ओली सरकारले भ्रष्टाचारलाई संस्थागत गर्योः सिंह
राजविराज, चैत ३० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा अोली नेतृत्वको सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका छन्। <....
राजविराज, चैत ३० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा अोली नेतृत्वको सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका छन्।
प्रेस युनियन सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महालेखाको प्रतिवेदनले केन्द्रदेखि तल्लो तहसम्म भ्रष्टाचार बढेको देखाएकाले त्यसबाटै सरकारको नियत पुष्टि भएको बताएका हुन्।
उनले मुलुकमा सुशासन नभई कुशासन चलिरहेको आरोप लगाए। ‘सरकारले नै भ्रष्टाचारलाई संस्थागत गरिहेको छ। सानातिना कुरा मात्र होइन, वाइडबडी, सुनकाण्ड लगायतका कुरालाई समेत सरकारले बेवास्ता गरिरहेको छ। इसबाटै सरकारले के गरिरहेको छ त्यो पुष्टि हुन्छ,’ सिंहले भने।
उनले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप पनि लगाए। ‘दुई तिहाइको वर्तमान सरकारसँग जनताको ठूलो अपेक्षा थियो। विकास निर्माण, सुशासन र शान्ति सुरक्षा जनताको चासो हो। तर, सबै क्षेत्रमा सरकार असफल भएको छ,’ उनले भने।






