Kathmandu Press

प्रधानमन्त्री नौ दिनपछि आज बालुवाटार फर्किँदै

काठमाडौं, मंसिर १९ : प्रधानमन्त्री केपी शर्मा ओली नौ दिनपछि आज बालुवाटार फर्किन लागेका छन्। उनलाई के

प्रधानमन्त्री नौ दिनपछि आज बालुवाटार फर्किँदै
फाइल फोटो

काठमाडौं, मंसिर १९ : प्रधानमन्त्री केपी शर्मा ओली नौ दिनपछि आज बालुवाटार फर्किन लागेका छन्। उनलाई केहीवेरमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओली पेट दुखेपछि मंसिर १० गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित मनमोहन कार्डियोथोसिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। एपेन्डिसाइटिस भएको देखिएपछि शल्यक्रिया गरिएको थियो।

त्यससँगै मिर्गौलाको पनि डायलासिस गर्नु पर्ने भएको थियो। जसले गर्दा सेन्टरमै उपकरण जडान गरेर मिर्गौलाको डायलासिस गर्न थालिएको थियो।

उनलाई आजसम्म पनि सघन उपचार कक्ष (आईसीयू)मै राखेर उपचार भइरहेको छ। स्वास्थ्यमा सुधार आएकाले आज डिस्चार्ज गर्न लागिएको कार्डियोथोसिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।

उनलाई बुधबार साँझ नै डिस्चार्ज गर्ने तयारी गरिएको थियो। तर, मिर्गौलाको डायलासिस गर्नु पर्ने भएपछि बिहीबारसम्म राख्नु परेको जनाएको छ। आज पनि डायलासिस गरेर डिस्चार्ज गर्न लागिएको हो।

चिकित्सकले भने अझै केही दिन अस्पतालमै बस्नु पर्ने बताएका थिए। तर, प्रधानमन्त्री ओलीले डिस्चार्ज गर्न आग्रह गरेपछि चिकित्सकहरु सहमत भएको अस्पताल स्रोतले जनाएको छ।

डिस्चार्ज गरिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी पनि प्रधानमन्त्री ओलीलाई भेट्न दाेस्राे पटक अस्पताल पुगेकी छन्।

प्रकाशित मिति: १४:३८ बजे, बिहीबार, मंसिर १९, २०७६