कांग्रेसको प्रश्न- विष्णु पौडेलहरूलाई उन्मुक्ति दिएर कस्तो प्रणाली स्थापित गर्न खोजिएको हो?
काठमाडौं, माघ २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदार माथि सरकार

काठमाडौं, माघ २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदार माथि सरकारले बदनियत राखेको आरोप लगाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस संसदीय दलका उपनेता गच्छदारसहित १७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले बदनियत राखेको आरोप लगाएको हो।
बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले फरक विचार राखेको आधारमा मुद्दा दायर गरेको बताए। कांग्रेसले सुरुवातदेखि नै ललिता निवास प्रकरणमा गहिरो छानविन गर्न माग गर्दै आएको तर सत्तासीन दलका नेतालाई उन्मुक्ति दिएर गच्छदारमाथि राजनीतिक पूर्वाग्रह साँधिएको प्रवक्ता शर्माले बताए।
‘सुरुवातदेखि नै हामीले छानविनको माग गरेका हौं। तर, सरकारले आफ्नालाई जोगाउने र अर्कालाई फसाउने नीति लियो,’ उनले भने।
सरकारको प्रभावमा परेर अख्तियारले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, मुख्यसचिव लीलामणि पौडेललाई उन्मुक्ति दिने र गच्छदारमाथि मुद्दा चलाउने कुरामा विरोधाभाष देखिएको उनको भनाइ छ। प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीको सहमति बेगर कुनै निर्णय हुन नसक्ने भन्दै उनले तत्कालीन प्रधानमन्त्रीहरु माधव नेपाललाई किन उन्मुक्ति दिइयो भन्दै प्रश्न समेत गरे।
‘सिंगो मन्त्रिपरिषदले गरेको निर्णयमा एउटा मन्त्रीलाई मात्रै कसरी फसाउन मिल्छ?’ उनले भने, ‘त्यसमा सरकारको बदनियत देखिन्छ।’ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविनको नाममा जग्गा देखिएको तर फिर्ता गर्ने सर्तमा उन्मुक्ति दिइएको भन्दै उनले आपत्ति जनाए।
‘यो कस्तो नियम हो। भोलि कसैले डकैती गरेर २ वर्षपछि पैसा फिर्ता दियो भने के गर्ने ? कसैको छोरी अपहरण गरेर चार वर्षपछि रिहाइ गर्यो भने फुल माला लाउने कि? मुद्दा दायर गर्ने?,’ उनले प्रश्न गरे।
पौडेलको जस्तै मुद्दामा तिलककुमारी खड्का दुई वर्ष जेल परेको भन्दै राजनीतिक आडमा विष्णु पौडेललाई उन्मुक्ति दिन नमिल्ने तर्क शर्माको थियो। बालुवाटारको जग्गा किन्ने ६७ मध्ये ६५ जनालाई मुद्दा चलाएर दुई जनालाई उन्मुक्ति दिने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो।
गच्छदारले कानूनी र राजनीतिक रुपमा फेस गर्नुहुन्छ भन्ने प्रश्नमा प्रवक्ता शर्माले अख्तियारले दायर गरेको मुद्दा गच्छदारले फेस गर्ने बताए। कांग्रेसले सधैं अदालतको सम्मान गर्दै आएकाले गच्छदारले मुद्दा लड्ने बताए। ‘हामी अदालतको सम्मान गर्छौं। उहाँ (गच्छदार)ले कानूनी र राजनीतिकरुपमा मुद्दा फेस गर्नुहुन्छ,’ उनले भने।
जतिसुकै अप्रिय लागेपनि मुद्दा परेपछि फेस गर्नु सबैको कर्तव्य भएको उनको भनाइ थियो।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
