डायलासिस गर्नुपर्ने भएपछि प्रधानमन्त्रीलाई भोलिमात्रै डिस्चार्ज गरिने
काठमाडौं, मंसिर १८ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलाको डायलासिस गरेपछि बिहीबारमात्रै अस्पता
काठमाडौं, मंसिर १८ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलाको डायलासिस गरेपछि बिहीबारमात्रै अस्पतालबाट डिस्चार्ज गरिने भएको छ।
बुधबार साँझ डिस्चार्ज गर्ने तयारी गरिएपनि डायलासिस गर्नुपर्ने भएपछि भोलि (बिहीबार) डिस्चार्ज गर्ने योजना उपचारमा संलग्न चिकित्सकहरुले बनाएका छन्।
प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौैलाको डायलासिस गरेर २४ सै घण्टा चिकित्सकको निगरानीमा बस्नेगरी भोलि दिउँसो डिस्चार्ज गर्ने तयारी गरिएको छ।
‘प्रधानमन्त्रीज्यूको भोलि डायलासिस गर्नुपर्ने तालिका भएकाले त्यसपछि मात्रै डिस्चार्ज गर्ने उहाँको मेडिकल नोटमा उल्लेख छ’ ति चिकित्सकले काठमाडौं प्रेससँग भने, ‘आज उहाँका केही परीक्षण र विज्ञ चिकित्सकबाट अब्जरभेसन भएको छ।’
यसअघि प्रधानमन्त्री ओलीकै जोडबलमा आजै डिस्चार्ज गर्ने तयारी चिकित्सकहरुले गरेका थिए। तर केही रगतको परीक्षण गरेपछि भोलि नै मिर्गौलाको पनि डायलासिस गर्नुपर्ने भएकाले डिस्चार्ज एक दिन पछि सारिएको हो।
एक साताअघि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो।
शल्यक्रिया गर्दाको पेटको घाउ निको नभएको, रगतमा अक्सिजन र प्लेटेलेट्सको मात्र कम भएको, सुगर पनि तलमाथि भइरहेको र नियमित डायलासिस गर्नुपर्ने भएकाले प्रधानमन्त्री ओलीलाई तत्काल डिस्चार्ज गर्न नमिल्ने भएपनि चिकित्सकहरुले बालुवाटारमै २४ सै घण्टा चिकित्सकको निगरानीमा राख्ने गरी डिस्चार्ज गर्ने तयारी गरेका हुन्।






