Kathmandu Press

कसरी बने बसुरुद्दिन चिकित्सा शिक्षा आयोगको सदस्य?

काठमाडौं, कात्तिक १९ : सरकारले नेश्नल मेडिकल कलेज वीरगञ्जका सञ्चालक बसुरुद्दिन अन्सारीलाई चिकित

कसरी बने बसुरुद्दिन चिकित्सा शिक्षा आयोगको सदस्य?

काठमाडौं, कात्तिक १९ : सरकारले नेश्नल मेडिकल कलेज वीरगञ्जका सञ्चालक बसुरुद्दिन अन्सारीलाई चिकित्सा शिक्षा आयोगको सदस्यमा नियुक्त गरेको छ।

तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै अन्सारीको कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरिरहेका बेला आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनैलाई आयोगको सदस्यमा नियुक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीनिकट मेडिकल कलेज सञ्चालक अन्सारी आयोगको सदस्यमा नियुक्त भइसकेको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले पुष्टि गरे। ‘सबै सदस्य नियुक्त भइसकेका छन्। शिक्षा मन्त्रालयबाट आयोगमा नाम आउने क्रममा छ,’ डा. गिरीले काठमाडौं प्रेससँग भने।

Hardik ivf

चिकित्सा शिक्षा ऐनले आयोगको सदस्य उच्च नैतिक चरित्रको र मेडिकल पृष्टभूमिकै हुनुपर्ने कल्पना गरेको छ। तर पटक–पटक विवादमा तानिँदै आएका अन्सारीलाई प्रधानमन्त्री ओलीले सदस्य नियुक्त गरेपछि मेडिकल क्षेत्रभित्र चर्को असन्तुष्टि देखिएकाे छ। प्रधानमन्त्रीले आयाेगकाे अर्काे सदस्यमा आफ्नै निजी चिकित्सक दिव्या सिंह शाहलाई नियुक्त गरेका छन्।

‘विवादित मेडिकल कलेज सञ्चालक अन्सारीलाई सदस्य बनाउनु यो क्षेत्रकै अपमान हो,’ एक वरिष्ठ चिकित्सकले टिप्पणी गरे। अन्सारीले यसअघि ओली पहिलो पटक प्रधानमन्त्री हुँदा काठमाडौंको घट्टेकुलोमा मापदण्ड नपुगेको काठमाडौं नेश्नल कलेजको सम्बन्धन लिएका थिए। मापदण्ड नपुगेको कलेजलाई सम्बन्धन दिएको भन्दै प्रा.डा.गोविन्द केसी अनसन बसेपछि सम्बन्धन खारेज भएको थियो। सम्बन्धन खारेज भएपछि अन्सारी अदालत पुगेका थिए।

तर अदालतले अन्सारीको पक्षमा आदेश गर्दै सम्बन्धन खारेजको निर्णय उल्टाएर विद्यार्थीको कोटा समेत निर्धारण गराएका थिए।  त्यसपछि फेरि डा.केसी अदालतको उक्त निर्णयविरुद्ध अनसनमा बसेपछि सरकारले अदालतमा भ्याकेट हालेर उक्त कलेजको सम्बन्धन खारेज भएको थियो। अन्सारीको घट्टेकुलोमा रहेको काठमाडौं नेश्नल मेडिकल कलेजको भवनमा अहिले फिल्म सुटिङ लगायतका काम हुँदै आएका छन्।

चर्को शुल्क लिएको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीलाई कोठाभित्र राखेर अन्सारीले कुटेको समाचार समेत केही दिन अघि आएको थियो। उनको नेश्नल मेडिकल कलेजमा अहिले पनि विद्यार्थीहरु चर्को शुल्कविरुद्ध आन्दोलनमै छन्।

कसरी बने अन्सारी आयोगको सदस्य ?

अन्सारी मेडिकल शिक्षामा विवादित व्यक्ति हुन्। प्रधानमन्त्री ओलीनिकट भनेर चिनिने अन्सारीको सम्बन्ध नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि सुमधुर छ।

यसअघि प्रधानमन्त्री ओली सिंगापुर जाँदा त्यहाँको सबै उपचार खर्च अन्सारीले नै ब्यहोरेको भन्ने समाचार पनि बाहिर आएका छन्। सिंगापुरमा रहँदा प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीसँगै तस्वीर अन्सारीले आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गरेका थिए। प्राय बालुवाटारमा हुने अन्सारी मेडिकल कलेज सञ्चालकको कोटामा आयोगको सदस्य हुन सफल भएका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचारका लागि गएकाबेला प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकारसँग अन्सारी ।

ऐनले आयोगको सदस्यका लागि मेडिकल पृष्ठभूमि भएको व्यक्तिको कल्पना गरेको भए पनि अन्सारी मेडिकल पृष्ठभूमिका व्यक्ति होइनन्। उनी कमर्समा स्नातक हुन्। 

अघिल्लो वर्ष अनुगमनका लागि वीरगञ्जस्थित नेश्नल मेडिकल कलेज पुगेको नेपाल मेडिकल काउन्सिलको एउटा टोलीलाई अन्सारीले प्रवेशमा रोक लगाएका थिए। अनुगमनमा गएको टोलीले कलेजको भवन समेत हेर्न नपाएपछि काउन्सिलले नेश्नल मेडिकल कलेजको सिट शून्यमै झारिदिएको थियो। तर अदालतबाट अन्सारीले मेडिकल कलेजमा पहिलाकै सिट संख्या कायम राख्न सफल भएका थिए।
 

प्रकाशित मिति: १८:२३ बजे, मंगलबार, कात्तिक १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्