१३ औँ साग : चटारोमा हतारो
काठमाडौं, मंसिर १४ : दक्षिण एसियाली खेलकूद (साग) को १३ औँ संस्करण आइतबार औपचारिकरुपमा सुरु हुँद
काठमाडौं, मंसिर १४ : दक्षिण एसियाली खेलकूद (साग) को १३ औँ संस्करण आइतबार औपचारिकरुपमा सुरु हुँदैछ। सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्।
रमाइलो त के छ भने शुक्रबार राति सागको तयारी स्वरुप भव्य रिहर्सल चलिरहँदा भिआइपी प्याराफिटमा कुर्सीको काम भने निरन्तर चलिरहेको थियो। यसको अर्थ आइतबार बिहानसम्म भिआईपी प्याराफिटमा कुर्सी राखेर सक्ने लक्ष्य छ। कम्तिमा सागको उद्घाटन समारोहअघि दशरथ रंगशाला तयार हुनेछ।
सात राष्ट्रबाट ठूलो संख्यामा खेलाडी र पदाधिकारी नेपाल आउने क्रम जारी छ। एकातिर धेरै खेलको चाप र अर्कोतिर विदेशी पाहुना तथा खेलाडीको व्यवस्थापन गर्नुपर्नेछ। तर त्योभन्दा पनि ठूलो हतारो हामीलाई अझैपनि पूर्वाधारकै छ।
विश्व खेलकूदमा ठूला इभेन्ट आयोजना हुँदै गर्दा कम्तिमा संरचना या ठूला पूर्वाधारको काम एक वर्ष या कम्तिमा ६ महिनाअघि पूर्णरुपमा तयार हुनुपर्छ र हुन्छन्। तर, नेपालमा दक्षिण एसियाको मिनी ओलम्पिकको उद्घाटनको एक दिनअघिसम्म निर्माणको महत्वपूर्ण काम सकिएको छैन। निर्माणको काम जारी छ।
सागको चटारोमा निर्माणाधीन संरचनाको गुणस्तरीयता परीक्षण त परको कुरा, पहिला यहाँ पहुनाका अघि लाज जोगाउनु छ। रंगशाला निर्माणको हतारोको कहानी फरक छ। तर हाम्रो प्रतिष्ठा सागसँग जोडिएको छ। त्यसैले पहिलो प्राथमिकता फेरि पनि साग नै हो।
.jpg)
रंगशालालाई एकै छिन थाँती राखेर सर्वाधिक धेरै स्वर्ण पदक भएको खेलका रुपमा रहेको पौडीको कुरा गरौं। ओलम्पिकका कुनै पनि इभेन्टको म्यान्डेटरी खेलका रुपमा रहको छ। एथ्लेटिक र पौडी यी प्रतियोगिता भएनन् भने अन्य खेलहरुमात्रै समावेश गरेर गरिने इभेन्ट ओलम्पिकको झन्डा मुनि सायदै हुन्छन्। सामन्यतया म्यान्डेटरी खेल समावेश नगरी गरिने प्रतियोगितालाई ओलम्पिकले मान्यता दिँदैन। यति धेरै अर्थ बोकेको पौडीको कथा झनै दर्दनाक छ।
.jpg)
मंसिरको बढ्दो जाडोमा हिटिङ स्वीमिङ पुलको अवधारणा उत्कृृष्ट हो। तर यो अवधारणा सागका लागि भने थिएन। थियो त खेलाडीले जाडो याममा पनि अभ्यास गर्न सकून् भन्ने। तर अवस्था फरक रह्यो। हामीले सार्दा सार्दै सागलाई जाडोको समयसम्म पुर्यायौं।
र, निर्माण अब अनिवार्य बन्यो। त्यही अनुसार निर्माण सुरु गरिएको दुई वर्ष पूरा भइसकेको छ। तर यो पोखरीमा पानी हालेर सिस्टम चेक गर्न अझै केही दिन लाग्न सक्छ। अघिल्ला १८ महिनालाई बिर्सिने हो भने जे भयो यो पछिल्लो ६ महिनामा नै भयो।
त्यतिमात्रै होइन, अमेरिकाबाट करोड बढी मुल्यमा खरिद गरेर ल्याइएको स्वचालित टाइमिङ सिस्टम जडानका लागि इञ्जिनीयर नेपाल आइपुगेकै छैनन्। उद्घाटनपछि पनि पाँच दिनको समय भएकाले त्यसलाई पनि पौडि हुने मितिसम्ममा जसोतसो तयार पार्ने अभियान जारी छ। पौडीपोखरी परिसर विरूप छ। निर्माण सामग्री यत्रतत्र छन्।
अझै पनि डोजरले भत्काउन छाडेको छैन। बनाउने कामका लागि त पाँच दिन छँदैछ ! साच्चिकै भद्रगोल। यदी हामीले बनाएको स्वीमिङ पुलमा परीक्षणका दौरान डिफल्ट आएमा के गर्ने! हामीसँग केही विकल्प छैन, भगवान भरोसा।
.jpg)
मापदण्डको कुरा गर्ने हो भने हिटिङ स्वीमिङ पुलमा भित्र र बाहिरको मौसमको तापक्रम मिलाउनुपर्छ। अन्यथा खेलाडीको प्रदर्शनमा उतरचढाव आउने छ। मिली सेकेन्डमा नतिजा दिने खेलमा कुनैपनि कमजोरी खेलाडीका लागि रेकर्डबाट टाढा पुर्याउन पर्याप्त हुनेछ। तर यहाँ कम्तिमा तातो पानीले मात्रै पोखरी भर्न पाएपनि राहत महसुस हुनेछ।
पौडी पोखरी आसपासमा टायलको काम भइरहेको छ। इन्जिनीयरको भनाइ मान्ने हो भने १५० कामदार अहिले पौडी पोखरी निर्माणमा रातदिन खटिरहेका छन्। उनीहरुले जे गर्दैछन् राम्रै गर्दैछन्। किनकि, हामीसँग अब उनीहरुले गरेको काम राम्रो, नराम्रो, गुणस्तरीय छ या छैन भन्ने चेक गर्ने समय पनि छैन। सम्भवतः सागपछि नै निर्माणधीन संरचना आफैँले आफ्नो रहस्य खोल्ने छन्।
नेपालले ५० स्वर्ण जित्ने राखेप सदस्यसचिव रमेश सिलवालले दाबी गरेकै छन्। उनको दाबी पूर्वाधार निर्माणको हावादारी गफ जस्तो नबनोस् त्यही कामना गरौं।






