कोलम्बो सागले मोडेको रोकायाकाे जीवन
काठमाडौं, माघ ११ : कुनै पनि नेपाली खेलाडीका लागि जीवनको सर्वाधिक ठूलो लक्ष्य भनेको ओलम्पि

काठमाडौं, माघ ११ : कुनै पनि नेपाली खेलाडीका लागि जीवनको सर्वाधिक ठूलो लक्ष्य भनेको ओलम्पिकमा सहभागिता जनाउनु नै हो। अझ नेपाली खेलाडीका लागि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण जित्नु ठूलो सपना हो। धावक हरिबहादुर रोकायाले पनि त्यही सपना सजाएका थिए आजभन्दा झण्डै ३० वर्षअघि। तर उनको लक्ष्य त्यतिबेला निरासामा बदलियो जतिबेला खेलकुद राजनीतिको सिकार हुन पुग्यो।
सन् १९९१ अघि सागमा मेडल जितेपनि रोकायाले स्वर्ण जितेका थिएनन्। त्यसैले सन् १९९१ को कोलम्बो सागमा उनले सर्वाधिक धेरै मेहनत गरे। तर सोचे जस्तो भएन। रोकाया भन्छन्,‘मैले जीवनमा सर्वाधिक धेरे अभ्यास र मेहनत गरेको प्रतियोगिता भनेकै कोलम्बो सागको तयारी थियो। म्याराथनमा मैले स्वर्ण जित्ने महत्वकांक्ष राखेको थिएँ। तर त्यो बेला ममाथि राजनीति गरियो र मलाई प्रतियोगितामा सहभागी नै गराइएन।’
रोकायाले जीवन पहिलो पटक खेलाडी भएको पश्चताप त्यतिबेला महसुस गरे। रोकाया भन्छन्,‘त्यो बेला मलाई खेलाडी भएको पहिलो पटक ठूलो पछुतो लागेको थियो। तर, उनले हरेस भने खाएनन्। अनि लागे नयाँ अध्यायको गन्तव्यतर्फ । जुम्लामा जन्मिएका रोकायाले आफ्नो माटो र हावापानी सुहाँउदो अल्ट्रा म्याराथनलाई त्यसपछिको गन्तव्य बनाए। विश्व चर्चित म्याराथनका रुपमा रहेको एभरेष्ट म्याराथनतर्फ आफ्नो ध्यान केन्द्रित गरे। लगाब र निरन्तर अभ्यासले खारिएका रोकायालाई हिमाली भेगमा सजिलै दौडिन सक्ने हुन धेरै समय लागेन।
त्यसो त एभरेष्ट म्याराथनको तयारीका क्रममा रोकायाको मेहनत सम्झिँदा आङै सिरिङ् हुन्छ। रोकायालाई आफ्नै जीवनका पुराना याद कुनै फिल्मको थ्रिलर कहानीभन्दा कम लाग्दैनन्। उनी भन्छन्, ‘बिहान ५ बजे जुम्ला बजारबाट निस्किएर रारा पुगेर बेलुका ८ बजे फेरि जुम्ला नै आइपुगेको थिएँ।’ उनले जाँदा ४२ किमी र आउँदा ४७ किमी दौडिए। एभरेष्ट म्याराथन सम्झिँदै उनी भन्छन्, ‘त्यो समयमा बाटोमा हिउँका लप्काहरु हुन्थ्ये। चिप्लियो भने ज्यान नै जान सक्थ्यो। छामेर र सोचेर मात्र दौड्नु पथ्र्यो। अहिले एभरेष्ट म्याराथनको बाटो फरक र सहज बनेको छ।’

