Kathmandu Press

प्रधानमन्त्री ओलीले भने- एमसीसी छिट्टै पारित हुन्छ

काठमाडौं, माघ १९ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले

प्रधानमन्त्री ओलीले भने- एमसीसी छिट्टै पारित हुन्छ

काठमाडौं, माघ १९ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकीकरण भुलचुकमा नभएको बताएका छन्। 

आइतबार केन्द्रीय कमिटीको बैठक समापनका क्रममा बोल्दै अध्यक्ष ओलीले पार्टी एकीकरण देश र जनतालाई ध्यानमा राखेर गरिएको बताएका हुन्।  उनले पार्टी एकता एक–दुई दिनको घाम छायाँ नभएको पनि बताए। प्रधानमन्त्री ओलीले पार्टी सही नीतिका साथ एकताबद्ध भएर अघि बढेको पनि बताए।  उनले राष्ट्रियता, सार्वभौम सत्ता र सीमानाकाका विषयमा पार्टी स्पष्ट रहेको बताए। 

उनले भने,‘लोकतन्त्रका सवालमा कुनै पनि कमी हुने छैन। जनताका लागि र जनताको सरकार हो। अधिकारको प्रश्नमा मात्र होइन अधिकार प्राप्त गर्ने कुरा र  विना डर बाँच्न पाउन कुराको सुनिश्चितता सरकारले गर्छ। सबै कुरामा सजकताका साथ अघि बढ्छौं।’ 

उनले नेकपा दक्षिणपन्थी उग्रवादी पार्टी नभएको पनि बताए। सरकार पार्टीको नीति अनुसार नै चलिरहेको र सरकारको कामको पार्टीले पनि समर्थन गर्नु पर्ने ओलीको भनाइ छ। ओलीले मुलुकमा भ्रष्टाचार बढेका नबढेको दाबी गरे। ‘भ्रष्टाचार बढेको होइन कारबाही चाहिँ बढेको हो,’ उनले भने,‘भ्रष्टचार निर्मुल पार्न सरकार लागि परेको छ।’ उनले सबैले जनताले मन पराउने व्यवहार गर्नु पर्ने पनि बताए।

‘जिम्मेवारी पायौं भने स्वच्छताका साथ गर्नुपर्छ,’ उनले भने,‘पार्टीले तीन तहमा ६६१ सरकार सञ्चालन गर्नुपर्छ। कोही पनि भ्रष्टाचारमा नपरोस्, कोही फेला परेमा छोडिन्न। ’ उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधि स्वच्छ हुनु पर्ने बताए।

एमसीसीबारे छिट्टै निर्णय हुन्छ

प्रधानमन्त्री ओलीले एमसीसीबारे छिट्टै निर्णयमा पुगिने बताए। ‘एमसीसीका विषयमा अध्ययन तथा सुझाव संकलनका लागि कार्यदल बनाइएको छ। कार्यदलले दिने सुझावका आधारमा हामी निर्णयमा पुग्छौं,’ उनले भने। 

‘मिडियाले मनलाग्दी गुट बनाएर प्रचार गरे’ 

प्रधानमन्त्री ओलीले पार्टीभित्र गुट रहेको भनेर मनलाग्दी प्रचार गरेको आरोप लगाएका छन्। पार्टी एक ढिक्का भएको बताउँदै उनले भने,‘केही सञ्चारमाध्यमले गुट उपगुट भनेर मनलाग्दी गुट बनाएर प्रचार गरेका छन्। तर, त्यस्तो होइन।’ 

उनले पार्टीभित्र छलफल हुँदा नेता भाग लगाएर प्रचार गरिएको र ती सबै अनुचित कुरा भएको बताए। उनले सबै नेताहरु स्वतन्त्र भएको पनि बताए।
 

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, माघ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्