प्रधानमन्त्री आजै अस्पतालबाट डिस्चार्ज हुने तयारीमा
काठमाडौं, मंसिर १८ : विगत एक सातादेखि एपेन्डिसाईटिस्काे शल्यक्रिया गरेर अस्पतालमा भर्ना भएका प्
काठमाडौं, मंसिर १८ : विगत एक सातादेखि एपेन्डिसाईटिस्काे शल्यक्रिया गरेर अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई डिस्चार्ज गर्न चिकित्सकहरुलाई आग्रह गरेका छन्। चिकित्सकीय दृष्टिकोणबाट प्रधानमन्त्री ओलीलाई अझै कम्तिमा एक हप्ता अस्पताल राखेर उपचार गर्नुपर्ने भएपनि आफु अस्पताल बस्दा सन्देश राम्रो नगएको विष्लेषण सहित उनले डिस्चार्ज गर्न आग्रह गर्दै आएका हुन्।
शल्यक्रिया गर्दाकाे पेटको घाउ निको नभएकाे, रगतमा अक्सिजन र प्लेटेलेट्सको मात्र कम भएको, सुगर पनि तलमाथि भैरहेकाे र नियमित डायलासिस गर्नुपर्ने प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज गर्न नमिल्ने भएपनि चिकित्सकहरुले बालुवाटारमै २४ सै घण्टा चिकित्सकको निगरानीमा राख्ने गरी डिस्चार्ज गराउने तयारी गरेका छन्।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार आज साँझसम्ममा प्रधानमन्त्रीलाई मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज गर्ने तयारी छ। 'एपेन्डिसाईटिस् फुटेर पेटभरी फैलिएको विरामीलाई पूर्णरुपमा संक्रमण अन्त्य नभई डिस्चार्ज गर्न मिल्दैन,' ति चिकित्सकले भने, 'त्यसमा पनि भीभीआईपी व्यक्तिलाई घाउ निको नभएको र संक्रमण पूर्णरुपमा अन्त्य नभएसम्म अस्पतालिय केयरको आवस्यकता हुन्छ । तर प्रधानमन्त्रीज्यू र उहाँका सचिवालयका व्यक्तिहरु छिटो डिस्चार्ज गराउन लागिरहनु भएको छ।'
बालुवाटारमै आईसीयू !
प्रधानमन्त्रीको नियमिति डायलासिस गर्नुपर्ने भएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्रै आईसीयू सरहको सुविधा सहितको कक्ष निर्माण गरिएको छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री निवासकै माथिल्लो तलाको एक कोठामा सम्पूर्ण सुविधा सहित प्रधानमन्त्रीको उपचारको लागि कक्ष निर्माण गरिएको छ ।
उक्त कक्षमा अक्सिजन पाईप, वेड, इसीजी लगायतको सुविधान राखिएको छ। सोही कक्षमा मिर्गौलाको डायलासिस पनि गर्न मिल्नेगरी मेसिनहरु जडान गर्ने तयारी छ। प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण गराउने तयारी भएपनि त्यो अघि बालुवाटारमै डायलासिस गर्न मिल्ने गरी उक्त कक्षा निर्माण कार्य भैरहेको हाे। बालुवाटारमै आईसीयू बनाउन प्रधानमन्त्रीकी निजि चिकित्सक डा.दिव्य सिह शाह र अर्का चिकित्सक डा. दिलिप शर्मा लागिरहेका छन्।






