Kathmandu Press

एमएम कपले देखाएको एकदिवसीय क्रिकेटको सक्कली अनुहार

काठमाडौं, माघ ६ : सुनसरीको इनरुवाामा हालै सम्पन्न मनमोहन मेमोरियल (एमएम) राष्ट्रिय क्रिकेट प्रत

एमएम कपले देखाएको एकदिवसीय क्रिकेटको सक्कली अनुहार

काठमाडौं, माघ ६ : सुनसरीको इनरुवाामा हालै सम्पन्न मनमोहन मेमोरियल (एमएम) राष्ट्रिय क्रिकेट प्रतियोगितालाई नेपालमा आकलझुकल हुने एकदिवसीय श्रृंखलामा अर्थपूर्ण मानियो।

आयोजकले पनि दुर्लभ हुने एकदिवसीय प्रतियोगिता क्रिकेट विकासका लागि कोसेढुंगा हुने विश्वास लिएको बतायो। स्वभाविक किन पनि हो भने मोफसलमा हुने राष्ट्रियस्तरको प्रतियोगिता त्यो पनि एकदिवसीय आयोजना हुनु आफैँमा ठूलो कुरा थियो।

विशुुद्ध क्रिकेट खेलाडीहरुलाई एकदिवसीयमा पनि अभ्यास होस् र नयाँ खेलाडीले पनि अवसर पाऊन् भन्ने पवित्र उद्देश्य राखेको आयोजकले बताएको थियो। उसले आकर्षक रुपमा विजेतालाई ४ लाख ५ हजार र उपविजेतालाई २ लाख ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था पनि गर्‍यो।

कमाउनकै लागि गरिने टी–२० फ्रेन्चाइजभन्दा फरक उद्देश्य राखेको यो प्रतियोगिता सफततापूर्वक सम्पन्न त भयो। तर, यसले हाम्रो एकदिवसीय क्रिकेटमा बढ्दो उदासीनता छर्लङ्ग पारेको छ।

प्रतियोगिता नतिजाका हिसावले साविक विजेता नेपाल आर्मी फेरि एक पटक च्याम्पियन बन्यो। तर तामझामका साथ हुने टी–२० फ्रेन्चाइजको लतमा परेका नेपालीका लागि यो एकदिवसीय क्रिकेट भने धेरैको नजरमा परेन। अझ चर्चाको हिसावले एकदमै कमजोर प्रतियोगिता सावित भयो।

राष्ट्रिय खेलाडीले नै दिएन महत्व

एकदिवसीय क्रिकेट विश्व क्रिकेटको सर्वाधिक कन्सिस्टेन्ट फरम्याटका रुपमा हेरिन्छ। क्रिकेटको खास स्वरुप मानिने यो एकदिवसीय (५० ओभर) खेलबाटै खेलाडीहरुको असली परीक्षा हुन्छ।

आईसीसीले एकदिवसीय क्रिकेटलाई अन्य विधाहरु (टेस्ट र टी–२०) को तुलनामा बढी महत्व दिँदै आएको छ। हरेक देशको क्रिकेटको प्रतिष्ठा भनेकै एकदिवसीय खेलमा हुने प्रदर्शनसँग जोडिएको हुन्छ। 

तर नेपालमा दुलर्भ हुने एकदिवसीय प्रतियोगितामा खेलाडीका लागि ५० ओभर पुरै खेल्नु नै चुनौती हुने गरेको छ। जुन यो प्रतियोगितामा पनि देखिएको छ। जहाँ कुनै पनि खेलमा पूरा  ओभर खेलाडीले खेल्न सकेनन्। 

एकदिवसीय क्रिकेटलाई उठाउन हुने यस्ता प्रतियोगितालाई राष्ट्रिय क्रिकेट टोलीले ठूलो  महत्व दिनुु पर्ने हो। तर विडम्बना धेरै राष्ट्रि«य खेलाडीले यो प्रतियोगितामा सहभागिता नै जनाएनन्। कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले नखेलेको प्रतियोगितालाइ अन्य स्टार खेलाडीले पनि महत्व दिएनन्।

कमजोर प्रदर्शन 

प्रतियोगितामा यो पटक विभागीयसहित प्रदेशस्तरका टिमलाई सहभागी गराइएको थियो। जुन प्रतियोगितामा विभागीय टोलीका बर्चश्व देखियो।

चार समूहमा विभाजन गरिएको समूहको पुछारमा रहेका टिमले एक खेल पनि जितेनन्। एमएमसीसी इनरुवा (आयोजक टिम), कर्णाली प्रदेश, प्रदेश नम्बर पाँच र गण्डकी प्रदेश जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएका थिए। उनीहरु बाहिरिँदा समूहका अन्य प्रतिस्पर्धीको पनि प्रदर्शन फितलो थियो।

एक खेलाडीको शतक

आर्मीका खेलाडी कुशल मल्लले एपिएफविरुद्ध समूह चरणको खेलमा प्रहार गरेको शतक प्रतियोगिताकै एकमात्र शतक बन्यो। अन्य कुनै पनि खेलाडीले शतक पूरा गर्न सकेनन्।

चौंथो नम्बरमा आएका मल्लले ६३ बलमा ५ चौका र १३ छक्का प्रहार गर्दै १११ रन बनाएका थिए। उनै मल्ल प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बने। उनले प्रतियोगितामा सर्वाधिक १९६ रन बनाएका थिए।

