महरालाई सफाइ दिने यस्तो छ जिल्ला अदालतको फैसला
काठमाडौं, फागुन ५ : संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अ
काठमाडौं, फागुन ५ : संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ।
सोमबार जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलले महरालाई सफाइ दिएको फैसला सुनाएका हुन्। अदालतको फैसलामा विभिन्न तथ्य र तर्क जिकिर गर्दै पूर्वसभामुख महरा दोषी ठहर नभएको जनाएको छ।
फैसलामा अदालतले तीन विषयलाई आधार मानेको छ। पहिलो, पीडित संसद सचिवालयकी कर्मचारीको बयान र बकपत्रलाई लिइएको छ। उनले महरा आफ्नो कोठामा नआएको बयान दिएकी थिइन भने बकपत्रमा पनि त्यही बताएकी छन्।
दोस्रो, पूर्वसभामुख महराले पनि उनको कोठामा नगएको बयान दिएका छन्।
तेस्रो, पीडित संसद सचिवालयकी कर्मचारीको कोठामा भेटिएका चस्मा, जुत्ताको तलुवा, रक्सीको बोतलमा महराको फिंगर प्रिन्ट नमिलेको फरेन्सिक ल्याब रिपोर्टमा उल्लेख छ।
यी तीन आधारलाई उल्लेख गर्दै अदालतले महरा दोषी ठहर नभएको फैसला गरेको हो।
यसअघि असोज १२ गते राति कोठामा आएर महराले बलात्कार गरेको संसद् सचिवालकी कर्मचारीले आरोप लगाएकी थिइन्। उनले त्यही राति प्रहरीलाई खबर गरेपछि महरा कोठाबाट निस्केको बताएकी थिइन्।
प्रहरी टोली पनि राति नै उनको कोठामा पुगेको थियो। तर, मुचुल्का नउठाएर अर्को दिन पीडितलाई प्रहरीमा आउन भन्दै गएको थियो। त्यही आरोपमा महराले असोज १४ गते प्रतिनिधिसभाको सभामुख पदबाट राजीनामा दिएका थिए। त्यसपछि असोज १९ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो।
सुरुआतमा उनीविरुद्ध बलात्कार गरेको आरोप लागेको थियो। प्रहरीले पनि त्यसमै अनुसन्धान थालेको थियो। पछि पीडितले बयान फेरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत बलात्कार प्रयासमा मुद्दा दर्ता गरेको थियो। त्यसपछि जिल्ला अदालतले नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। उनी डिल्लाबजार कारागारमा थुनामा रहेका थिए।
जिल्ला अदालतको यो फैसलासँगै महराले सफाइ पाएका छन्। उनको सभामुख पद गुमेपछि सांसद पद भने यथावत छ।