Kathmandu Press

‘कहाँ लगौ‌ं ६५५ थरी लोकबाजा?’

काठमाडाैं, मंसिर १० : भाषा, कला र संस्कृतिसँग व्यक्ति मात्रै होइन राष्ट्रकै पहिचान जोडिएर आउँछ । कुन

‘कहाँ लगौ‌ं ६५५ थरी लोकबाजा?’
रिवाज राई

काठमाडाैं, मंसिर १० : भाषा, कला र संस्कृतिसँग व्यक्ति मात्रै होइन राष्ट्रकै पहिचान जोडिएर आउँछ । कुन देश, कुन परिवेश र कुन संस्कारको नागरिक? भनेर चिनाउने केही लिपी हुन्छन्, केही संस्कृति त कतिपय मौलिक बाजागाजा हुने गर्छन्।

नेपाल कला, साहित्य, भेषभुषा र संस्कृतिमा धनी मुलुक मानिन्छ। जात, वर्ग, भाषा, भेष, संस्कृति र संस्कारका हिसाबले नेपाल एक खुला संग्रहालय हो भन्दा अतिसयोक्ति नहोला । यहाँ जातीय, भेगीय र भूगोलअनुसारको भाषा बोलिन्छ, भेष देखिन्छ, संस्कार पाइन्छ र संस्कृति अपनाइन्छ। हाम्रा यी र यस्ता संस्कृति झन्कृत हुने माध्यम अझ मोहक छ, सबल र अब्बल छ । अर्थात नेपाली मौलिक बाजाहरु आफ्नै खालका छन् । फरक छन् ।

यसको सम्वर्द्धन, संरक्षण, पहिचान र परिचालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय नै देशमा स्थापित छ। बिडम्बना, मन्त्रालयले देशका कुनाकाप्चामा रहेका हाम्रो संस्कृति जोडिएका यस्ता बाजाहरु संरक्षण त के पूर्ण रुपमा पहिचान गर्ने कोसिस पनि गरेको पाइँदैन भन्दा हुन्छ । कारण, व्यक्तिको निजी प्रयासमा २४ वर्ष लगाएर तयार पारिएको नेपाली लोकबाजा संग्रहालय आज संकटमा छ।

Hardik ivf

‘सरकारलाई जिम्मा लेऊ भन्दा पनि लिँदैन, भएको ठाउँबाट पनि उठिबास हुने हो कि भन्ने पिरलोमा छु’, बाजा संकलक तथा संग्रहालयका संचालक रामप्रसाद कँडेलले भने, ‘बिरालोले छाउरो सारे झैँ यसलाई कता लगूँ, कता राखूँ!’

विक्रम सम्बत २०५२ वर्षदेखि नेपलाका विभिन्न जातजातिले बजाउने बाजा संकलनमा जुटेर कँडेलले २०५४ सालमा  ‘नेपाली लोक बाजा संग्रहालय’ नै खडा गरे ।  उनको चेतनामा लोकबाजाको संरक्षण गर्नुपर्छ भन्ने लाग्दा संग्रहालय दर्ता गराउन ऐन नै थिएन। ‘ऐनमै व्यवस्था नभएपछि मैले सामाजिक संस्था नेपाली लोकबाजा संग्रहालयको नाममा दर्ता गराएँ,’ कँडेलले भने।  

उनी गाउँ-गाउँ पुगे। पहाडका कुनाकन्दरादेखि तराईका बस्तीहरु चहारे। हिमाली टाकुरादेखि तराईका फाँटसम्मका नेपाली मौलिक बाजा संकलन गरे। सुरुका दिनमा उनले भद्रकालीस्थित उत्तरी भागको सत्तलभित्र एउटा कोठामा संग्राहलयलाई आकार दिए।

संस्कृति मन्त्रालयको सहयोगमा त्रिपुरेवरस्थित गुठी संस्थानको भवन जिर्णोद्वार भएपछि ०६४ सालमा  संग्राहलय त्यहाँ सारिएको थियो ।  संग्रालय सुरु गरेको २४ वर्षपछि भने सम्झौंता विपरित संग्रहालय हटाउने चलखेल भएको आशंका कँडेलको छ। आफ्ना गुरु स्वामी अखण्डनानन्द सरस्वतीलाई  गुरुदक्षिणा स्वरुप सुरु गरेको संग्रहालय २४ वर्षपछि आएर संकटमा परेकोप्रति कँडेल चिन्तित छन् ।

नेपाली लोकबाजा संग्रहालय भाँडामा बसेको पाँच वर्षे समयावधि सकिएसँगै  संग्रहालयको सम्झौता नथप्ने चलखेल भएको उनको बुझाइ छ । ‘अब कहाँ राखेर सञ्चालन गर्ने?’, कँडेलले भने, ‘यत्रो मेहेनत गरेँ, देशको सम्पदा एक ठाउँमा जमा गरेर २४ वर्षदेखि संरक्षण गर्दै आएँ, राज्यलाई लिइदेउ भन्दा पनि जिम्मा लिँदैन ।’

