क्वारेन्टाइनमा विद्यार्थीका लागि यस्तो छ ब्यांकेटको मेनु
काठमाडौं, फागुन ६ : कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनको वुहान शहरबाट ल्याइएका नेपाली विद्यार्थीलाई

काठमाडौं, फागुन ६ : कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनको वुहान शहरबाट ल्याइएका नेपाली विद्यार्थीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर विशेष सावधानी अपनाइएको छ।
खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा रहेका विद्यार्थीका लागि खानपिनमा पनि ध्यान दिइएको छ। उनीहरूलाई स्वस्थ खानापिनको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले नै स्वस्थकर खानाको तोकेको मन्त्रालयका सचिव खगराज बरालले बताए। ‘क्वारेन्टाइनमा बस्नेहरुलाई गुणस्तर खाना खुवाइएको छ,’ बरालले भने।
क्वारेन्टाइनको सबै जिम्मा नेपाली सेनालाई दिइएको छ। सेनाले खानाको जिम्मा कार्की ब्यांकेटलाई लगाएको छ। ब्यांकेटले नै उनीहरूका लागि खाना र खाजाको प्रबन्ध गरिरहेको छ।
ब्यांकेटले दिनमा चार पटक खाना र खाना खुवाउने गरेको छ। हरेक दिन केही न केही फरक खुवाउने गरिएको ब्यांकेटका सञ्चालक दिलबहादुर कार्कीले बताए।
चीनबाट ल्याइएका विद्यार्थी क्वारेन्टाइनमा बस्न थालेको दुई आज तेस्रो दिन हो। आइतबार पहिलो दिन बिहान नास्तामा पुरी, तरकारी, जेरी, फलफूल, उसिनेको अण्डा खुवाइएको थियो।
त्यस्तै, बिहानको खानामा भात, दालकरी, रायोको साग, चम्सुरको साग, काउली र आलु तरकारी, गोलभेडाको अचार र सलादको व्यवस्था गरिएको थियो।
दिउँसो खाजामा भने फलफूल, उसिनेको अण्डा, भेज पकौडा व्यवस्था गरिएको थियो।
यस्तै, साँझ खानामा भने भात, दाल, रायोको साग, काउली र आलुको तरकारी, गोलभेडाको अचारलगायत सलाद लगिएको कार्की ब्यांकेटले जनाएको छ।
सोमबारको दोस्रो दिन बिहानको खाजामा पनि उस्ताउस्तै परिकार राखिएको थियो, पुरी, तकारी, जेरी, उसिनेको अण्डा। बिहानको खानामा भात, मटन ग्रेबी, रायोको साग, काउली र आलुको तरकारी, चम्सुरको साग, गोलभेडाको अचार, आलु फ्राइ थियो।
त्यस्तै, अपरह्नको खाजामा फलफूल, उसिनेको अण्डा, भेज पकौडा थियो भने साँझ केही फरक पारिएको थियो। भात, चिकेन करी, रायोको साग, चम्सुरको साग, काउली र आलुको तरकारी, गोलभेडाको अचार, सलाद राखिएको थियो।
क्वारेन्टाइनमा नेपाली सेना र चिकित्सकको टोली खटिएको छ। चिकित्सको सल्लाहअनुसार नै पहिलो साधारण खाना खुवाइएको थियो भने दोस्रो दिनदेखि मासुका परिकार थप गरिएको छ।
शंकमुलस्थित कार्की ब्यांकेटबाट खाना प्याकिङ गरेर लग्ने गरिएको छ। ब्यांकेटले त्यहाँ पुर्याएको वितरण भने सेनाको टोलीले गर्छ।
बिहान खाना पुग्छ भने बिहान ११ बजे खाना। त्यस्तै, अपराह्न ३ बजे खाजा र साँझ खाना समय तोकिएको छ।
खाना पुर्याउन जाँदा पनि ब्यांकेटको टोली सुरक्षित भएर पुग्ने गरेको छ। उनीहरू मास्क लगाएर जाने गरेको सञ्चालक कार्कीले बताए।
क्वारेन्टाइनमा रहेका विद्यार्थीलाई प्लास्टिककै भाँडामा खाना र खाजा खुवाउने गरिएको छ। खाना र खाजा खाइसकेपछि प्लास्टिकका भाँडालाई खाल्डो खनेर पुर्ने गरिएको छ। प्रायः सबै समान पुनः प्रयोग गर्न नमिल्ने किसिमका रहेका छन्।
क्वारेन्टाइनमा एक सय ७० जना विद्यार्थी छन्। उनीहरूसँगै दुई बालबालिका पनि रहेका छन्। दुई जना पर्यटक र एक जना कामका लागि चीन पुगेका नेपाली रहेका छन्।
चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि उनीहरूलाई आइतबार बिहान नेपाल ल्याइएको थियो। आइतबारदेखि नै उनीहरू क्वारेन्टाइनमा बसिरहेका छन्। उनीहरूलाई १४ दिनसम्म त्यही राखिनेछ। त्यसपछि स्वास्थ्य परीक्षण गरेर घर पठाइनेछ। उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छैन।












-(86)-1764936079.jpg)