३३ करोड खर्चिएको शहीद पार्क तयार नभई भत्किँदै
काठमाडौं, माघ ७ : काठमाडौं उपत्यकावासीलाई खुल्ला आकाशमा स्वास फेर्न र रमाउन जोरपाटीनजिकै गोकर्णेश्वर

काठमाडौं, माघ ७ : काठमाडौं उपत्यकावासीलाई खुल्ला आकाशमा स्वास फेर्न र रमाउन जोरपाटीनजिकै गोकर्णेश्वर जगडोलस्थित थुम्कोमा हरियो जंगल छ। साघुँरो सडकमा ओहोरदोहोर गर्ने पैदलयात्रीलाई समेत यो हरियाली आकर्षित गरिहाल्छ छ। केहीबेर आराम गर्न होस कि टहल्न, बालबालिकादेखि बृद्धबृद्धासम्म थुम्कोमा उक्लेकै हुन्छन्।

तर, त्यसको संरक्षण र सम्बद्र्धन भने हुनसकेको छैन। त्यहाँ बनाउने भनेको राष्ट्रिय शहीद तथा शान्ति पार्क १२ वर्षदेखि अधुरै छ। पार्क निर्माणका लागि ३३ करोड रुपैयाँ खर्च भइसकेको छ। अझै तयार भएको छैन। बरु निर्माण गरिएका संरचना भत्किन थालेका छन्।
२०६४ देखि शहीद पार्क निर्माणको काम सुरू भएको थियो। सात वर्षमान निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पार्क १२ वर्षसम्म आधा पनि भएको छैन। स–साना भवन निर्माणाधीन अवस्थामा छन्। यस अघि निर्माण गरिएका भवन जीर्णजस्तै बनेका छन्। त्यस वरिपरि लगाएको पर्खाल भत्किन थालेको छ।
यो पार्कको निर्माणको सुरूआत शान्ति तथा पुनःनिर्माण मन्त्रालय गरेको थियो। समयमा पार्क त निर्माण भएन, बरु २०७२ मन्त्रालयनै खारेज भयो। यसको जिम्मा शहरी विकास मन्त्रालयले पाएको छ।
तर, शहरी विकास मन्त्रालयले निर्माणको कामलाई अगाडि बढाउन नसकेको स्थानीय वासिन्दाको गुनासो छ। पार्क निर्माण तथा व्यवस्थापन समितिका महासचिव चित्रलोचन पौडेल शहरी विकासले निर्माणको कामलाई प्रथामिकता नदिएको बताए। ‘२०७१ मै सकिनु पर्ने हो, तर मन्त्रालयले प्राथमिकता नदिँदा अझै कहिले सकिने हो टुंगो छैन,’ महासचिव पौडेलले भने।
उनका अनुसार अहिलेसम्म ४० प्रतिशत काम भएको छ। तर, अब कहिले निर्माण पूरा हुने टुंगो छैन। व्यवस्थापन समितिले पटक पटक निर्माणको लागि शहरी विकास मन्त्रालय आग्रह गर्दा पनि वास्ता नगरेको उनले बताए। ‘पार्क हरियाली बनाउने, भवनहरू निर्माण गर्ने, चार शहीदको आकृति बनाउने, स्लेटमा शहीदका नाम राख्नेलगायतका थुप्रै काम बाँकी छन्,’ महासचिव पौडेलले भने, ‘शहीदका नामावलीको दस्तावेज तयार पार्ने, रंग लगाउने, आन्तरिक साजसज्जाको काम बाँकी छ।’ शहीद संग्रहालयको काम भने लगभग अन्तिम चरणमा पुगेको छ।
शहीद पार्कमा बनेका थुप्रै संरचना अधुरै छन्। वरिपरि लगाएको पर्खाल भत्किएकाले पुनःनिर्माण गर्नुपर्ने भएको उनले बताए। मन्त्रालयको लापरबाहीले एउटै संरचना पटकपटक निर्माण गर्नुपरिरहेको उनको भनाइ छ।
के भन्छ सहरी विकास ?