अभ्यासले खारिएका रोकायाले पहिलो र दोस्रो सहभागितामा लगातार दोस्रो भए। त्यसपछि नै हो रोकायाका नाममा निरन्तर रेकर्ड बन्न थालेको अर्थात तेस्रोदेखि लगातार पहिलो बनेका उनले एभरेष्ट म्याराथनका ६ संस्करण दौडिए र निरन्तर विजयी भइरहे। एभरेष्ट हाइ अल्टिच्यूड म्याराथनमा छिटो दौड पूरा गर्ने विश्व कीर्तिमान कायम गर्न पनि रोकाया सफल भए।
सन् १९९९ मा हाइअल्टिच्यूडमा हुने एभरेष्ट म्याराथन दौड ३ घण्टा ५६ मिनेट १० सेकेन्डमा दूरी पूरा गर्दै पहिलोपटक गिनिज बुकमा आफ्नो नाम लेखाए। त्यसपछि सन् २००० मा उनले अघिल्लो संस्करणमा भन्दा पनि छिटो दौड्दै ३ घण्टा ५० मिनेट २३ सेकेन्डमा नयाँ विश्व कीर्तिमान बनाए। त्यही विश्व कीर्तिमानले उनको खेल जीवनलाई पुनः एकपटक गौरव गर्न लायक अवस्थामा पुर्यायो। अर्थात कोलम्बो सागले निरस बनेको जीवनमा पुनः पालुवा छायो।
ओलम्पिकका भेट्रान
रोकाया ओलम्पिक सहभागिताको आफ्नो विगत सम्झेर निकै गौरवको महसुस गर्छन्। उनले सिओल र बार्सिलोना ओलम्पिकमा सहभागिता जनाए। दुई पटक नै एसियन गेम पनि भाग लिए। ओलम्पिकमा छनोट हुन एक निश्चित समयमा दौड पूरा गर्नु पर्दथ्यो। जुन रोकायाले पूरा गरे। २ घण्टा २४ मिनेट टाइमिङका साथ उनले बार्सिलोनाको टिकट पक्का गरेका थिए।
उनी भन्छन्, ‘बार्सिलोनामा अत्यधिक गर्मी थियो। अनि हावापानी नमिल्दा मेरो जिउ पुरै पाकेको थियो।’ तर हार नमान्ने स्वभावका रोकायाले औषधि खाएरै बार्सिलोना ओलम्पिकमा दूरी पूरा गरे। त्यतिबेला निर्धारित दूरी पूरा गर्नु नै ठूलो उपलब्धी मानिन्थ्यो। जसमा रोकाया सफल भए। त्यसो त उनले सिओल ओलम्पिकमा पनि दौड पूरा गर्न सफल भएका थिए।

ओलम्पिकमा सहभागी भएर स्वदेश फर्किँदाको त्यो बेलाको क्षण उनको जीवनमा अहिले पनि काँडा बनेर बसेको छ। सम्मानको अपेक्षामा फर्किएका रोकाय जब त्रिभुवन विमानस्थलमा अवतरण गरे। अनि थाहा पाए आफ्नो हुँदा खाँदाको जागिर पनि चट् भएछ भनेर। त्यो क्षण सम्झिँदा अहिलेपनि उनका आँखा रसाउँछन्। रोकाया भन्छन्, ‘२०४६ सालमा बहुदल आयो। हामी बार्सिलोना ओलम्पिकमा सहभागिता जनाएर फर्कँदा हामीलाई मण्डलेको विल्ला भिराएर जागिरबाट निकालेछन्।’
उनी तत्कालीन समयमा राष्ट्रिय खेलकुद परिषदमा सहायक प्रशिक्षकमा कार्यरत रहेका थिए। जागिर गएपछि उनले विकल्पको रुपमा सुरु गरे वायरिङको काम। रोकाया रातभर वायरिङको काम गर्थे अनि दिउँसो अभ्यास। तैपनि उनले हार खाएनन्।
२०५४ मा पुनः केशव स्थापित राखेपको सदस्य सचिव भएपछि उनको पुनर्वहाली भयो। देशका लागि खेल्ने खेलाडीलाई मौका दिनुपर्छ भन्दै स्थापितले जागिरमा फर्काएका थिए। सन् २००३ मा उनले खेलाडीका रुपमा आफ्नो करिअरको अन्त्य गरे। तर दौडलाई निरन्तरता दिए। पहिला जित्नका लागि दौडन्थे अहिले जिताउन दौडन्छन्। उनले जुम्लामा तयार पारेका धेरैले रोकायाको ट्रयाक समाइरहेका छन्।
बिरामीले थलिएपनि फेरि एक पटक उनी जुम्लाका डाँडाकाँडामा खुट नचाउन सक्ने भएका छन्। मुसुक्क हाँस्दै रोकाया भन्छन्, ‘गर्नु पर्ने बाँकी नै रहेछ कठिन रोग लाग्दा पनि मरिएन।’











