वुहानबाट विद्यार्थी ल्याउन पाकिस्तानी पाइलटको नेतृत्वमा चीन जाँदै नेपाली टोली
काठमाडौँ, फागुन २ : कोरोना भाइरसले महामारीको रुप लिएपछि चीनको वुहानमा रहेका नेपाली विद्यार्थी ल्याउन
काठमाडौँ, फागुन २ : कोरोना भाइरसले महामारीको रुप लिएपछि चीनको वुहानमा रहेका नेपाली विद्यार्थी ल्याउन शनिबार नेपाल एयरलाइन्सको जहाज चीन जान लागेको छ। यसको नेतृत्व पाकिस्तानी पाइलटले गर्ने भएका छन्।
नेपाल एयरलाइन्सका अनुसार, पाकिस्तानी पाइलट यावर कमालको नेतृत्वमा १७ सदस्यीय टोली चीन जानेछ। जसमा क्याप्टेन विजय लामा र सुनिल श्रेष्ठ रहनेछन्।
टोलीमा चिकित्सक पनि रहनेछन्। जसमा नेपाली सेनाका चार जना चिकित्सक छन्। त्यस्तै, नेपाल वायुसेवा निगमका तीन जना क्याप्टेन, ६ जना क्याबिन क्रु, एक जना इन्जिनियर, एक जना प्राविधिक, एक जना फ्लाइट डिस्प्याचर र एक जना लोड मास्टर रहने अप्रेसन विभाग प्रमुख दिपु जुहार्चनले बताए।
यसका लागि शनिबार दिउसो २ः४५ बजे नेपाल एयरलाइन्सको एयरबस ३३० (वाइड बडी) बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका लागि प्रस्थान गर्नेछ। यसको सबै तयारी पूरा भएको अप्रेसन विभाग प्रमुख जुहार्चनले बताए।
उनले भने, ‘स्वदेश ल्याइने विद्यार्थीका लागि विमानका सिटमा प्लास्टिक कबर राख्ने, विमानभित्र स्यानिटाइजर, मास्कलगायतका अति आवश्यक सामाग्रि राखिनेछन्।’
चीन जान र आउन करिब १० घन्टा लाग्ने अनुमान गरिएको छ। समयमै विद्यार्थीलाई जहाजमा राख्न सकिँए शनिबार राति २ः४५ बजे काठमाडौं फर्किने योजना छ।
रातको समयमा विमानस्थलमा खासै भिडभाड नहुने भएकाले राति ल्यान्ड गर्ने तयारी गरिएको हो । चीनबाट काठमाडौं आएपछि विमान पूर्वपतिरको पार्किङ–वेमा लगेर राखिने जनाएको छ।
विद्यार्थी र उद्धारका लागि गएको नेपाली टोलीको पार्किङ–वेमै स्वास्थ्य परीक्षण गरिने जनाएको छ। त्यसपछि विद्यार्थीलाई पाँच वटा बसमा राखेर सिँधै भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा राखिनेछ। जहाँ केही दिन अघि खाली गराएर क्वारेन्टाइन बनाइएको छ।
विद्यार्थीसँगै पाइटलसहितको १७ जनाको टोली पनि क्वारेन्टाइनमा राखिनेछ। पाइलटसहितको टोलीलाई कति दिन क्यारेन्टाइनमा राख्ने जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव सुरेश आर्चायले बताए। सबैले कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ।
त्यस्तै चीनबाट विद्यार्थी ल्याउने जहाजलाई पनि केही समय ग्राउन्डेड राखिनेछ। करिब ४८ देखि ७२ घन्टासम्म ग्राउन्डेड गर्ने तयारी गरिएको विभागले जनाएको छ। त्यसपछि जहाजलाई किटाणुरहित बनाएर मात्रै उडाइनेछ।
चीनको वुहान शहरबाट कोरोना भाइरस फैलिएको हो। त्यहाँ रहेका एक सय ८० जना नेपाली विद्यार्थीले स्वदेश फर्किने निवेदन दिएका थिए। उनीहरूले निवेदन दिएको झन्डै एक महिनापछि ल्याउन लागिएको हो।
चीनबाट सुरू भएको कोरोना भाइरस २७ देशमा फैलिएको छ। शुक्रबारसम्म कोरोना भाइरसबाट एक हजार तीन सय ८३ जनाको मृत्यु भएको छ। त्यस्तै, ६४ हजार चार सय ३५ जनामा संक्रमण देखिएको छ।