प्रतियोगिताका १३ अर्धशतक

एकदिवसीय क्रिकेटमा कुल प्रतियोगिता अवधिभर केवल १३ अर्धशतक प्रहार भए। जसमा दीपेन्द्र सिंह ऐरीले दुई अर्धशतक प्रहार गर्दा सुवास खकुरेल, कुशल भुर्तेल, सुमित महर्जन, हसिम अनसारी, अनुल हाकिम (मलेसिया), सोनु तामाङ, सुनिल धमला, विशाल सुस्लिङ, पुष्प थापा, भिरनदिप सिंह (मलेसिया) र विभी सेभ (मलेसिया) ले समान एक–एक अर्धशतक प्रहार गरेका थिए।

कमजोर ब्याट्सम्यान, चम्किएका बलर

ब्याट्सम्यान निरीह बनेको प्रतियोगितामा बलर हाबी हुनु स्वभाविक हो। प्रतियोगितामा त्यस्तै भयो। एमएम कपमा पनि बलर सुशान्त भारी प्लेयर अफ द टुर्नामेन्ट घोषित भए।  उनले चार इनिङमा ७ मेडनसहित ८५ रन खर्चिएर १५ विकेट लिएका थिए। जुन २.८६ को इकोनोमी हो।

त्यस्तै, विनोद लामाले तीन इनिङमा १४ विकेट लिँदै किफायति बलिङ गरे। अन्य बलरको पनि प्रदर्शन लोभलाग्दो रह्यो। तर, ब्याटिङ नचल्दा नेपालको सधैंको समस्या अझै पनि उस्तै रहने देखिन्छ।

यस्तो रह्यो नतिजा

पहिलो खेलः ३१.२ ओभरमा प्रदेश एक १२० रनमा अलआउट। जवाफमा १८ ओभरमा प्रदेश पाँच ५२ रनमा अलआउट। प्रदेश एक ६८ रनले विजयी।
दोस्रो खेलः ४५.३ ओभरमा वागमती प्रदेश १८९ रनमा अलआउट। तर प्रदेश पाँचले ९ रन बनाउँदा वर्षा। नतिजा नो रिजल्ट।
तेस्रो खेलः  २८ ओभरमा घटाइएको खेलमा प्रदेश एक निर्धारित ओभरमा १४४ रनमा अलआउट। वागमती प्रदेश २६ ओभरमा १४७–३ बनाएर ७ विकेटले विजयी।
चौंथो खेलः ४६ ओभरमा घटाइएको खेलमा त्रिभुवन आर्मी ४६ ओभरमा २८१ रनमा अलआउट। जवाफमा एपिएफ ३९.३ ओभरमा १७३ रनमा अलआउट। आर्मी १०८ ले विजयी।
पाँचौ खेलः ४५ ओभरमा घटाइएको खेलमा एपिएफको ४३.४ ओभरमा २०४ रन। जवाफमा इनरुवा ३६ ओभरमा १२१ मा अलआउट। ८३ रनले एपिएफ विजयी।
छैटौं खेलः इनरुवा १९.३ ओभरमा ५६ रनमा अलआउट। एपिएफ ५ ओभरमा विनाविकेटको क्षतिमा ५७ रन जोड्दै १० विकेटले विजयी।
सातौं खेलः ४९.३ ओभरमा नेपाल पुलिस ३४६ रनमा अलआउट। जवाफमा कर्णाली २७.१ ओभरमा ७९ रनमा अलआउट। २६७ रनले पुलिस विजयी।
आठौं खेलः २२ ओभरमा मलेसिया सेलेक्सन एघार ४९ रनमा अलआउट। सुदूरपश्चिम ७.२ ओभरमा २ विकेट गुमाएर ५० रन बनाउँदै ८ विकेटले विजयी।
नवौं खेलः ४९ ओभरमा घटाइएको खेलमा नेपाल पुलिस क्लब ४८.१ मा १८३ मा अलआउट। जवाफमा प्रदेश दुई ४२.२ ओभरमा १३७ मा अलआउट। ४६ रनले पुलिस विजयी।
दशौं खेलः ४७ ओभरमा घटाइएको खेलमा मलेसिया सेलेक्सन एघार २२ ओभरमा ४९ रनमा अलआउट। जवाफमा सुदूरपश्चिम ७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ८ विकेटले विजयी।
एघारौं खेलः ४७ ओभरमा घटाइएको खेलमा गण्डकी २३.३ ओभरमा ६४ रनमा अलआउट।  जवाफमा सुदूरपश्चिम १०.२ ओभरमा एक विकेट गमाएर लक्ष्य पूरा गर्दै ९ विकेटले विजयी।
बाह्रौं खेलः ४७ ओभरमा घटाइएको खेलमा मलेसिया सेलेक्सन एघार ८ विकेट गुमाएर २९८ रन। जवाफमा गण्डकी २७.२ ओभरमा १०६ मा अलआउट। मलेसिया १९२ रनले विजयी। 
पहिलो सेमिफाइनलः ४७ ओभरमा घटाइएको खेलमा आर्मी ४६.३ ओभरमा २१६ रनमा अलआउट। जवाफमा प्रदेश तीन ३८.१ ओभरमा १५२ रनमा अलआउट। आर्मीको ६४ रनले विजयी।
दोस्रो सेमिफाइनलः पुलिस ४९ ओभरमा २२९ रनमा अलआउट। जवाफमा  ३३.४ ओभरमा सुदूरपश्चिम १३० मा समेटिदा पुलिस ९९ रनले विजयी।
फाइनलः आर्मी ४८.५ ओभरमा १८४ मा अलआउट। जवाफमा २४.४ ओभरमा पुलिस ९९ रनमा अलआउट। आर्मी ८५ रनले विजयी।
 

प्रकाशित मिति: १०:३४ बजे, सोमबार, माघ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्