ज्ञानेन्द्र शाहको प्रश्न– देशको नाजुक अवस्था अझै कति रहिरहने?
काठमाडौं, चैत ३० : पूर्व राजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा नयाँ वर्ष २०७६ को शुभकामना सन्देश जारी गर्दै देशको दूरावस्थाबारे चिन्ता व्यक्त गर....
काठमाडौं, चैत ३० : पूर्व राजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा नयाँ वर्ष २०७६ को शुभकामना सन्देश जारी गर्दै देशको दूरावस्थाबारे चिन्ता व्यक्त गरेका छन्। उनले प्रश्न गरेका छन्– ‘देशको नाजुक अवस्था अझै कति रहिरहने?’
देशले गणतन्त्र कार्यान्वयन गरेको दश वर्ष पुग्नै लाग्दा जारी गरेको नयाँ वर्षको सन्देशमा भनेका छन्, ‘लाखौँ नेपाली काम, माम र दामका लागि विदेशी भूमिमा भौँतारिनुपर्ने, देशमै शिक्षा स्वास्थ्य एवम् मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने– यस्तो नाजुक अवस्था अझै कति रहिरहने ? स्वतन्त्र, सार्वभौम, स्वाधीन एवम् मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी, र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना साश्वत आदर्शको ख्याल राख्नैपर्दछ।’
सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजा हुँदा शक्ति हत्याउने प्रयास गरेकोप्रति घुमाउरो भाषामा प्रायःश्चित पनि गरेका छन्। उनले भनेका छन्, ‘विगतमा हामी सबैबाट जेजस्ता कमजोरी भए, तिनको आत्मसमीक्षा गरी मुलुकको बृहत्तर हित, राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान हुनु र एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन।’
पूर्व राजा ज्ञानेन्द्रले सदाको जस्तै यसपटकको शुभकामना सन्देशमा पनि राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाली जनताको साथमा रहेको दोहोर्याएका छन्। ‘मुलुकप्रतिको हाम्रो आस्था र निष्ठा अडिग छ। देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणको सिद्धान्त अनुरुपको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका हुनुपर्छ भन्नेसधैँ हाम्रो विश्वास रहिआएको छ’, सन्देशमा भनिएको छ।’
आफू जनताको घरदैलोमा पुग्दा अनगिन्ती समस्या र दूर्दान्त पीडा देखेको पनि पूर्वराजा शाहले उल्लेख गरेका छन्। ‘अब केवल हिजोअस्तिको जस्तो समय बियाल्ने परिपाटीमात्र अँगालेर पुग्दैन’, उनले भनेका छन्। उनले निकट अतीतका वर्षहरूको सुक्ष्म समीक्षा गरेर अघि बढ्न समेत आह्वान गरेका छन्।






