Kathmandu Press

नेकपा बैठकमा देखिएका १० रोचक किस्सा

काठमाडौं, माघ २० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटीको बैठकमा पा

नेकपा बैठकमा देखिएका १० रोचक किस्सा

काठमाडौं, माघ २० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटीको बैठकमा पार्टी एकता, सरकारको काम कारवाही, एमसीसी लगायतका विषयमा गम्भीर बहस भयो।

पाँच दिन चलेको आइतबार सकिएको केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले विभिन्न विषयको उठान गरे र ती सबै विषयमा गर्मागर्मी बसह भयो। बैठकमा सबैभन्दा चर्चा एमसीसी र नेताहरुको सम्पत्ति छानविनको विषयले पायो। 

११ बुँदे प्रस्ताव पारित गर्दै आइतबार सकिएको दोस्रो केन्द्रीय कमिटीको बैठकमा केही रोचक दृश्य पनि देखिए। 

नेकपा बैठकका १० रोचक किस्सा 

१. नेतृत्व बोल्ने नेता निदाउने

बुधबार पहिलो दिन सभागृहमा आयोजित बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखे। ओलीले सरकारका कामको फेरिहस्त प्रस्तुत मात्रै गरेनन्, यति होल्डिङ्स, एमसीसी लगायतका विषयमा बचाउ समेत गरे। करिब साढे दुई घण्टा बोल्दा बैठकमा उपस्थित नेताले पट्यार मात्रै मानेनन्, निदाए पनि।

उद्घाटनको दिन वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठदेखि पूर्वमन्त्री रघुवीर महासेठसम्मका नेता निदाए। आइतबार समापनका दिन समेत उहीँ कहानी दोहोरियो। ओलीले समापन मन्तव्य राखिरहँदा अर्थमन्त्री डा. युवराज खतिवडा नदाइरहेका थिए।

२. नेतृत्वको फोटो टाँस्दा आपत्ति 

बैठकमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारीको फोटो झुण्डाइएको विषयले समेत निकै चर्चा पायो। श्रेष्ठ र भण्डारीको फोटोसँगै अध्यक्षद्वयको तस्वीर राखिएपछि राजेन्द्र राईले खुलेरै विरोध गरे। बैठक सुरु हुनेबित्तिकै उनले समय मागेर तस्वीर राख्नुको औचित्य पुष्टि गर्न भनेका थिए। 

राईसँगै नेता जगन्नाथ खतिवडा लगायतले अध्यक्षद्वयको तस्वीर राखनुको कारण माग गर्दै विरोध जनाएका थिए। चर्को विरोध भएपछि बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले अबका कुनै पनि कार्यक्रममा अध्यक्षद्वयको तस्वीर हटाएर  माक्र्स र एंगेल्सको तस्वीर राखिने प्रतिबद्धता जनाए।

३. कतै टोली नेताको भिड, कतै गोला प्रथा 

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १५ समूह बनाइए। तर, टोली नेता बन्न केन्द्रीय सदस्यहरूमा अनौठो मोह देखियो। कुनै समूहमा टोली नेताको भिड देखियो भने कतै गोल प्रथा नै भयो।

एकभन्दा बढी आकंक्षी भएपछि समूह नम्बर दुईमा गोला प्रथा भयो। गोलाप्रथाबाट कमला रोका टोली नेता चुनिइन्। समूह नम्बर १० मा टोली नेताको भिडभाड नै लाग्यो। सो समूहको टोली नेता पाँच जना भए। युवराज ज्ञवाली, महेश बस्नेत, यज्ञराज सुनुवार, महबुब अन्सारी र यशोदा अधिकारी टोली नेता चुनिएका थिए।

४. पुरानै पार्टीको ह्याङओभर 

पार्टी एकता भएको २० महिनाभन्दा बढी वितिसकेको छ। तर, नेताहरुमा पुरानै नामको ह्याङओभर देखिएको छ। समूहका तर्फबाट बोलेकी रेणु दाहाल र अनुसन्धान आयोगका अध्यक्ष अमृत बोहोरामा त्यस्तै ह्याङओभर देखियो। समूह  नम्बर १२ की नेतृ रेणु दाहालले बोल्ने क्रममा ‘नेकपा माओवादी केन्द्र’ भनेपछि हलमा हाँसो गुञ्जिएको थियो। यस्तै, बोहोराले ‘हाम्रो पार्टी एमाले’ मा अनुशासन छैन भन्दै बोलेका थिए।

६. सूर्य थापाको काँधबाट ओलीको फायर  

केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाका प्रचार विभागका उपप्रमुख सूर्य थापाले राजनीतिक प्रतिवेदनमा फरक मत पेश गरे। खासगरी उनले राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको ‘अमेरिकाले इन्डोप्यासेफिक रणनीतिका माध्यमबाट चीनलाई घेर्न खोजेको’ भन्ने शब्दावलीमा आपत्ति जनाए।

