नेकपा संस्थापक महासचिव पुष्पलाललाई मरणोपरान्त ‘नेपालरत्न’
काठमाडौं, वैशाख १ : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त ‘नेपालरत्न’द्वारा विभूषित गरेको छ।
काठमाडौं, वैशाख १ : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त ‘नेपालरत्न’द्वारा विभूषित गरेको छ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पुष्पलालकालाई ‘नेपालरत्न’ अर्पण गरेकी हुन् । समारोहमा पुष्पलालका छोरा उमेशलाल श्रेष्ठले विभुषण ग्रहण गरेका थिए।
त्यस्तै राष्ट्रपतिले सङ्गीतज्ञ अम्बर गुरुङलाई मरणोपरान्त महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मानपदवीद्वारा विभूषित गरेकी छन् । समारोहमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मानपदवीद्वारा विभूषित गरिएको छ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) एवं साहित्यकार दिनेशहरि अधिकारी, गायक तथा अभिनेता हरिप्रसाद रिमाल (मरणोपरान्त) र इतिहासकार प्रा. दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी) पदकद्वारा विभूषित गरिएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी), विभिन्न क्षेत्रका एक सय ६२ लाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवीद्वारा विभूषित गरिएको छ।
त्यस्तै, राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत सरकारद्वारा गत वर्ष संविधान दिवसका दिन घोषणा गरिएका विभूषण, मानपद्वी आज प्रदान गरिएको हो।











