लोक स्टार : कसले जित्ला ५० लाख रूपैयाँको पुरस्कार?
काठमाडौं, कात्तिक ५ : चर्चित टेलिभिजन रियालिटी सो ‘लोक स्टार’को फाइनल नजिकिँदै छ। यससँगै
काठमाडौं, कात्तिक ५ : चर्चित टेलिभिजन रियालिटी सो ‘लोक स्टार’को फाइनल नजिकिँदै छ। यससँगै विजेताबारे अडकलबाजी सुरू भएको छ।
चाहना मिडिया प्रालिले संचालन गरेको ‘लोक स्टार’को कात्तिक ८ मा फाइलन हुँदैछ। भृकुटीमण्डपमा हुने फाइनलको प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएका छन्।
असार १२ गते सुरू भएको यो कार्यक्रम रमाइलो र एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको छ।
‘लोक स्टार’ अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार राशी भएको कार्यक्रम हो। यसका विजेताले ५० लाख रुपैयाँ पाउनेछन्। त्यस्तै, उपविजेताले २५ लाख, तृतीय हुनेले १० लाख र चतुर्थलाई पाँच लाख पुरस्कार प्रदान गरिनेछ।
यसको फाइलनमा चार प्रतिस्पर्धी पुगेका छन्, चेतन गोतामे, विनोद दनुवार रामकुमार नेपाली र शनी विश्वकर्मा। यो कार्यक्रमका निर्णायक छन्, जयानन्द लामा, बीबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल।
लोक स्टारको फाइनलमा पुगेका चार जनामध्ये को बन्ला विजेता? काठमाडौं प्रेसले गरेको कुराकानीमा चारै जनाले लोक स्टार बन्ने आशा व्यक्त गरेका छन्।
चेतन गोतामे
स्याङजाको साधारण परिवारमा जन्मे, हुर्केका चेतन गोतामे सानैदेखि गीत गाउने गर्थे। भगवान भण्डारी, विमाकुमारी दुरा, राजु परियार, पुरुषोत्तम न्यौपानेलगायतका लोकभाका पछ्याउँदै उनी सांगीतिक साधना थालेको बताउँछन्।
उनको परिवारमा पनि गीत गाउने गरेका छन्। उनका बाबा र दिदीहरू पनि मौलिक गीत पारखी हुन्। उनले ‘रिल वाला क्यासेटमा विश्वास लाछैन’ बोलको गीत २०६६ बजारमा ल्याएका थिए।
उनी कामको खोजीमा भारत पुगे। जहाँ काम गर्दागर्दै नेपाली गीत गाउँथे। ‘साहूले भाषा नबुझेर किन रोएको भनी सम्झाउथे,’ उनी त्यो सम्झिँदा अहिले पनि हास्छन्।
भारतबाट फर्किएपछि उनी काडमाडौं छिरे। दोहोरी साँझमा गाउँने थाले तर, पाँच महिनाको पारिश्रमिक नपाएपछि छोडेको बताउँछन्।
त्यसपछि फर्निचरको काम गर्न थाले। दिनको दुई सय रुपैयाँ ज्यालादारीमा काम गरेको उनी सुनाउँछन्। ‘लोक स्टारले जिउने आधार दियो,’ चेतन भन्छन्
उनी लोकभाकामै रम्न थालेका छन्। लोकभाका ओझेल पर्दै गएको उनलाई भान भएको छ। चेतन भन्छन, ‘माटोको गीत, स्थानीय संस्कृतिको धुन भरिएको गीत नै हरायो। नेपाली गीतमा छुट्टै खालको मिठास पाइन्छ तर आजकल यो मिठास त्यत्ति पाइदैन।’
चारै प्रतिस्पर्धीजस्तै उनलाई पनि लोक स्टार विजेता बन्ने आशा छ। लोक स्टार विजेता हुनुभयो भने के गर्नुहुन्छ? चेतन भन्छन, ‘मौलिक संस्कृति जोगाउन, त्यसम्बन्धी काममै पुरस्कारको रकम लगाउँछु।’