यस्तै, २९ बुँदे फरक मत राखेका थापाले एकता ओली र प्रचण्डको दृढ, लचक र निर्णायक पहलकदमी तथा जोखिमपूर्ण निर्णय लिनसक्ने क्षमताका कारण सम्भव भएको र कसैले अन्यथा ढंगले अघि बढाउन वा चलखेल गरेर कब्जाको योजनाका साथ अघि बढ्न उपयुक्त हुँदैन भनेर प्रचण्डलाई घुमाउरो शैलीमा कटाक्ष गरेका थिए।  उनको फरक मतलाई धेरैले थापाको काँधमार्फत ओलीले फायर खोलको विश्लेषण समेत गरेका छन्। 

७. महासेठलाई हटाउन केन्द्रीय सदस्यको निवेदन 

पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य रघुवीर महासेठविरुद्ध एक केन्द्रीय सदस्य मैदानमै आर्लिए। महासेठलाई स्थायी कमिटीबाट हटाउन माग गर्दै केन्द्रीय सदस्य श्रीप्रसाद साहले निवेदन नै पेश गरे। साहले स्थायी कमिटी सदस्य हुन कम्तिमा एक पटक पोलिटब्युरो सदस्य भएको हुनु पर्ने विधानमा उल्लेख भएपनि त्यसलाई उल्लंघन गर्दै महासेठलाई स्थायी कमिटीमा राखिएकोमा आपत्ति जनाए। साह महासेठकै गृहजिल्ला धनुषाका हुन्। महासेठको योग्यतामाथि प्रश्न उठाउँदै आफूले यसअघि पनि निवदेन दिएपनि सुनुवाइ नभएको बताए। 

८. शेरधन खोज्दै बालिका सभागृहमा

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई खोज्दै युवा संघकी पूर्व नेतृ बालिका खड्का आइतबार सभागृहमा आइन्। राईले यौन दुर्व्यवहार गरेको आरोप खड्काले लगाउँदै आएकी छन्। सार्वजनिक रुपमै उनले राईलाई यौन दुर्व्यवहारको आरोप लगाउँदै आएकी छन्। सभागृह प्राङ्गनमा उनले सुरक्षाकर्मीलाई प्रधानमन्त्री भेट्छु भनिरहेकी थिइन्। उनले आफ्नो निवेदनबारे प्रधानमन्त्री ओलीलाई थाहा भएकाले भेट्न दिन आग्रह गरेकी थिइन्। तर, प्रहरीले उनलाई रोकेको थियो।

९. विरोधीलाई तह लगाउने ओली कार्ड 

बैठकले विवादित एमसीसीबारे अध्ययन गर्न अध्ययन कार्यदल बनाउने निर्णय गर्‍यो। उक्त कार्यदलमा एमसीसीबारे फरक मत राख्दै आएका दुई नेतालाई नै समावेश गरियो। एमसीसीमाथि विमती राख्ने झलनाथ खनाललाई कार्यदलको संयोजक बनाइयो। त्यस्तै, एमसीसीका खास विरोधीकारुपमा चिनिएका भीम रावललाई सदस्य बनाइयो। एमसीसीका विरोधीहरुलाई नै अध्ययन कार्यदल राख्नुलाई धेरैले विरोधी तह लगाउने अध्यक्ष ओलीको कार्डका रुपमा व्याख्या गरेका छन्। 

१०. दिनभर आचरणको गफ, साँझपरेपछि भोज

केन्द्रीय कमिटी बैठकमा पार्टीका नेताको अपारदर्शी र तडकभड जीवनशैलीबारेमा चर्को आवाज उठेको थियो। त्यतिमात्रै होइन कम्युनिष्ट पार्टीको चरित्र र नेताका आचरणबारे पनि आवाज उठेको थियो। पार्टीका नेताहरु भ्रष्टाचारमा तानिने क्रम बढेकाले सम्पत्ति छानविन समेत गर्नुपर्ने माग समेत बैठकमा उठ्यो। सम्पत्ति छानिवनको जिम्मा बैठकले अनुशासन आयोगलाई दिइयो। बैठकभर आचरणको बहस छेडिएपनि अन्तिम दिन भने प्रधानमन्त्री ओलीले रात्रिभोजको आयोजना गरे।

तर, राजेन्द्र राई, रामकुमारी झाँक्री, हेमराज भण्डारी लेखनाथ न्यौपानेहरुले भने बैठकमा आचरणमा प्रश्न उठाएर भोजभतेरमा रमाउन नहुने भन्दै प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार गरे। 
 

प्रकाशित मिति: १६:०३ बजे, सोमबार, माघ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्