मध्य ठमेलमा झुल्किएको त्यो भयानक आकृति
काठमाडौं, कात्तिक २६ : एक सय जना कलाकार हरेक दिन ठूलो शरीर भएको एउटा जीवको वरिपरि झुम्मिरहेको भेटिन्
काठमाडौं, कात्तिक २६ : एक सय जना कलाकार हरेक दिन ठूलो शरीर भएको एउटा जीवको वरिपरि झुम्मिरहेको भेटिन्छन्। सात फिट उचाई र ६ फिट चौडाई भएको त्यो जीवको मूर्तिमा उनीहरू आफ्नो भाव खोज्दै हराइरहेका हुन्छन्।
मध्य ठमेलमा हिड्ने बालबालिकादेखि बृद्धसम्म याे भीमकाय आकृतिमा झल्किएकाे अवोधपन देखेर नजिक पुगी सुम्सुम्याउँछन्। अनि हर्षित हुँदै ठिङग उभिएर सेल्फी लिन्छन्।
टाउकोमा कपालको जुरो, बुद्वको जस्ता आँखा, ठूलो नाक, भुक्क उठेको दाह्री, दुवै पाउँ र हात जोडी ज्ञानी भएर बसिरहन्छ। वरिष्ठ कलाकार किरण मानन्धर अनेक प्रकारको रङ्गले शिरदेखि पाउँसम्म रङ्गाउँछ।
अर्का कलाकार आङछिरिङ शेर्पा रंग लगाउँछन्। नजिकै रहेका बत्स गोपाल वैद्य सोच्दै, केही थप्छन्। केही दिनदेखि यो क्रम चलिरहेको छ।
उसको उपस्थितिले कलाकारहरू आफुमा पूर्णताको आभास महसुस गर्न थालेको बताउँछन्। किनकि उसको साथमा अब उनीहरूको कला पनि जोडिएको छ।
कलाकार मुक्तिसिंह थापा मैथली संस्कृतिलाई उसका शरीरमा भर्दैछन्। बुद्वको सन्देश बोकेको तोरणलाई उसको शरीरमा टाँसिरहेका वरिष्ठ कलाकार किरण मान्धर उसको अस्तित्वलाई आत्मसाथ गरिरहेका छन्।
मिथिला संस्कृतिको कलाकारिताका पोख्त एस.सी. सुमनले पनि त्यही आकृतिमा कला भरिसकेका छन्। त्यस्तै, कलाकार लोक चित्रकार, समुन्द्रमा सिंह श्रेष्ठ, बत्स गोपाल वैद्यलगायतका कलाकार काठमाडौंको मध्य ठमेलमा त्यहि आकृतिको वरिपरि छन्।
त्यो आकृति अब यति भएको छ। यति अर्थात हिम मानव। संसारको सर्वोच्च शिखर सगरमाथालगायत उच्च हिमश्रृंखला आसपासमा भेटिने विश्वास गरिएको यति अब भने मध्य ठेमलमा झुल्किएको छ, आकृतिका रुपमा।
सेतो रङको उसको स्वपमा हिमश्रृंखला, हिमनदी, हरिया पहाड सजिलै देखिन्छन्। उसको छातिमा बसेका गणेश लड्ड खान तयार भइरहँदा मूर्त कलाले स्वागत गरिरहन्छ। कलाका विशिष्ट आकृतिले ऊ ढाकिन थालेको छ।
अहिले त उसको आकर्षणले बाटोमा हिडिराखेको यात्रु टक्क उभिइएर हेर्न लालायित भईरहेका हुन्छन्। अधिकांश एउटा सेल्फि खिचेर मात्रै फर्किन्छन्। विस्तार यति मध्य ठमेलको आकर्षण बन्दै थालेको छ।
के हो यति? के हुँदैछ ठमेलमा?
