प्रधानमन्त्री ओली साविक एमालेलाई एकजुट बनाउँदै, मन्त्रिमण्डल पुनर्गठनमा सबै समेटिने
काठमाडौं, मंसिर २ : केही समयअघिको एउटा घटना । प्रधानमन्त्री निवास, बालुवाटारमा नेकपा नेताहरूको बैठक
काठमाडौं, मंसिर २ : केही समयअघिको एउटा घटना । प्रधानमन्त्री निवास, बालुवाटारमा नेकपा नेताहरूको बैठक बस्दै थियो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुरुमै पुगे । साविक एमालेका केही नेता त्यहाँ पुगिसकेका थिए । संसदीय दलका उपनेता सुवास नेम्वाङलाई निर्दोष भावले सोधे, ‘खै, हाम्रा साथीहरू आइपुगेनन् ?’
नेम्वाङले मुसुमुसु हाँस्दै व्यङ्ग्यात्मक शैलीमा जवाफ दिए, ‘कमरेडले कसलाई खोज्नुभो, हामी सबै अब आफ्नै हैनौँ र !’
प्रचण्डले कुरा बुझिहाले । मुसुक्क हाँस्दै सामान्य शैलीमा जवाफ दिए, ‘बानी लागेको । नभनौँ भन्यो, आइहाल्दो रे छ !’
साविक एमाले र माओवादी केन्द्रबीच एकता भएको डेढ वर्ष नाघेको छ । अब पार्टी एकता लगभग सकिएको छ तर दुई अध्यक्ष रहेको नेकपाभित्र भावनात्मक एकता अझै टुंगिसकेको छैन । अर्थात्, लागेको चिज भनिहाल्ने स्वभावका प्रचण्डले ‘हाम्रा साथीहरू’ भनेजस्तो भावना साविक एमाले नेताहरूमा पनि नहुने कुरै भएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कमजोर स्वास्थ्यका बाबजुद साविक एमालेका सबै नेतालाई एकीकृत गर्ने प्रयास गरेका छन् । यसअघि झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेललाई समेटेका ओलीले माधव नेपालसँग समेत दूरी घटाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर जाने दिन भदौ ५ गते बसेको पार्टी सचिवालय बैठकमा वरिष्ठ नेता नेपालले दिएको शुभकामना समेत ओलीले अस्वीकार गरेपछि सम्बन्ध तिक्तताको उच्च विन्दुमा पुगेको थियो । त्यसपछि पनि नसुध्रिएको सम्बन्ध प्रदेश प्रमुखमा पनि ओलीले ‘नेपाल गुट’ लाई भाग लगाएनन् । नेपालले ‘नोट अफ डिसेन्ट’ नै लेखे । तर, यसै साता ओलीले नेपालसँग दुई पटक बालुवाटार बोलाएर छलफल गरे । सँगै खाना खाएर आत्मियतालाई पनि बढाउने प्रयास गरे ।
एमालेका वैचारिक नेता घनश्याम भुसालसँग पनि प्रधानमन्त्री ओली ले दूरी घटाउने प्रयासमा पटक–पटक छलफल गरेका छन् । स्रोतका अनुसार, एकपटकको कुराकानीमा प्रधानमन्त्री ओलीले नेता भुसाललाई उपप्रधानमन्त्रीसहित मन्त्री बनाउने समेत बताएका थिए । साविक एमाले वृत्तबाटै भुसाल मन्त्री बन्ने हल्ला भने फैलाइएको छ । ओलीसँग सैद्धान्तिक विमति राख्दैआएका भुसालले मन्त्री पद स्वीकार गरिहाल्ने संभावना कम रहेको भुसालनिकट स्रोतको दाबी छ । यसअघि भुसालनिकट अर्का स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई मन्त्री बनाएर यो समूहलाई पनि समेटेको देखाउने प्रयास प्रधानमन्त्रीले गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत एक÷डेढ वर्षदेखि साविक एमाले नेताहरूसँग बिग्रिएको सम्बन्ध सुधार्ने प्रयास अब अन्तिम चरणमा पुगेको छ । स्वास्थ्यले साथ नदिइरहेका ओलीले पार्टीलाई एकलौटी रूपमा प्रचण्डको पोल्टामा जानबाट जोगाउन प्रयास गरिरहेको स्रोतको दाबी छ ।
