Kathmandu Press

दशकपछि हरियो बत्तीमा हिंड्दै काठमाडौं

काठमाडौं, माघ २० : पाँच दशक अघि सुन्धारा, न्यूरोड गेट, सिंहदबार र दक्षिण ढोका क्षेत्रमा रातो र हरियो

दशकपछि हरियो बत्तीमा हिंड्दै काठमाडौं
रिवाज राई

काठमाडौं, माघ २० : पाँच दशक अघि सुन्धारा, न्यूरोड गेट, सिंहदबार र दक्षिण ढोका क्षेत्रमा रातो र हरियो बत्ती बल्दा यात्रु चकित परेका थिए। बाटो काट्नुभन्दा पनि धेरै यात्रु ट्राफिक लाइट नै हेर्नथाल्थे।

तर, यो क्रम निरन्तर रहेन्। बल्दै र बिग्रिदै गरेका रातो र हरियो बत्ती २०६५ देखि भने बन्दै भयो। सिटी र ट्राफिक प्रहरीको हातको इशारामै सवारी साधानमात्रै होइन, मान्छे पनि हिड्न थाले। पालो पखिर्नुभन्दा पनि मन लाग्दा पैदल यात्रु बाटो काट्ने गरिरहेका थिए।

एक दशकपछि भने फेरि रातो र हरियो बत्ती बल्न थालेको छ। काठमाडौका बासिन्दा हरियो बत्तीमा हिड्न मात्रै होइन, हुइकिन थालेका छन्। ‘काठमाडौंका विभिन्न चोकमा फेरि ट्राफिक बत्ती राखेका छौं, यसले काम गर्न सहज भएको छ,’ ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता भीमप्रसाद ढाकाल भन्छन्।

Hardik ivf

प्रहरीलाई मात्रै होइन, सवारी चालक र पदयात्रीलाई पनि सहज भएको छ। बाटो काट्न सजिलो भएको पैदल यात्री बताउँछन्।

ट्राफिक प्रहरी महाशाखा र सडक विभागको सहकार्यमा उपत्यकाका व्यस्त र मुख्य ६ स्थानका सडकमा बिग्रिएका ट्राफिक लाइट दश वर्षपछि पुन : सञ्चालनमा ल्याएको हो। पुरानो बानेश्वर, मित्रपार्क, कालिमाटी, पद्मोदय चोक, सिंहदरबार अगाडि, गौशला चोकलगायतका क्षेत्रमा ट्राफिक लाइट बल्न थालेका हुन्।

राजधानीका २० ठाउँमा ट्राफिक लाइट रहेका छन्। तिमध्ये अहिले ११ स्थानमा ट्राफिक लाइट बन्ल थालेको महाशाखाले जनाएको छ। गठ्ठाघर, कौशलटार, नयाँ बानेश्वर, नारायणगोपाल चोक, लगनखेललगायतका क्षेत्रमा ट्राफिक लाइटले काम गरिरिहेका छन्।

अहिले भएका ट्राफिक लाइटलाई सञ्चालनमा ल्याउने र आवश्यक ठाउँमा थप्दै जाने योजना रहेको ढकालले बताए। उनका अनुसार, आगामी वैशाखभित्र २९ स्थानमा ट्राफिक लाइट सञ्चालन गर्ने तयारी रहेको छ।

यसअघि सल्लाघारी, गठ्ठाघर, कौशलटार, सिंहदरबार, सुन्धारा, न्यूरोड गेट, राजदरबारको दक्षिण गेट, थापाथली चोक, त्रिपुरेश्वर, कुमारी पाटी, कुलेश्वर, कालिमाटी, लगनखेललगायतका स्थानमा ट्राफिक लाइट जडान गरिएको थियो। यी ठाउँमा बत्ती राख्न जापान सरकारले सहयोग गरेको थियो।

अब केही ठाउँमा बत्ती थप्ने सडक विभागको पनि योजना छ। चावहिल, पुरानो बसपार्क, कोटेश्वर, केशरमहल, मैतिदेवीलगायतका स्थानमा थपिने विभागको भनाइ छ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले चार वर्षअघि ट्राफिक लाइटसम्बन्धी अध्ययन गरेको थियो। अध्ययनअनुसार, ८० ठाउँमा ट्राफिक लाइट जडान गर्नुपर्ने आवश्यकता रहेको छ। यि सबै ठाउँमा ट्राफिक लाइट जडान गर्ने हो भने ट्राफिक जाम ५० प्रतिशत कम गर्न सकिने महाशाखा प्रवक्ता ढकालको भनाइ छ। ‘यसमा सरकारले पनि ध्यान दिनुपर्छ,’ उनी भन्छन्।

५१ वर्ष अघि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले काठमाडौंमा ट्राफिक लाइट जडान गरेको थियो। २०२४ मा जडान गरिएको ट्राफिक लाइटले काठमाडौंको सुन्धारा, न्यरोड गेट, सिंहदबार र दक्षिण ढोकामा सवारी आवागमन गर्न ट्राफिक प्रहरीलाई सहयोग पुगेको थियो।

तर, त्यसयता सरकारले वास्ता नगर्दा अहिले पनि काठमाडौंका अधिकांश चोकमा ट्राफिक प्रहरीले हातको इशारा र सिठ्ठीको भरमा काम गरिरहेका छन्। यसले ट्राफिक जाममात्रै हुँदैन, पैदल यात्रु र ट्राफिक प्रहरीलाई समेत समस्या हुने गरेको छ।

अहिले सञ्चालन भएका ट्राफिक लाइटकै आधारमा आवागमन गर्ने र अझ अन्य ठाउँमा पनि ट्राफिक लाइट जडान गर्ने हो भने राजधानीका सडक थप सुरक्षित र सहज बन्नेछन्। दुर्घटनाका कारण पैदल यात्रीले पनि ज्यान गुमाउनुपर्ने छैन। त्यसका लागि भने हरियो बत्तीमै हिड्नुपर्नेछ।

प्रकाशित मिति: १०:५७ बजे, सोमबार, माघ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्