Kathmandu Press

बञ्चरेडाँडामा ल्यान्डफिल साइट बनाइँदै

काठमाडौं, वैशाख १ : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न नुवाकोटको बञ्चरेडाँडामा ल्यान्डफिल साइट बनाउँन लागिएको छ । यसका लागि शहरी विकास तथा भवन न....

बञ्चरेडाँडामा ल्यान्डफिल साइट बनाइँदै

काठमाडौं, वैशाख १ : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न नुवाकोटको बञ्चरेडाँडामा ल्यान्डफिल साइट बनाउँन लागिएको छ । यसका लागि शहरी विकास तथा भवन निर्माण विभागले तयारी सुरु गरेको छ।

सिसडोल ल्यान्डफिल साइट फोहोरले भरिएपछि बञ्चरेडाँडालाई छनोट गरिएको हो । एक वर्षभित्रै बञ्चरेडाँडा ल्यान्डफिल साइट तयार हुने विभागले जनाएको छ।

सरकारले ०६२ मै यसको तयारी सुरु गरेको थियो । तीन वर्षभित्र पूर्वाधार निर्माण गरेर ०६५ बाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य थियो । तर, लक्ष्यअनुसार काम हुन सकेन्।

अहिले काठमाडौं महानगरपालिकालगायत स्थानीय तहहरूले जोड दिएपछि ल्यान्डफिल साइट बन्न लागेको हो । सरकारले यसको जिम्मा पनि विभागलाई दिएको छ।

विभागले संरचना निर्माणका लागि गत महिना टेन्डर आह्वान गरेको थियो । ‘मुल्यांकनको काम सकिएको छ । अब ठेक्का सम्झौता गर्ने तयारीमा छौं,’ विभागका सूचना अधिकारी चन्द्रशेखर अधिकारीले भने, ‘ठेक्का सम्झौता भएपछि काम अगाडि बढ्छ।’

बञ्चरेडाँडालाई सिसडोल ल्यान्डफिल साइटको विकल्पका रुपमा लिइएको छ । यसमा दैनिक ६ सय ७५ मेट्रिक टन फोहोर व्यवस्थापन गर्न सकिने जनाएको छ । अहिले उपत्यकाभित्रको दैनिक आठ सय मेट्रिक टनसम्म फोहोर सिसडोलमा फाल्ने गरिएको छ।

यो साइट सिसडोलजस्तो समस्या नहुँने विभागले जनाएको छ । ‘कुहिने/नकुहिने फोहोर एकै ठाउँमा राख्ने कि फरक भन्ने निर्णय हुन बाँकी नै छ । तर अब बन्ने संचरनाले ३० वर्ष सम्ममा धान्ने छ,’ विभागका सिडिइ मनोज नर्कमीले भने।

यस अघि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को डिजाइनअनुसार, बञ्चरेडाँडा ल्यान्डफिल साइट बनाउन एक अर्ब ८६ करोड लाग्ने अनुमान गरिएको थियो । अहिले भने यसको लागत दुई अर्ब १० करोड हुने अनुमान गरिएको छ।

 

प्रकाशित मिति: १४:२६ बजे, आइतबार, वैशाख १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्