उपसभामुख डा.शिवमाया तुम्बाहाङफेद्वारा राजीनामा
काठमाडौं, माघ ६ : उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन्। उनले सोमबार २ बजे संसद सचिवा

काठमाडौं, माघ ६ : उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन्। उनले सोमबार २ बजे संसद सचिवालयमा राजीनामा पत्र बुझाएकी छन्।
राजीनामा दिनु अघि उनले प्रतिनिधिसभामा आफ्नो धारणा राखेकी थिइन्। उनले संसदमा आफूले पदबाट राजीनामा दिन लागेको जानकारी दिएकी थिइन्। त्यतिवेला उनको गला अवरुद्ध भएको थियो।
‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले आफ्नो नेतृत्व दाबा गरेको अवस्था, हाम्रो प्रचलित संवैधानिक व्यवस्थाका आधारमा त्यसलाई कार्यान्वयनका लागि मैले सहजिकरण गर्नु आवश्यक भएको छ,’ उपसभामुख तुम्बाहाङफेले गला अवरुद्ध भएपछि केहीबेर रोकिएर भनिन्, ‘त्यसैले मैले, अँ, यसै अनुसार मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु।’
उनले उपसभामुखका रुपमा आफूले विताएको दुई वर्ष स्मरण रहेको बताइन्। उनले भनिन, ‘उपसभामुखको रुपमा विगत झण्डै दुई वर्षसम्म माननीय सदस्यसँग विताउन पाएको अवधि मेरो जीवनमा अवस्मरणीय र सुखद अवधिका रुपमा स्मृतिमा रहेछ।’
आफू एकल महिला तथा जनजाती पृष्ठभूमिबाट आएर संसदको नेतृत्व गर्न पाएकोमा खुशी जनाइन्। ‘एउटा महिला, त्यसमध्ये पनि एकल अवस्थामा रहेको र जनजाती पृष्ठभूमिबाट आएको मजस्तो व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने यस सर्वोच्च र गरिमामय अंगको नेतृत्व गर्न पाएको अवसरलाई अत्यन्तै महत्वपूर्ण अवसर ठानेकी छु,’ उनले भनिन्।
संसदको अर्को बैठक आजै अपराह्न ४ बजे बस्नेछ। त्यसमा सभामुख निर्वाचनको प्रक्रिया सुरू हुने जनाएको छ।











