Kathmandu Press

सफाइ पाएपछि महराले भने,‘अदालतप्रति कृतज्ञ छु, अरु कुरा पछि गरौंला’

काठमाडौं, फागुन ५ : बलात्कार प्रयासको मुद्दामा अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा

सफाइ पाएपछि महराले भने,‘अदालतप्रति कृतज्ञ छु, अरु कुरा पछि गरौंला’
रिवाज राई

काठमाडौं, फागुन ५ : बलात्कार प्रयासको मुद्दामा अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई न्याय दिने अदालतप्रति कृतज्ञता प्रकट गरेका छन्। 

संसद सचिवालयमा कार्यरत एक महिलामाथि बलात्कारको प्रयास गरेको अभियोगमा पूर्वसभामुख महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएपछि सोमबार नै डिल्लीबजार कारागारबाट छुटेका छन्। कारागारबाट छुटेपछि पूर्वसभामुख महराले आफूलाई न्याय दिलाउने अदालतप्रति कृतज्ञता प्रकट गरेका हुन्। उनले कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदीबन्दी र आफूलाई शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्। 

‘मलाई न्याय दिलाउने सम्मानित अदालतप्रति कृतज्ञता प्रकट गर्दछु । कारागारमा रहदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र मलाई शुभेच्छा प्रकट गर्ने सबैमा धन्यवाद व्यक्त गर्दछु,’ महराले भने,‘अरु कुरापछि गरौंला।’

महरा डिल्लीबजार कारागारबाट बाहिरिँदा नेकपाका कार्यकर्ताहरुले महरा सर जिन्दाबाद, अदालतलाई धन्यवाद, एमसीसी चाहिँदैन, नेकपा जिन्दावाद भन्दै चर्को नाराबाजी गरेका थिए। 

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई बलात्कार प्रयासको मुद्दामा कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर सोमबार जिल्ला  अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो।

पीडितले अदालतसमक्ष गरेको बकपत्र र फरेन्सिक रिपोर्टका आधारमा महराले सफाइ पाएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। 

संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए। बलात्कारको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। 

प्रकाशित मिति: १७:०१ बजे, सोमबार, फागुन ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्