दिल्ली चुनाव : अत्यधिक उम्मेदवार बलात्कारलगायत आपराधिक मुद्दाका आरोपी, ३६ प्रतिशत करोडपति
काठमाडौं, माघ २१ : दिल्ली विधान सभा निर्वाचनमा एक दशकयताकै सबैभन्दा धेरै आपराधिक मुद्दाका आरोपी उम्म

काठमाडौं, माघ २१ : दिल्ली विधान सभा निर्वाचनमा एक दशकयताकै सबैभन्दा धेरै आपराधिक मुद्दाका आरोपी उम्मेदवार भएको एसोसिएसन फर डेमोक्रेटिक रिफोर्म्सले जनाएको छ।
भारतको निर्वाचन आयोगमा उम्मेदवारले बुझाएको प्रतिज्ञापत्र (एफिडेभिट)का आधारमा त्यस्तो निष्कर्ष निकालिएको हो। उनीहरूमध्ये २० जना उम्मेदवारलाई कम्तिमा एउटा मुद्दामा दोषी करार गरिएको छ।
यो निर्वाचनमा करोडपति, अत्यधिक शिक्षित, महिला र पाका उमेरका उम्मेदवार पनि दशकयताकै धेरै छन्।
निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका ६ सय ७२ जना उम्मेदवारमध्ये झण्डै २० प्रतिशतविरूद्ध आपराधिक मुद्दा चलिरहेको छ। सन् २००८ मा भएको विधान सभा निर्वाचनयता यस्ता उम्मेदवारको यो नै सबैभन्दा धेरै संख्या हो। त्यतिबेला १४ प्रतिशत रहेको उनीहरूको संख्या त्यसयता हरेक निर्वाचनमा बढ्दै गएको छ।
देशभरि नै राजनीतिमा अपराधिकरण बढ्दो छ। सन् २०१९ को लोक सभा निर्वाचनमा आपराधिक मुद्दा लागेका उम्मेदवारको संख्या दशकयताकै उच्च थियो।
सबै उम्मेदवारविरूद्ध गम्भीर प्रकृतिका अपराधका मुद्दा छैन। तर त्यस्ता अपराधमा संलग्न उम्मेदवारको संख्या पनि बढ्दै गएको छ। यो वर्ष १५ प्रतिशतभन्दा धेरै उम्मेदवारविरूद्ध गम्भीर प्रकृतिको अपराधसम्बन्धी मुद्दा छन्। सन् २००८ पछि यो नै सबैभन्दा उच्च हो।
यसमा हत्या, हत्याको प्रयास, अपहरण, बलात्कार र महिलाविरूद्ध हुने अन्य प्रकारका अपराध समावेश छ। यो वर्ष ३२ जना उम्मेदवार महिलाविरूद्ध अपराध गरेको मुद्दा खेपिरहेका छन्। तीमध्ये एक जना बलात्कार र चार जनाविरूद्ध हत्याको प्रयास गरेको मुद्दा लगाइएको छ। आठ जनाविरूद्ध ‘हेट स्पिच’को मुद्दा छ।
समग्रमा २० प्रतिशत उम्मेदवारविरूद्ध आपराधिक मुद्दा लगाइनुको अर्थ ठूलो राजनीतिक दलमा त्यस्ता उम्मेदवार धेरै भएको अर्थ लाग्छ। आम आदमी पार्टीका ६० प्रतिशत उम्मेदवारले स्वयं नै त्यस्ता मुद्दा लागेको घोषणा गरेका छन्। भारतीय जनता पार्टी (भाजपा)मा ३९ प्रतिशत र कांग्रेसमा २७ प्रतिशत उम्मेदवारविरूद्ध आपराधिक मुद्दा लागेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालविरूद्ध सबैभन्दा धेरै १३ वटा मुद्दा छन्।
केजरीवाललगायत आम आद्मी पार्टीका उम्मेदवारविरूद्ध लगाइएको आपराधिक मुद्दा केन्द्रको राजनीतिक प्रतिशोधको उपज भएको आम आद्मी पार्टीले जनाएङ्को छ।
‘सन् २०१५ मा शक्तिमा आएदेखि नै केन्द्र पार्टीको पछि लागेको दिल्लीका जनतालाई थाहा छ। उनीहरूले केजरीवाल, सत्येन्द्र जैन र कैलाश गलोटजस्ता मन्त्री र सांसदविरूद्ध एकपछि अर्को मुद्दा लगाए। उनीहरूले केजरीवालको घरमा छापामा पनि मारे। प्रत्येक प्रयास असफल भएका छन्। अदालतमा कुनै प्रमाण पेश भएन,’ आम आदमी पार्टीको दिल्ली एकाइ संयोजक गोपाल रायले भने।
निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेदवारमध्ये ३६ प्रतिशत करोडपति छन्। चार वटा विधान सभा निर्वाचनमा यो नै करोडपतिको सबैभन्दा धेरै संख्या हो। कांग्रेसमा ८३ प्रतिशत, आम आदमी पार्टीमा ७३ प्रतिशत र भाजपामा ७० प्रतिशत उम्मेदवार करोडपति छन्।
यो वर्षको निर्वाचनमा महिला उम्मेदवारको संख्या पनि सन् २००८ यताकै उच्च छ। कांग्रेसका १५ प्रतिशत उम्मेदवार महिला छन्। आम आदमी पार्टीमा १३ प्रतिशत र भाजपामा ९ प्रतिशत उम्मेदवार महिला छन्।
यसपटक अघिल्ला तीन निर्वाचनभन्दा युवा उम्मेदवारको संख्या पनि थोरै बढेको छ।
यो वर्ष मात्रै ८.५ प्रतिशत उम्मेदवार ३० वर्ष उमेरका छन्। बाँकी २७.५ प्रतिशत ३१ देखि ४० वर्ष उमेरका छन्। यो सन् २००८ यताकै न्युन हो। ५० वर्षभन्दा बढि उमेर भएका उम्मेदवारको संख्या उच्च छ।
उच्च शिक्षा हासिल गरेका उम्मेदवारको संख्या पनि बढेको छ। यो वर्षको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका ४५ प्रतिशत उम्मेदवार स्नातक गरेका छन्। यो संख्या सन् २०१५ मा ४० प्रतिशत, सन् २०१३ मा ३६ प्रतिशत र सन् २००८ मा ३२ प्रतिशत थियो। यो अवधिमा साक्षर तर अशिक्षित उम्मेदवारको संख्या घटेको छ।
हामीले महिला र शिख समुदायलाई अधिकतम सिट दिएका छौं। आम आदमी पार्टी र भाजपामा आपराधिक मुद्दा लागेका उम्मेदवारको संख्या उच्च छ। (हिन्दुस्तान टाइम्सबाट)










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
