Kathmandu Press

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य?

काठमाडौं, मंसिर १३ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ। एपेन्

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य?
काठमाडौं प्रेस

काठमाडौं, मंसिर १३ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ। एपेन्डिसाईटिस् फुटेर पेटमा भएको इन्फेक्सन क्रमश: घट्दै गएको छ। तर उनको शरीरमा प्लेटलेट्सको मात्रा घटेको छ।

शल्यक्रिया गरेका बिरामीको रगतमा प्लेटलेट्सको मात्रा घटेपछि त्यसले इन्फेक्सन हुने, घाउ निको हुन समय लाग्ने र घाउबाट रगत बगिरहने समस्या हुने गर्छ। त्यसैले प्लेटलेट्सको मात्रा घटे लगत्तै बिहीबार चिकित्सकले बाहिरबाट प्लेटलेट्स दिएका छन्।

बाहिरबाट प्लेटलेट्स दिने भनेको क्रसम्याच भएको रगतबाट रातो कोशिका र सेतो कोशिकालाई निकालेर रगत चढाउने हो। यही विधिअनुसार हिजो प्रधानमन्त्रीलाई बाहिरबाट प्लेटलेट्स दिइएको छ।

प्रधानमन्त्रीको बिहीबार साँझको मेडिकल नोटमा शुक्रबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट त्रिवि शिक्षण अस्पताल सार्ने लेखिएको थियो। तर, प्रधानमन्त्रीको रगतमा प्लेटलेट्सको मात्रा कम देखिएपछि आज दिनभर त्यहीं राखेर बेलुका मात्रै सार्ने वा नसार्ने निर्णय गर्ने अर्को नोट लेखिएको छ।

प्रधानमन्त्रीकाे स्वास्थ्यबारे पत्रकार सम्मेलनमा जानकारी दिँदै उपचारमा संलग्न चिकित्सकाे टाेली।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार शल्यक्रिया गरेको, मिर्गौलाको डायलासिस गर्नुपर्ने प्रधानमन्त्रीलाई प्लेटलेट्सको कमी भएका कारण अझै लामै समय अस्पतालको बिशेष केयरमा राख्नुपर्ने छ। ‘पेट चिरेर अपरेशन गरेको र प्रधानमन्त्रीज्यूको मिर्गौलाको पनि डायलासिस गर्नुपर्ने भएकाले प्लेटेलेट्सको कमी हुँदा निकैनै सचेतना अपनाउनु पर्छ,’ ति चिकित्सकले भने, ‘अपरेसन गर्दा चिरेको घाउ निको हुन लामो समय लाग्ने, इन्फेक्सनको जोखिम हुने र कुनै अंगबाट ब्लिडिङ हुने डर हुन्छ।’

यद्यपी प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै जोखिम भने नरहेको ति चिकित्सकले बताए। ‘प्रधानमन्त्रीको उपचारमा अपनाइएको प्रक्रिया आफ्नो कोर्षमा अघि बढेको छ,’ उनले काठमाडाैं प्रेससँग भने, ‘जोखिम छैन तर सचेतना र अस्पताल केयर लामै समय चाहिन्छ।’

शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको उपचारमा संलग्न मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका चिकित्सकको टोलीले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र केही दिन अस्पतालमै राखिने जनाएको थियो।

प्रकाशित मिति: १४:२७ बजे, शुक्रबार, मंसिर १३, २०७६