नियमित ओखर खाए बढ्दैन स्तन क्यान्सर
काठमाडाैं, वैशाख १ : ओखर खाँदा स्तन क्यान्सर नबढ्ने एक अध्ययनले देखाएको छ। न्यूट्रिसन रिसर्च नामक जर्नलले सार्वजनिक गरेको एक प्रतिवेदनमा दैनिक द....
काठमाडाैं, वैशाख १ : ओखर खाँदा स्तन क्यान्सर नबढ्ने एक अध्ययनले देखाएको छ। न्यूट्रिसन रिसर्च नामक जर्नलले सार्वजनिक गरेको एक प्रतिवेदनमा दैनिक दुई आउन्स अर्थात करिब ५७ ग्राम ओखर दुई सातासम्म खाँदा स्तन क्यान्सर भएका व्यक्तिको ‘जिन’मा परिवर्तन भएको उल्लेख छ।
‘ओखरको सेवनले मुसाको स्तन क्यान्सर वृद्धि ढिला भएको र म्यामरी क्यान्सरको जोखिम कम गरेको छ,’ अमेरिकास्थित मार्शल युनिभर्सिटीका डब्ल्यु इलैन हार्डमेनले भने। हार्डमेनले मुसाको स्तन क्यान्सरबारे गरिएको अनुसन्धानका आधारमा ओखरको सेवनले महिलालाई हुने स्तन क्यान्सरको वृद्धि न्यूनिकरण गर्ने परिकल्पना गरिएको बताए।
पहिलो परीक्षणमा अनुसन्धान र बायोप्सीका लागि उपयुक्त स्तनमा ठूला गिर्खा भएका महिलालाई सहभागी गराइएको थियो। उनीहरुलाई ओखर खाने र नियन्त्रणका अन्य विधि अपनाइएको समूहमा विभाजन गरिएको थियो।
बायोप्सीको नमूना संकलनपछि ओखर खाने समूहका महिलाले दैनिक दुई आउन्स ओखर सेवन गर्न थाले। उनीहरूले शल्यक्रियापछिको फलोअपसम्म ओेखर सेवन गरेका थिए। स्वास्थ्य परीक्षणमा सहभागी सबै महिलाको स्तनको गिर्खा क्यान्सर भएको नतिजा निक्लिएको थियो। बायोप्सी गरेको दुई सातापछि शल्यक्रिया गर्दा स्तन क्यान्सरबाट थप नमूना संकलन गरियो। र, संकलित ती नमूनाले जिनमा परिवर्तन भएको देखाएको थियो।
आरएनए सिक्वेन्सिङ गर्दा ओखर खानाले चार सय ५६ वटा जिनमा उल्लेखनीय परिवर्तन भएको पत्ता लागेको थियो। ‘यो नतिजाले हाइपोथेसिस (परिकल्पना) लाई पुष्टि गरेको छ। ओखर सेवन गर्नाले स्तन क्यान्सरको वृद्धि कम गर्दछ,’ हार्डमेनले भने। ओखर खाए स्तन क्यान्सरको जोखिम वा पुनरावृत्ति वास्तवमै कम हुन्छ भन्ने पुष्टि गर्न ठूलो परिमाणमा थप अनुसन्धानको आवश्यकता भने रहेको हार्डमेनले बताएका छन्।