नेपाल पनि प्राणघातक कोरोना भाइरसको जोखिममा
काठमाडौं, माघ १० : चीनमा प्राणघातक बन्दै गएको कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिन थालेको छ। यस भाइर
काठमाडौं, माघ १० : चीनमा प्राणघातक बन्दै गएको कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिन थालेको छ। यस भाइरसका कारण शुक्रबारसम्म चीनमा २५ जनाले ज्यान गुमाएका छन् भने ६ सयभन्दा बढी मानिसमा संक्रमण देखिएकाे छ। संक्रमण हुने क्रम बढ्दो छ।
यसको जोखिममा नेपाल पनि रहेको चिकित्सकहरुले बताएका छन्। ‘नेपाल पनि कोरोना भाइरसको जोखिममा छ,’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा.अनुप बास्तोलाले भने।
विश्वव्यापी रुपमा फैलन थालेको यो भाइरस यो वर्ष सर्वप्रथम चीनको वुहान शहरमा देखिएको हो। वुहानमा घुमफिर गर्ने क्रममा यो भाइरसको संक्रमण बढेको पाइएकाे डा. बास्तोलाले बताए।
यो नयाँ भाइरसका रुपमा देखिएको उनले बताए। ‘यो एउटा नयाँ भाईरस हो,’ डा.बास्तोलले भने, ‘सरुवारोगको रुपमा देखिएको यो भाईरस जुनोसिस अर्थात जनावरबाट फैलने भाईरस हो।’
सुरुआतमा जनावरबाट मानिसमा सरेको थियो। अहिले भने मानिसबाट मानिसमा सर्न थालेको छ। जसले गर्दा चीनमा संक्रमितको उपचार गरिरहेका १५ स्वास्थ्यकर्मी समेत बिरामी परेका छन्।
उनी यो भाइरस नेपालमा पनि सर्ने जोखिम रहेको बताउँछन्। ‘वुहान गएका र त्यहाँबाट आएका प्रायः मानिसमा यो भाईरसको संक्रमण देखिएको हुँदा नेपालमा पनि नआउला भन्न सकिन्न,’ डा.बास्तोलाले भने।
वुहानबाट आएका एक नेपाली युवकलाई संक्रमण भएको आशंका गरिएको छ। पुस २८ गते वुहान गएर आएका ति युवकको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। तर, अहिलेसम्म ति युवकलाई कोरोनाभाइरस संक्रमित छ वा छैन भन्ने रिपोर्ट आएको छैन।
तथापि, नेपालमा पनि सतकर्ता अपनाउनु पर्ने डा.बास्तोलाको भनाइ छ। यसका लागि व्यवस्थापकीय पक्ष बलियो बनाउनु पर्ने उनी बताउँछन्।
चीनबाट सुरू भएको यो भाइरस अन्य देशमा पनि फैलिएकाे छ। चीन ओहोरदोहोर गरेका विभिन्न देशका नागरिकससँगै यो भाइरस पनि ति देशमा पुगेको पाइएकाे हाे।
शुक्रबार बिहानसम्मको रिपोर्टअनुसार, चीनमा २५ जनाको मृत्यु भएको छ भने ६ सय ४४ जनामा संक्रमण भएको छ।
त्यस्तै, चीनबाट विभिन्न देशमा पनि काेराेना भाइरस पुगेको छ। शुक्रबारसम्म चीन नजिकका देश थाइल्यान्डमा तीन, दक्षिण कोरियामा एक, जापानमा एक, ताइवानमा एक, भियतनाममा दुई र सिंगापुरमा एक जनामा संक्रमण देखिएको छ। त्यस्तै, चीनबाट अमेरिका पुगेका एक जनामा पनि कोरोना दभाइरसको संक्रमण देखिएको छ।
चीनको वुहान शहरमा कडाइ अपनाइएको छ। सार्वजनिक यातायात सेवा बन्द गरिएको छ। सकभर घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ।
नेपालमा पनि यसको जोखिमबाट बच्न सतर्कता अपनाउनुपर्ने डा.बास्तोलाको भनाइ छ। ‘जोखिममा छौं, त्यसैले सतर्क हुनु जरुरी छ,’ डा.बास्तालो भन्छन्।
कोरानाभाइरसबारे डा. अनुप बास्तोलासँग गरिएको कुराकानी आधारित थप जानकारी :
के हो कोरोना भाईरस?
कोरोना भाइरस एक प्रकारको यस्तो भाईरस हो, जसले मानिसमा विभिन्न प्रकारको रोगहरु निम्त्याउने गर्छ। यो सामान्यतया रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुमा बढी देखिन्छ।
साथै शिशु र बृद्धबृद्धामा यो अधिक देखिने गरेको छ। चिसो मौसममा यसको अत्यधिक खतरा रहन्छ। यसले निमोनिया, स्वाँसप्रस्वाँसमा समस्या, पेटसम्बन्धी समस्या, टाउकोसम्बन्धी समस्याहरु निम्त्याउने गर्छ।
कोरोना भाइरसका लक्षणहरू के के हुन्?
नाकबाट पानी बग्ने। टाउको दुख्ने। खोकी लाग्ने।
ज्वरो आउने। घाँटीसम्बन्धी समस्या देखिने।
कमजोरी तथा थकान महसुस हुने।
स्वाँसप्रस्वाँसमा समस्या हुने। पेटसम्बन्धी समस्या हुने।
कोरोना भाइरस कसरी सर्छ?
यो भाइरस सामान्यतया संक्रमित व्यक्तिबाट अरूमा फैलिन्छ। यसको मुख्य स्रोत भनेकै जनावर हुन्। गाई, सुँगुर, कुखुरा, चराहरू विशेषत: यो भाइरसबाट संक्रमित हुन्छन् र संक्रमित जनावरको सम्पर्कबाट यो मानिसकाे शरीरमा प्रवेश गर्छ।
संक्रमित व्यक्तिहरुको सामान्य सम्पर्कबाट पनि यो फैलने हुँदा बढी सजकता अपनाउन जरुरी छ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन के गर्ने?
अधिकांश व्यक्तिहरू आफ्नो जीवनकालमा एक वा बढी साधारण मानवीय कोरोना भाइरसहरूबाट संक्रमित हुन्छन्। विशेषत साना बच्चा र बृद्धबृद्धा संक्रमित हुने सम्भावना बढी हुन्छ।
मानिसमा उनीहरूको जीवनकालमा बहुसंक्रमणहरू हुनसक्छ। यसको निवारणका लागि हालसम्म पनि कुनै भ्याक्सिनहरु उपलब्ध नभएको हुँदा तल उल्लेखित कार्यहरूमा ध्यान दिँदा कोरोना भाईरसको संक्रमणबाट जोगिन सकिन्छ।
बिरामी मानिसहरूसँग नजिकको सम्पर्कबाट टाढा रहनुपर्छ।
खाना अघि कम्तिमा २० सेकेन्डसम्म हात धुनुपर्छ।
सम्भाव्य संक्रमित जनावरहरूको सम्पर्कबाट टाढा रहनुपर्छ।
मास्क लगाएर हिड्ने गर्नुपर्छ।
लक्ष्यण देखा परेमा तत्कालै चिकित्सकसँग सल्लाह लिनुपर्छ।