शहरी विकास तथा भवन निर्माण विभागले २०७३ मा यसको जिम्मा लिएको थियो। चालु आर्थिक वर्षको अन्त्यसम्म आधा बनेर छोडिएका भवनलाई निरन्तरता दिदै आगामी आर्थिक वर्षबाट बाँकी योजनाको काम गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन एकाइका सिनियर डिभिजन इन्जिनियर मताकाजी महर्जनले बताए। ‘हामीले पुराना बाँकी रहेको काम गर्न नयाँ कन्ट्रयाक्टरलाई जिम्मा दिएका छौं। पहिला नै काम गरि रहेका व्यक्तिहरुलाई बोलाएर कामबारे छलफल थालिएको छ,’ महर्जनले काठमाडौं प्रेससँग भने, ‘सबै तीव्र गतिमा कामलाई अगाडि बढाई चालु आर्थिक वर्षको अन्त्यसम्म सक्नेछौं।’
आगामी दिनमा काम गर्नको लागि ५० लाख बजेट विनियोजन गरिएको उनले बताए। तर, पुराना संरचनालाई पुनःमर्मत तथा निर्माण गर्नुपर्ने भएकाले रकम थप्नुपर्ने उनको भनाइ छ। असारसम्ममा पुराना काम सकेपछि मात्र नयाँ कामको थालनी गर्ने योजना मन्त्रालयको छ।
सरकारले ठूल–ठूला योजनालाई प्रथामिकतामा राख्दै गर्दा शहीद पार्क निर्माणको काममा केही ढिलाई भएको उनको भनाइ छ। व्यवस्थापन समितिले पनि राम्रोसँग काम नगर्दा ढिलाइ भएको उनको आरोप छ।
४२ करोडको योजना, ३३ करोड सकिँयाे, ४० प्रतिशतमात्रै काम
शहरी विकास मन्त्रालयको आयोजना कार्यान्वयन एकाइका अनुसार, शहीद पार्क निर्माणमा अहिलेसम्म ३३ करोड सकिएको छ। २०६४ मा सुरुआत गर्दा ४२ करोडमा सम्पन्न गर्ने योजना बनाइएको थियो।
अहिलेसम्म ४० प्रतिशत काममा मात्रै सकिएको छ। निर्माणमा ढिलाइ भएकाले रकम पनि बढ्ने जनाएको छ। निर्माणमा निकै ढिला भएका कारण पहिला निर्माण गरिएको संरचना पुनःनिर्माण गर्नुपर्ने भएकाले रकम नपुग्ने महासचिव पौंडेलले बताए।
कति क्षेत्रफलमा बन्दैछ पार्क?
यो पार्कलाई चार क्षेत्रमा छुट्याएर निर्माण भइरहेको छ। स्मारकको ६ सय ५० रोपनी क्षेत्रफलमध्ये १५ रोपनीलाई धार्मिक क्षेत्र, शहीदको स्मृति ७२ रोपनीमा बन्नेछ ।
त्यस्तै, एक सय ७२ रोपनीमा मनोरञ्जन क्षेत्र, ५२ रोपनीमा संस्थागत क्षेत्र र तीन सय ३९ रोपनीमा संरक्षित क्षेत्र निर्धारण गरिएको छ।
अहिले २५ लाख आम्दानी
अहिले पार्क निर्माण भइसकेको छैन। तैपनि आम्दानी भने हुन थालिसकेको छ। अहिले मूख्य गेट बनेको छ। पार्कभित्र जान सिँढी र कच्ची सडकको व्यवस्था गरिएको छ। विशेषगरि पिकनिकको लागि धेरै मान्छे आउने गरेका छन्।
व्यवस्थापन समितिले पार्क प्रवेशमा शुल्क लिने गरेको छ। प्रतिव्यक्ति १० रुपैयाँ लिने गरिएको छ। अहिले यसबाट वार्षिक २५ लाख संकलन हुने गरेको महासचिव पौड्यालले बताए। उनको अनुसार, यो रकम सरसफाइ, कर्मचारी र संरक्षणमा खर्च हुने गरेको छ।
शहीद पार्कभित्र गोकर्णेश्वर पार्क
शहिद पार्कभित्र गोकर्णेश्वर नगरपालिकाभित्र छुट्टै पार्क निर्माण गरिरहेको छ। शहीद पार्कभित्रै गोकर्णेश्वर पार्क निर्माण गर्न लागेको मेयर सन्तोष चालिसेले बताए।
उनका अनुसार सरकारको अनुमति लिएर पार्क निर्माण गर्न लागिएको हो। आगामी दुई महिनाभित्र काम सम्पन्न हुने उनले बताए।












-(86)-1764936079.jpg)