प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अप्रेसन गर्ने तयारी
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ। उनको शल्यक्रिया गर्ने तया
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ। उनको शल्यक्रिया गर्ने तयारी भइरहेको छ।
गएरातिदेखि बेस्सरी पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई आज बिहान त्रिवि शिक्षण अस्पताल, महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। चिकित्सकहरूले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस देखिएको अस्पताल स्रोतले जनाएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधामन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिने भएको छ। त्यसका लागि तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।
यस अघि आइतबार प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरिएको थियो। चौथो पटक मिर्गौलाको डायलासिस गरेपछि प्रधामन्त्री ओली बालुवाटार फर्र्किका थिए।
उनको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। अहिले आएर समस्या आएपछि डायलासिस गर्न थालिएको हो। त्यस अघि सिंगापुरमा समेत उपचार गरिएको थियो।
सोमबार केही कार्यक्रममा सहभागी भएपनि रातिदेखि पेट दुखेको थियो। बेस्सरी पेट दुखेपछि बिहानै मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।
यस पटक भने मिर्गौलाको समस्या नभएर एपेन्डिसाइटिस भएको जनाएको छ। एपेन्डिसाइटिसको २४ घण्टाभित्रै शल्यक्रिया गर्नुपर्छ।
ठूलो आन्द्रासँगै गाँसिएर बसेको एक साना अंगलाई ‘एपेन्डिक्स’ भनिन्छ। एपेन्डिक्समा ब्याक्टेरिया संक्रमण या कुनै अवरोध भयो भने विस्तारै सुन्निन थाल्छ र यसमा पिप भरिन्छ।
यदि समयमै यसको उपचार गरिएन भने यो फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा बाहिर तर पेटभित्रै पोखिने सम्भावना हुन्छ। त्यसैले यसको समस्या देखिएको २४घण्टा भित्रै शल्यक्रिया गर्नुपर्छ।






