नयाँ मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- काममा चिनियाँ राष्ट्रपति आउँदाको जस्तो तदारुकता देखाउनू
काठमाडौं, मंसिर ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई काममा तदारुकता अपनाउन निर
काठमाडौं, मंसिर ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई काममा तदारुकता अपनाउन निर्देशन गरेका छन्।
बिहीबार साँझ नवनियुक्त मन्त्रीहरुसँगको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सरकारी काममा ढिलासुस्ती तत्काल हटाउन निर्देशन गरेका हुन्। उनले मन्त्री र सचिवलाई कर्मचारीसँग समन्वय गरेर काम गर्न पनि निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले सचिव र कर्मचारीले काममा ध्यान नदिए आफू मात्रै चट्पटाएर काम नहुने भन्दै गम्भीर हुन आग्रह गरेका छन्। ‘काम गर्छु भनेर म मात्रै चट्पटाएर केही हुँदैन, मन्त्रीहरु पनि चट्पटाउनुपर्यो , सचिवहरु पनि चट्पटाउनु पर्यो’ प्रधानमन्त्री ओलीले भने।
ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा देखिएको विकासको कति नरोक्न पनि निर्देशन दिए।
'सात दिनभित्रै धेरै काम हुन्छ भन्ने उदाहरण जनताले देखिसकेका छन्', ओलीले भने, 'कार्यविभाजन गरेर राज्यमन्त्रीलाई पनि जिम्मा दिनुहोस्, आपसी समन्वय गर्नुहोस्।'
उनले सबै मन्त्रीको पछाडि छड्के गर्ने मान्छे पनि खटिने बताए। ‘तपाईँको पछाडि पनि मान्छे लगाएको छु, तलमाथि भए कारबाही हुन्छ’, उनले भने, 'देशको विकासमा आफूहरु ड्राइभिङ सिटमा रहेको कुरा स्मरण गर्नुहोस्।'
प्रधानमन्त्रीले अबको चार महिनाभित्र काठमाडौं उपत्यकाका खाल्डाखुल्डी पुर्न पनि निर्देशन दिए। ‘काठमाडौंको खाल्डोको गीत कति सुन्ने, जहिले सारङ्गी बज्छ, अब यो किन समाप्त नपार्ने?’ ओलीले भने।