पार्टी एकताका बेला चीन भ्रमणमा रहेका वरिष्ठ नेता झलनाथ खनाललाई मर्यादा क्रम घटुवा गरेपछि ओलीसँग उनको सम्बन्ध चिसिएको थियो । उनलाई तेस्रो मर्यादा दिएर त्यसलाई सच्याए ।
गत वर्ष मंसिरमा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको प्रतिवेदनमा ‘फरक मत’ दर्ता गराएर कडा विरोधमा उत्रिएका वामदेव गौतमलाई उपाध्यक्ष बनाएर मत्थर पारे । यद्यपि, गौतमको उपाध्यक्ष पद अनुमोदन गर्न पार्टी स्थायी कमिटी बैठक बस्न सकेको छैन । स्थायी कमिटी बैठक नबसेको एक वर्ष भइसकेको छ ।
अन्तिम समयमा सबैभन्दा चिढिएका अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि सम्बन्ध सुधारको प्रयास गरेका छन् । प्रदेश प्रमुख नियुक्तिमा वामदेव गौतम र रामबहादुर थापा समूहलाई समेत भाग पु¥याएका ओलीले नेपाललाई साह्रै पेलेको आवाज उनकै गुटभित्रबाट समेत उठेको थियो । यदि नेपालका असन्तुष्टिलाई पनि मत्थर बनाउन सके भने साविक एमाले एकगठ हुने बुझाई उक्त समूहभित्रको छ ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल साविक माओवादी केन्द्रका सबैलाई समेट्न सफल भए पनि ओली भने एमाले खेमाभित्र परेको चिराका कारण पार्टीभित्र कमजोर सावित भएको महसुस साविक एमालेका नेताहरूले गरेका छन् ।
प्रधानमन्त्री ओलीको मिर्गाैलाले १० प्रतिशतभन्दा कम मात्र काम गर्न थालेपछि उनी त्यसको गम्भीर उपचार गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनका निजी चिकित्सकले पुनः प्रत्यारोपणबारे गृहकार्य अघि बढाएको स्रोतको दाबी छ । नियमित डायलासिसको साटो पुनः प्रत्यारोपणको उपाय रोजेमा उनले प्रधानमन्त्री र अध्यक्षको नियमित काम गर्न सक्ने छैनन् । कार्यवाहक प्रधानमन्त्रीका रूपमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र कार्यकारी अध्यक्षका रूपमा प्रचण्डलाई जिम्मेवारी दिने तहसम्मको छलफलमा छन् ओली । त्यसैले पनि साविक एमालेलाई एकजुट बनाउन उनी लागिपरेका हुन् ।
गत भदौको दास्रो साता ओलीको अनुपस्थितिमा प्रचण्डको अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठकबाट ओलीको जानकारीबिनै प्रचण्डले साविक माओवादीका चार जना कार्यकर्तालाई केन्द्रीय सदस्य मनोनित गरेपछि ओली झस्किएका थिए । साविक एमाले नेताहरू एकजुट नभएमा प्रचण्डले सिंगै पार्टीमा साविक माओवादीको एकलौटी हालिमुहाली जनाउने खतरा देखेका एमाले नेताहरू पनि ओलीको स्वाथ्य कमजोर हुँदै जाँदा एकजुट हुँदै गएका छन् ।
ओलीले यसै साता गर्ने तयारी गरेको मन्त्रिमण्डल पुनर्गठनमा पनि साविक एमालेका सबै गुटलाई समेटेर एमाले एकजुट रहेको सन्देश दिने तयारी गरेको पनि स्रोतको दाबी छ ।






