प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै राखिने भएको छ।
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै राखिने भएको छ।
महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने भएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई आइसीयुमा राखेर उपचार भइरहेको जानकारी दिए। ‘प्रधानमन्त्रीज्यूलाई अहिले आईसीयुमा राखिएको छ। साँझसम्ममा पोष्ट अप्रेशन युनिटमा सारिने छ,’ काठमाडौं प्रेससँग थापाले भने। थापाले चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै राखिने बताए।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए। ‘प्रधानमन्त्री ओलीलाई हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ,’ श्रेष्ठले भने।
प्रधानमन्त्री ओलीको ‘ल्यापारोटोमी एण्ड एपिन्डिकटोमी’ लगायत विधिबाट उपचार गरिएको गरिएको थियो। प्रधानमन्त्री ओलीको उपचारमा प्रा. डा अरुण सायमी, प्रा. डा रमेशसिंह भण्डारी, डा. दिव्या सिंहलगायत चिकित्सकको टोली संलग्न छन्।






