संक्रमण देखिएकाले शल्यक्रियापछि प्रधानमन्त्री ओली भेन्टिलेटरमा
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिसको शल्यक्रियापछि अहिले भेन्टिलेटरम
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिसको शल्यक्रियापछि अहिले भेन्टिलेटरमा राखिएको छ।
मंगलबार बिहान पेट दुखेर महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस फुटेको देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो।
अस्पताल स्रोतका अनुसार एपेन्डिसाइटिस फुटेर पेट र शरीरका अन्य भागमा समेत संक्रमण फैलिसकेकाले अस्पताल पुगे लगत्तै शल्यक्रिया गरिएको थियो। बिहान साढे ९ बजे अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको साढे १० बजे शल्यक्रिया गरिएको थियो। एपेन्डिसाइटिस फुटेकाले उनको ल्यापेरोटोमी गरेर शल्यक्रिया गरिएको थियो।
ल्यापेरोटोमी पेट चिरेर त्यहाँ फैलिएको संक्रमण हटाउने तथा एपेन्डिसाइटिस फुट्दा अन्द्राहरूमा फैलिएको पिपलगायत दूषित पदार्थ सफा गर्न अपनाइएको उपचार विधि हो। अस्पतालका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा एपेन्डिसाइटिससहित पेटको संक्रमण देखिएपछि तत्काल ल्यापेरोटोमी एन्ड एपेन्डिक्टोमीलगायतका विधिबाट उपचार गरिएको उल्लेख छ।
यो पनि पढ्नुस्: प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने
विज्ञप्तिमा उल्लेख भएको एपेन्डिक्टोमीको अर्थ प्रधानमन्त्री ओलीको फुटेको एपेन्डिसाइटिस काटेर फालिएको हो। विशेषज्ञ चिकित्सकका अनुसार एपेन्डिसाइटिस फुटेर शरीरमा संक्रमण फैलिनु भनेको निकै गम्भीर अवस्था हो। एक स्वस्थ मानिसमा पनि यो अवस्था निकै जटिल मानिने गर्छ। यो अवस्थामा बिरामीको शरीरभरि नै संक्रमण फैलिएर मल्टिअर्गान फेलरको खतरा हुनसक्छ।
प्रधानमन्त्री ओलीलाई शल्यक्रिया लगत्तैदेखि अहिलेसम्म भ्यान्टिलेटरमा राखिएको छ।