राजकुमार नेपाली
रामेछापको मन्थलीमा हुर्केका राजकुमार नेपाली सानैदेखि लोकभाका र लोकधुनसँग नजिक थिए। गाउँघरमा विवाह हुँदा पञ्चे, झाँगड बाजा बजाउने टोलीमा हिड्थे। लोकभाका पनि गाउँथे।
२०५८ मा रामेछाप लोकतारा प्रतियोगितामा विजयी भएपछि लोकभाका गाइराख्न हौसला मिल्यो। आफूसँग गीत गाउँने क्षमता भएको थाहा पाएको उनी सुनाउँछन्। त्यसपछि उनले ललितकला क्याम्पसबाट संगीतमा चारवर्षे डिप्लोमा पनि गरे।
लोक स्टारमा आएपछि पनि उनलाई कतै सुर, ताल, गीत बिग्रने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताए। उनी किन लोकगीत गाउँछन्? राजकुमार भन्छन, ‘लोकगीत आमाको मायाजस्तो लाग्छ। लोकगीतमा आफूं हुर्केको माटोको गन्ध आउँछ। नेपालीपनको मिठास आउँछ।’
उनले पनि लोक स्टार बन्ने आशा बोकेका छन्। लोक स्टार विजेता हुनुभयो भने के गर्नुहुन्छ? राजकुमार भन्छन्, ‘पहिलो त पुरस्कार राशीलाई लोकगीत सिर्जना लागाउँछु। अर्को केहि अंश सामाजिक सेवामा लगाउने साेंचेकोे छु।’
विनोद दनुवार
उदयपुरको कटारीका विनोद दनुवार लोक स्टारमा आउनु अघि नै चर्चित भइसकेका थिए। यम बराल, रामचन्द्र काफ्ले, दीप श्रेष्ठका गीत सुनेर हुर्किएका विनोद बाल्यकालदेखि नै गीतसंगीतमा झुकाव रहेको बताउँछन्।
उनले ‘निर्दोश’ एल्बम दर्शकमाझँ ल्याइसकेका छन्। यसमा उनकै शब्द, संगीत र स्वर रहेको छ।
तर, एल्बमले दैनिकी चलेन। अनि उनी वैदेशिक रोजगारीमा मलेसिया पुगेँ। त्यहाँ पनि उनी काम गर्दा गीत गाउँथे।
मलेसियाबाट फर्केपछि भने उनले संगीतको अध्ययनमा लागे। रत्नराज्य क्याम्पस भर्ना भए। त्यहीँ उनी ‘आरआर आइडल’ बने। साथीभाइसँग मिलेर लोक स्टार प्रतियोगितामा छिरेका उनले फाइनलको यात्रा तय गरेका छन्।
अहिले भने उनी खुशी छन्। ‘सिकाई कम्ति छ, भोगाई धेरै छ,’ विनोद भन्छन, ‘संघर्षले यत्तिका वर्षपछि बल्ल एउटा ठाउँ पाएको छु।’
उनीसँग लोक स्टार बन्ने आशा छ। विनोद भन्छन, ‘मेरो सम्पूर्ण समर्पण लोक गीत–संगीतमै हुनेछ।’
शनि विश्वकर्मा
रोल्पाका शनि विश्वकर्मा लोक स्टारका सबैभन्दा कान्छा प्रतिस्प्रर्धी हुन्। गोठालो जाँदा पाखा थर्किने गरी गीत गाउँथे।
उनी लोक स्टारमा आउनुअघि नै गीत गाउन थालिसकेका थिए। उनको गीत ‘मर्द आँटे वर्ष दिन...’ यूट्युबमा डेढ वर्षअघि नै भाइरल बनेको थियो।
दाङस्थित माउन्ट इंलिस बोर्डिङ स्कूलमा अध्ययनरत उनी लोक स्टारमा छिरेपछि भने धेरै सिकेको बताउँछन्। उनले लोक स्टारमा ‘सुमधुर धनी’ टाइटल प्राप्त गरिसकेका छन्।
शनिले पनि लोक स्टार विजेता बन्ने आशा बोकेका छन्। लोकस्टार विजेता हुनुभयो भने के गर्नुहुन्छ? शनि भन्छन्, ‘लोकसंगीतमै लाग्छु। संख्यात्मकभन्दा पनि गुणात्मक काममा ध्यान दिनेछु।’