी नियन्त्रणको काम ११ किलोमिटर क्षेत्रमा भएको छ।
हनुमन्ते खोलाअन्तर्गत पर्ने सल्लाघारीदेखि चक्रपथ पुलसम्मको काम बाँकी छ। यसको काम २०८० सम्ममा सक्ने लक्ष्य राखिएको छ। तर, अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको छ।
सुरू नै भएन महरा, कर्मनाश र महादेव खोलाको काम
अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले नौ वटा खोला किनारमा सडक, नदी नियन्त्रण र ढल व्यवस्थापनको काम पूरा गर्नुपर्ने समय अब चार वर्ष मात्रै बाँकी छ। तर, तीन वटा खोलामा भने काम नै सुरु भएको छैन। वागमती करिडोरअन्तर्गतका मनहरा, कर्मनाश र महादेव खोलाको काम सुरू हुन बाँकी छ।
तीनै खोला क्षेत्रमा काम गर्न ६० करोड विनियोजन भएको छ। मनहराका लागि ३० करोड, कर्मनाशका लागि २० करोड र महादेव खोलाका लागि १० करोड विनियोजन भएको समितिका सिनियर डिभिजन इन्जिनियर चित्रकारले बताए। ‘सर्वेक्षणको काम भइसकेको छ, अब चैतमा ठेक्का आह्वान गरेर काम सुरू हुन्छ,’ उनले भने।












-(86)-1764936079.jpg)