कँडेलले गुठी संस्थान र काठमाडौं विश्वविद्यालय मिलेर संग्रहालयलाई विस्थापित गराउने योजना बनाएकोप्रति आशंका जनाए ।  उनले भने, ‘केयुले गुठीको जगा २५ वर्षका लागि भाडामा लिइसकेको रहेछ । मसँग सोधपुछ नै भएन । केयुले  पुनर्निमाणका क्रममा  संग्रालय रहेको भवन पनि भत्काउने भन्ने कुरा छ । त्यसपछि यसलाई कहाँ राख्ने भन्ने अन्यौलमा छु।’  

गुठीले लोकबाजा संग्रहालयलाई २०७१ सालमा घर भाडामा दिने सम्झौता गरेको थियो । त्यसको ६ महिना नहुँदै काठमाडौं युनिभर्सिटीलाई सोही जगा  भाडामा दिने सम्झौता गरेको कँडेलको गुनासो छ ।  संग्राहललाई पाचँ वर्षमा सम्झौता नविकरण गर्ने भनिए पनि  गुठीले जानकारी नै नदिएर सुटुक्क केयुलाई संग्रहालयको भवनसहितको जमिन भाडामा दिएको उनको भनाइ छ ।  

देशमा १३ सय ५० लोकभाका  र बाजाहरुबारे पत्ता लगाएका कँडेलले संग्रहालयमा ६ सय ५५ वटा लोक बाजा संग्रह गरेका छन् ।  ४० घन्टा लामो अडिया-भिडियो संग्रह गरेका छन् । जहाँ ऐतिहासिक बाजासहित हालसालै पत्ता लागेका बाजाहरु संग्रहित छन् । राज्य देशको सँस्कृति संरक्षणप्रति उदासिन भए पनि व्यक्तिगत प्रयासमा उनले २५ जना स्वयमसेवी कर्मचारीको सहयोगमा संग्रहालयलाई संचालन गरिरहेका छन् । विभागीय मन्त्रालयले देशमा पर्यटन भ्रमण वर्षको तयारी धुमधामका साथ गरिरहेको उनी सम्झन्छन् । ‘देखाउन लायक चिजको उपेक्षा गरेर पर्यटन भित्र्याएर मात्र के हुन्छ ?’, उनको प्रश्न छ ।

गुठि संस्थान केन्द्रीय कार्यलयका प्रवक्ता सरोज थपलिया भने संग्रहालयको गुठीसँगको  भाडा सम्झौता अवधि सकिएका कारण निजी संग्रहालयलार्य भवन छोड्न आदेश दिँदा पनि नछोडेको बताउँछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उचित व्यवस्था नभएसम्म संग्रहालयलाई सोही स्थानमा बस्नदिनु भनेका कारण मात्र आफू चुप लागेको उनले बताए।  

संग्रहालय संचालक कँडेलले भाडा सम्झौतामा धाँदली भएको भन्दै  ०७५ बैशाखमा  गुठी संस्थान र काठमाडौं विश्वविद्यालयविरुद्व काठमाडौं जिल्ला अदालतमा मुद्दा दिए । अदालतले गुठी संस्थान र विश्वविद्यालयकै पक्षमा फैसला सुनाएपछि अब संग्रहालयलाई कसरी जोगाउने भन्ने चिन्ता कँडेलमा थपिएको छ ।  

काठमाडौं विश्वविद्यालयका संगीत विभाग  प्रवक्ता लोचन रिजालका अनुसार त्रिपुरेश्वरस्थित गुठी संस्थानसँग भाडा सझौता गरी पुनर्निर्माण गरिरहेको बताउँछन् ।  ‘हामी पुनर्निर्माण गरेर संग्रहालयलाई पनि सत्तलको केही भाग  दिने सोचेका छौं तर गुठीसँग छलफल भएको छैन,’ रिजालले भने।  कँडेल भने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केही आश्वासन दिएको बताउँछन् ।  

राष्ट्रिय पुनर्निमाण प्राधिकरणका पुरातत्व अधिकृत भिष्म बाँस्कोटा देशभरकै  विभिन्न जातजातिको कला संस्कृति बोकेको बाजाहरुको संग्रहालयलाई उचित व्यवस्थापन गर्न सम्बन्धित निकायले छलफल गरेर व्यवस्थापन गर्न आवश्यक भएको बताउँछन् ।

दुर्लभ र कलात्मक बाजाहरु रहेको संग्रहालयलाई संक्षण गर्नसके आगामि दिनमा आगन्तुक, विदेशी पाहुन र स्वदेशमा अध्ययन गरिरहेका विद्यार्थीका लागि अध्ययन, अनुसन्धानको केन्द्र बन्नसक्ने सुझाव बाँस्कोटाको छ । पाँच वर्षमा निर्माण सक्ने गरी २०७३ सालदेखि काठमाडौं विश्वविद्यालयले  पुनर्निर्माण गरिरहेको छ।

१८ करोडको लगानीमा त्रिपुरेश्वर महादेव र वरिपरीको सतल निर्माण गरिरहेको केयुले लोकबाजा संग्रहालय रहेको भवन पनि जीर्ण भएकाले त्यसलाई पनि पुनर्निर्माण गर्ने तयारी गरेको छ। ‘यो भत्काएको दिन कहाँ जाने? सिंगो नेपालको संस्कृति झन्कृत हुने यी बाजागाजा कहाँ लैजाने?’, चिन्ता व्यक्त गर्दै कँडेलले भने।

 

प्रकाशित मिति: १४:०० बजे, मंगलबार, मंसिर १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्