नेपाल भ्रमण वर्ष २०२० को अवधारणामा सुरू भएको कलाकृति हो यति। नेपाल सरकारले भ्रमण वर्षमा यतिलाई पनि समावेश गराउने लक्ष्यका साथ कलाकारहरू त्यसको आकृति बनाउन व्यस्त छन्।
दलाई ला आर्ट ग्यालरी संचालक एवं आर्ट कलेक्टर प्रेम गुरुङको अवधाराणामा यतिको कलाकृति बन्न लागेको हो।
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली कलाको बलियो छाप छोड्न सफल कलाकार आङछिरिङ शेर्पाले हिम मानवको आकृति (स्केज) कोरेका हुन्। ‘नेपालको कलाकारिता व्यवसायिकरण भईसक्यो भन्ने प्रतिउत्तर हो हिम मानवको आर्ट,’ उनले भने, ‘नेपालमा मूर्तिको अस्तित्व हराउँदै गइसक्यो भन्नेहरूका लागि नेपालमा अझै पनि कलाकारिता जिवित छ भन्ने सन्देश हामीले यतिमार्फत दिदैछौ।’
यो कलाकृति बनाउने कलाकार विजय महर्जनले कागजमा कोरिएको यतिलाई आकृतिमा परिणत गरेका हुन्। उक्त आकृतिमा पहिला सानो नमुना तयार भएको थियो। यति अवधारण संलग्न सबै सदस्यलाई उक्त नमुना चित्त बुझेपछि बल्ल भयावह रुप भएको हिम मानव तयार भएको हो।
एमक्युब ग्यालरीका निर्देशक मनिषलाल श्रेष्ठले तयार भएको यतिको ‘डमि’लाई आफ्नो ग्यालरीमा राखेपछि यतिमा आर्ट भर्ने कलाले गति झन् बढ्न थालेको छ। ‘यति छ भन्ने मान्यता छ,’ उनले भने, ‘नेपालका हिमश्रृङखलामा यति पाइने जनविश्वास छ। यहि यतिले नेपाली कलाकारितालाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने विश्वास लिएर बनाउन सुरू गरेका हौंं।’
उनका अनुसार एउटा कलाकृति बनाउन नेपाली कलाकारहरूको यत्ति ठूलो जमघट यो नै पहिलो हो।
कसरी बन्यो यति?
नेपाल भ्रमण वर्षको अवशरमा आउने पर्यटकलाई नेपालको पहिचान दिललाउने उदेश्यले यतिको कलाकृति तयार पारिएको हो। देख्दा ठूलो आकारको भएपनि सहज तरिकाले ओसारपसार गर्न मिल्ने गरी यसलाई तयार पारिएको छ।
रेटिन फाइबर ग्लास, ग्लास डस्ट, ग्लास फाइबर, रेजिन पाइबरको समिश्रणमा यतिको शरीर बनिरहेको छ।
जसमा विजयको नेतृत्वमा तीन जना कालिगढहरू लागिपरेका छन्। दुई दिनमा एउटाको दरले तयार भईरहेको हिम मानव यतिको डमि १०८ वटा बन्ने छन्। अहिलेसम्म १५ वटा तयार भएको महर्जनले बताए।
उनका अनुसार, यतिलाई आवश्यकता अनुसार अझै बढि संख्यामा छिटो पनि तयार गर्न सकिनेछ। तीन महिनाको अवधिमा सात जना कलाकारले आठ वटा यतिमा आर्ट गरिसकेका छन्।
एमक्युब ग्यालरीका निर्देशक तथा कलाकार मनिषलाल श्रेष्ठका अनुसार, एक सय आठ वटा यतिमार्फत कला प्रस्तुत गरिने छ।
यसरी तयार भएको यतिको आर्ट यत्तिवेला ठमेल बजारमा सजिन सुरू भइसकेको छ। पर्यटकीयस्थल ठमेलका होटलका मूल गेटदेखि ढोकाको दायाँबायाँ यतिले स्वागत गरिरहेको भेटिन्छ।
नेपाल सरकारले पूर्ण सहयोग भयो भन्ने नेपालभर यतिलाई देख्न सकिने कलाकारहरूको विश्वास छ।